वीरगंज – नेपालमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारको अवस्था भयावह बन्दै गएको छ। गृह मन्त्रालय मातहतको लागूऔषध नियन्त्रण शाखाले वीरगंजमा कार्यक्रम गरी सार्वजनिक गरेको तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा चालू वर्षमा ११.३५ प्रतिशतले लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार भएको छ।
महाशाखाले आयोजना गरेको सरोकारवालाहरुसँगको अन्तर्क्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार प्रत्येक वर्ष यो दर बढ्दै गएको देखिन्छ। नेपालबाट लगभग ४० लाख युवा विदेशमा रहेको र बाँकी युवा लागूऔषधमा फस्दै गएकोमा सरकारमाथि चुनौती थपिएको सहभागीहरुले बताएका छन्। अन्य जिल्लाको तुलनामा पर्सा जिल्ला ट्राञ्जिट प्वाइन्टको रूपमा प्रयोग भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साले सार्वजनिक गरेको तथ्याङ्कमा पर्सा कारागारका कैदीबन्दी तथा थुनुवामध्ये ७० प्रतिशत लागूऔषध ओसारपसार मुद्दामा सजाय भोगिरहेका छन्। पर्सा जिल्लामा चालू आर्थिक वर्षमा सबै स्थानीय तहमा सचेतना कार्यक्रम गरेको भएपनि नियन्त्रण हुन नसकेको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यसवर्ष ओसारपसारमा तीव्रता आएको र सम्बन्धित व्यक्तिहरू पक्राउ परेका छन्।
अहिले पर्सा जिल्लामा प्रतिदिन एकजना लागूऔषध कारोबारी, सेवनकर्ता पक्राउ पर्ने गरेको तथ्याङ्कले देखाएको छ। चालू आवमा नर्फिम २ हजार ७ सय ७५, डाइजेपाम २ हजार ८ सय ४६, फेनारगन २ हजार ८ सय १३, गाँजा ३ क्विन्टल ६८ केजी, चरेस ३ क्विन्टल १६ केजी बरामद भएको जनाइएको छ। अन्तरकृयामा बोल्दै सहभागीहरूले नेपाल सरकारको नीतिको कारण नेपालमा लागूऔषध ओसारपसारमा तीव्रता आएको बताएका छन्। फरक–फरक नीति तथा अनुगमनको बाटो नअँगाल्दा दुर्व्यसनीहरू बढ्दै गएको सहभागीहरूले चिन्ता व्यक्त गरे।
धादिङ, मकवानपुर, रोल्पा, रूकुमलगायत अन्य जिल्लामा खुलेआम गाँजा, चरेस, अफिमको खेती हुने गरेकोमा सरकारले नियन्त्रण नगरेसम्म अवस्था जटिल हुने सहभागीहरूले बताए। प्रहरीको प्रत्यक्ष निगरानीमा लागूऔषध ओसारपसार भइरहेको आरोपसमेत कार्यक्रममा लगाइएको थियो। कार्यक्रममा प्रमुख अतिथि लागूऔषध नियन्त्रक नारायणप्रसाद शर्माले देशमा बढ्दो लागूऔषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणको लागि सरकार लागेको बताए। राय सुझावको लागि नेपालको विभिन्न ठाउँमा सरोकारवालासँग अन्तर्क्रिया गर्न आएको र सुझाव सङ्कलनपछि आगामी रणनीति तय गर्ने बताए।