पोखरा - पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समयको मागसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्नेमा जोड दिएका छन्।
पोखरा महानगरपालिका–१३ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव समारोहमा बुधबार उनले नेपाली माटोमै श्रम र सीप खर्चिने किसिमको शिक्षा दिइनुपर्ने बताए। उनले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने उल्लेख गर्दै यो वा त्यो नाममा शिक्षा क्षेत्र बिगार्न नहुने धारणा राखे।
पूर्वाधार विकास अहिलेको प्राथमिकता हुनुपर्नेमा जोड दिँदै उनले गण्डकी प्रदेशबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसद पोखरा विमानस्थल निर्माण समयमै निर्माण पूरा गराउन सक्रिय बनेको बताए।
पोखरामा चक्रपथ निर्माण, लामेअहालमा प्रदेशस्तरको बसपार्क, मध्यपहाडी लोकमार्गलाई भलाम हुँदै लैजानेलगायत बृहत् योजना अघि सारिएको उनले बताए।
वडाध्यक्ष लेकबहादुर तामाङले पोखरा महानगरपालिका–१३ नमुना बन्ने अभियानमा अघि बढेको बताए। भौतिक पूर्वाधार विकाससँगै अब रतन पाण्डे माविले आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए।
उक्त अवसरमा विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासका लागि नगद सहयोग गर्ने चन्दादातालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा सबैभन्दा बढी रु. ३ लाख दान दिने कृष्णकुमारी बराल र कृष्णराज बराललाई सांसद अधिकारीले सम्मान गरे।
त्यस्तै रु. २ लाख चन्दा दिने विष्णु भण्डारीलगायत करिब २ सय सङ्घसंस्था तथा व्यक्ति विशेषलाई सम्मान गरियो। हालसम्म करिब रु. २० लाख सङ्कलन भइसकेको चन्दा अभियान आगामी दशैँसम्म चल्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्त बरालले जानकारी दिए।
प्रधानाध्यापक डिल्लीराम बरालले विद्यालयको हितका लागि भन्दै स्थानीयबासी जागरुक बनेको बताउँदै विद्यालयले हालैमात्र बस सुविधा, ई–लाइब्रेरीलगायत शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न सुविधा दिएपछि विद्यार्थीको आकर्षण बढेको जानकारी दिए। उनका अनुसार २ वर्षअघि ७२ विद्यार्थी रहेकामा हाल बढेर ३ सय १० पुगेको छ।
कार्यक्रममा शिक्षक महासङ्घ कास्कीका सहअध्यक्ष महेन्द्रमणि पौडेल, आजीवन सल्लाहकार एवं नापी विभागका पूर्वमहानिर्देशक तोयनाथ बराल, भद्रकाली माविका प्रअ घनश्याम रिजाल लगायतले रतन पाण्डे माविलाई वडाकै नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा वर्ष शिक्षकबाट सुनिता बराल, वर्ष अभिभावकबाट विष्णुमाया पौडेल बराल, वर्ष विद्यार्थीबाट विनीता भुजेल र एसईई उत्कृष्टतर्फ सङ्गम सुनार र पत्रकार विजय नेपाललाई सम्मान गरिएको थियो। (रासस)