काठमाडौँ – २०५८ सालमा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा काभ्रेका सभापति थिए, समुन्द्रलाल श्रेष्ठ। रेडक्रसमा लागेका श्रेष्ठ मानवीय तथा सामाजिक कार्यमा सक्रिय हुन्थे। श्रेष्ठको कार्यबाट प्रभावित भएका थिए, रघुवर प्रधान। प्रधान अहिले नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा काभ्रेका सभापति छन्। उनी १८ वर्षदेखि रेडक्रसमा सक्रिय छन्।
२०५८ सालमा श्रेष्ठ सभापति हुँदा प्रधानलाई सदस्यमा मनोनित गरेका थिए। त्योभन्दा अघि नेपाल रेडक्रस सोसाइटी बनेपा उपशाखाको सदस्य भइसकेका थिए उनी। दुई पटक रेडक्रस काभ्रेको मनोनित सदस्य बनेका प्रधान २०७१ देखि सभापति छन्। ‘मानवीय तथा सामाजिक कार्य गर्दै आएको संस्थामा बसेर काम गर्दा, पीडितको घाउमा मलम लगाउन पाउँदा आनन्द लाग्छ,’ उनले भने।
भूकम्प पीडितको सेवाका लागि गाउँगाउँमा
रघुवर प्रधान नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा काभ्रेको सभापति भएको एक महिनापछि नै २०७२ वैशाख १२ गते शक्तिशाली भूकम्प गयो। त्यसपछि प्रधान जुटे भूकम्प पीडितका घाउमा मलम लगाउन। अभियान नै चलाएर उनी गाउँगाउँमा पुगे र भूकम्प पीडितलाई राहत वितरण गरे।
‘भूकम्प गएका बेला अरु समयको भन्दा चार गुणाभन्दा बढी काम गर्यौं,’ उनले भने, ‘सो क्रममा काभ्रेका तत्कालीन गाविसमध्ये २ गाविस बाहेक सबै गाविसमा पुगेर राहत वितरण गरेका थियौँ।’ त्यतिबेला पीडितलाई आवश्यकता अनुसार अन्य सहयोग पनि गरिएको उनले बताए।
गाउँगाउँमा रेडक्रस र स्वास्थ्य चाैकी
प्रधान आफू सभापति भएपछि गाउँगाउँमा रेडक्रसको उपस्थिति गराउने अभियानमा लागे। अन्ततः सफल पनि भए। उनले २९ उपशाखा, ६ तदर्थ समिति स्थापना गरे। ‘म सभापति हुनुअघि हाम्रा कार्यालय झोलामा थिए। कहाँ, के र कसरी काम गरिरहेका छन् थाहा हुन्थेन,’ उनले थपे, ‘अहिले जिल्लाका हरेक स्थानीय तहमा उपशाखा र तदर्थ समिति गठन गरेका छौँ। ति कार्यालयमा फर्निचरलगायत आवश्यक सामग्री र प्राविधिक जनशक्ति छ।’
पहिले बनेपा, धुलिखेल, पनौति लगायतका शहरी क्षेत्रमा मात्रै सीमित रेडक्रस उनकै पहलमा गाउँगाउँमा पुग्यो। यसका साथै जिल्लाका स्थानीय तहमा १२ स्वास्थ्य चौकी पनि बनाइएका छन्। त्यसमा प्राविधिक जनशक्ति उपलब्ध गराइ सकिएको छ। त्यसबाहेक पहिलो चरणमा जिल्लाका दुई वटा गाउँपालिका चौरीदेउरालीको धुसेनी शिवालय हेल्थपोष्ट र वेथानचौक गाउँपालिकाको धुङखर्क हेल्थपोष्टबाट एम्बुलेन्सको सेवा पनि तुरुन्तै शुरु गरिदैछ। जसका लागि दुई वटा एम्बुलेन्स उपलब्ध गराउनका लागि तयार छन्। यी दुई वटा एम्बुलेन्समा जीपीएस पनि जडान गरिएको छ। वीर अस्पताल र धुलिखेल अस्पतालको सहयोगमा जीपीएस जडान गरिएको हो। ‘जीपीएसका कारण एम्बुलेन्स कहाँ छ भन्ने हेर्न सकिन्छ,’ प्रधान भन्छन्, ‘आवश्यकताअनुसार एम्बुलेन्स परिचालन गर्न सजिलो भएको छ।’
अत्याधुनिक रक्तसञ्चार केन्द्र बनाउदैँ
नेपाल रेडक्रस सोसाइटी काभ्रेले अत्याधुनिक र नमुना रक्तसञ्चार केन्द्र बनाउदै छ। त्यसका लागि अहिले तीव्र रुपमा काम भइरहेको प्रधानले बताए। उनले उक्त रक्तसञ्चार केन्द्र सम्पन्न भएपछि रगतसम्बन्धि थप कार्य हुने जानकारी दिए। ‘पहिला रगतको ग्रुपिङ छुट्याउने काम मात्र हुन्थ्यो,’ प्रधान भन्छन्, ‘अब रगतसम्बन्धि अरु धेरै कार्यहरु हुनेछन्।’ अब बन्ने रक्तसञ्चार केन्द्रको भण्डारण क्षमता पनि बढी हुने उनले बताए।
‘खानाबिना मान्छे बाँच्न सक्ला तर रगतबिना एकछिन सक्दैन,’ प्रधानले भने, ‘अहिले कुनै दुर्घटना वा प्राकृतिक विपत्तिमा रगतको अभाव हुने अवस्था छ।’ यही समस्याको समाधान गर्ने लक्ष्यसहित अत्याधुनिक रक्तसञ्चार केन्द्र निर्माण गर्न लागिएको उनले स्पष्ट पारे। उनले थपे, ‘रगत नपाएर भौतिरिनुपर्ने अवस्थाको अन्त्य गर्छौं।’
करिब ९ करोड रुपैयाँको लागत अनुमान गरिएको रक्तसञ्चार केन्द्रको निर्माण कार्य २ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ। ‘जति थियो त्यतिबाटै शुरु गर्यौ अहिले धमाधम काम भइरहेको छ,’ प्रधान भन्छन्, ‘हामीले पैसा छैन भनेर पर्खेको भए काम नै शुरु हुने थिएन।’ प्रधानको यही जोश र हौसलाले उनलाई उत्कृष्ट सभापतिको पहिचान दिलाएको छ भने उनी नेतृत्वको काभ्रे शाखा पनि उत्कृष्ट शाखाको रुपमा चिनिन्छ।
विपद्को पूर्व तयारी
नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा काभ्रेका सभापति प्रधान विपद्पछि सहयोग गर्नुभन्दा विपद् न्यूनीकरणमा जोड दिन्छन्। त्यसका लागि विभिन्न संघसंस्थाको सहयोगमा जनचेतना फैलाउने काम गरिरहेको उनी बताउँछन्। ‘सँगै जोखिम न्यूनीकरण गर्ने कार्य पनि गर्दै आएका छौँ,’ प्रधानले भने, ‘विपद्को बेला उद्दार गर्न सक्ने जनशक्ति गाउँगाउँमा तयार गर्दैछौँ।’
विपद् आउनसक्ने स्थानमा स्थानीयको माग र आवश्यकता बमोजिम सहयोग पनि गर्दै आएको उनले बताए। त्यसैको निरन्तरतास्वरुप काभ्रे शाखाले बुधबार जनचेतना मुलक कार्यक्रम गरी विश्व रेडक्रम दिवस मनाउँदै छ।