काठमाडौँ, २५ पुस। चलचित्र क्षेत्रमा नेपाल सरकार तथा मन्त्रीहरूको कम चासो रहेको पाइन्छ। तर, चलचित्रको ट्रेलर हेरेपछि आफू उत्सुक भएको बताउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले चलचित्र ‘गोपी’ टीमसँग भेट गरेका छन्। चलचित्र ‘गोपी’ टीमसँग श्रममन्त्रीले सिंहदरबारमा भेट गरेका हुन् ।
सरकारले स्वरोजगार र स्वावलम्बनलाई प्राथमिकतामा राखेको छ। मन्त्री विष्टले चलचित्रको कथावस्तुले सरकारको धारणालाई समेटेको भन्दै खुशी व्यक्त गरेका छन्। उनले चलचित्रप्रति मन्त्रालय र व्यक्तिगत रूपमा आफ्नो नैतिक समर्थन रहेको बताए।
त्यस्तै श्रममन्त्री विष्टले चलचित्रको छायाङ्कन र बजेटको विषयमा पनि जानकारी लिएका थिए। आफूले निर्माण गरेको चलचित्रप्रति श्रममन्त्रीले चासो राखेकोमा निर्देशक दीपेन्द्र लामाले खुशी प्रकट गरेका छन्।
उक्त भेटमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, सुरक्षा पन्त, निर्देशक लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमिल्सेना सहभागी थिए। मानिसले चाहेको खण्डमा स्वदेशमा नै स्वरोजगार भई बाँच्न सकिन्छ भन्ने सन्देश चलचित्र ‘गोपी’को कथावस्तुमा रहेको छ।चलचित्रको प्रदर्शन मिति माघ १८ गते तयलाई तय गरिएको छ।