काठमाडाैँ - लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको रजत वर्षका अवसरमा नेपाली साहित्य, कला, इतिहास र सङ्गीत क्षेत्रका विशिष्ठ ८ जना स्रष्टाहरूलाई सम्मान गरेको छ। यसपटक गङ्गादेवी चौधरी स्मृतिसम्मानबाट वरिष्ठ आख्यानकार मती पद्मावती सिंह, इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मानबाट अग्रज साहित्यिक अनुसन्धाता मोदनाथ प्रश्रितलाई सम्मान गरिएको छ।
त्यस्तै सरस्वती गद्यसम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारी, नारायणगोपाल सङ्गीतसम्मानबाट लोक–आधुनिक सङ्गीतका विशिष्ट साधक गणेश रसिक, अरनिको ललितकलासम्मानबाट नेपाली चित्रकलाक्षेत्रका विशिष्ट साधक किरण मानन्धर, बालकृष्ण सम रङ्गसम्मानबाट रङ्गमञ्च क्षेत्रकी विशिष्ठ साधक मती भुवन थापा चन्द, नेपाल नवप्रतिभासम्मानबाट फरक क्षमता भएकी सृष्टि केसी र गोपालप्रसाद रिमाल काव्यसम्मानबाट वरिष्ठ कवि दिनेश अधिकारीलाई सम्मानित गरिएको छ।
गत वर्षसम्म यस साहित्यकला मन्दिरले सातवटा सम्मानहरू प्रदान गर्दै आएको थियो।
तर यसवर्षदेखि काव्यक्षेत्रका लागि मात्र प्रदान गरिने गरी ‘गोपालप्रसाद रिमाल काव्यसम्मान’ स्थापना गरि वरिष्ठ कवि दिनेश अधिकारीलाई यो सम्मान प्रदान गरिएको हो। सम्मानित स्रस्टाहरूलाई प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद्, शताब्दी पुरुष सत्यमाहन जोशीले दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए। सम्मानमा ताम्रपत्रसहित नगद पनि समावेश छ। गङगादेवी चौधरी स्मृतिसम्मानमा नगद एक लाख एक रुपियाँ र अन्य सबै सम्मानमा नगद एकाउन्न हजार एक रुपियाँ रहेको छ।
प्रमुख अतिथिको आसनबाट आफ्नो मन्तव्य प्रकट गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले भने, ‘विगत २५ वर्षमा राष्ट्र–निर्माणमा यस संस्थाले जुन योगदान पुर्याएको छ, त्यो अत्यन्त महत्वपूर्ण र अनुकरणीय पनि छ। यसका गतिविधिहरूले भावी पुस्तालाई समेत प्रेरणा दिएको छ।’ उनले विभिन्न उदाहरणहरू दिँदै भने, ‘भौतिक विकासले मात्र देश सम्पन्न हुन सक्तैन, यसका लागि देश सिर्जनाले पनि समृद्ध हुनुपर्छ।
यस भूमिकामा साहित्यकला मन्दिर निजी स्तरमा स्थापित भएर पनि यसले राष्ट्रले गौरव गर्ने कार्यहरू गरिरहेछ। त्यसको एउटा ज्वलन्त उदाहरण हो, स्रष्टाहरूको सम्मान गर्ने यस संस्थाको अविराम कार्य।’ समारोहका सभापति एवम् यस संस्थाका अध्यक्ष बसन्त चौधरीले स्वागत मन्तव्य प्रकट गर्ने क्रममा भने, ‘सिर्जनाका अनेक रूप, अनेक विधा हुन्छन्। तर, त्यसको मूलमा भने एउटै तत्वले वास गरेको हुन्छ।’ भाव र त्यसको उद्दीपन। कुनै पनि अभिव्यक्तिअघि यही प्रक्रिया चल्दछ।
सम्मानित स्रस्टाहरूको तर्फबाट बोल्दै कवि दिनेश अधिकारीले भने, ‘कवि एवम् परिवर्तनका संवाहक गोपालप्रसाद रिमालको विशिष्ठ योगदानको सम्मान गर्दै पहिलोपटक उनको नाममा काव्यसम्मानको स्थापना गरेर साहित्यकला मन्दिरले साहित्यजगत्लाई नै तिरिनसक्नु गुण लगाएको छ। उनको नाममा स्थापित यो काव्यसम्मान पहिलो वर्षमै ग्रहण गर्ने मलाई अवसर प्राप्त भएकोमा यसलाई मैले मेरो कविपुस्ताले पाएको एउटा महत्वपुर्ण सामाजिक स्वीकति हो भन्ने ठानको छु। एउटा माध्यम हुने अवस र पाएको छु।’