काठमाडाैँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन्।
अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङकाे नेतृत्वमा गएको टोलीले आज (शुक्रबार) राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेललाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका हुन्।
ध्यानाकर्षणपत्रमा संविधानले कक्षा १२ सम्मको शिक्षा निःशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य भनेर उल्लेख गरेकाले त्यो कार्यान्वयनका लागि बजेट बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ।
संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।
ध्यानाकर्षण पत्र बुझ्दै आयोगका उपाध्यक्ष कँडेलले विद्यार्थी सङ्गठनको मागलाई सकारात्मक रूपमा लिएको भन्दै शिक्षामा बजेट प्रतिशत नबढे पनि रकम बढेको जानकारी गराए। उनले साधन स्रोतले पुगेसम्म बजेट बढाउन सक्दो प्रयास गर्नेसमेत बताए। (रासस)