काठमाडौँ - राजनीतिक विश्लेषक तथा लेखक उज्ज्वल प्रसाईंले पश्चिमाहरूको मार्गदर्शनअनुसार मुलुकले समृद्धि हासिल गर्न नसक्ने दाबी गरेका छन्।
रत्न राज्य क्याम्पस (आरआर) मा स्नातकोत्तर तह राजनीतिक शास्त्रका विद्यार्थीहरूले आयोजना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली र वर्तमान राजनीति’ विषयक पाँचौ प्राज्ञिक वहसको श्रृङखामा बोल्दै प्रसाईँले यस्तो दाबी गरेका हुन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा लगाएर हामीले के के गर्न लाग्यौं भन्ने लागेको छ,’ उनले भने, ‘हिजो पश्चिमाहरू हिडेको समस्याग्रस्त बाटोमा मुलुकलाई हिडाउन खोजर कहाँ पुगिन्छ। पुग्न असम्भव बाटोमा हिडेर हामीले समृद्धि हासिल गर्न सक्दैनौं।’
उनले भने,‘विकास आयातित शब्द हो, उन्नती प्रगती जस्ता शब्दहरू कति कारणले अयोग्य बनाइए ? पश्चिमाहरूले कसरी विकास गरे ? अमेरिका, व्रिटेन जहाँ जहाँ विकास भएको छ, त्यो कसरी भयो ? लुट्न जान्ने मानिसहरूले लुटेर त्यहाको विकास गरिएको हो। विकासको सिलिङ अमेरिका बनाएर यहाँबाट हिड्ने थालेपछि हामी कहाँ पुग्छौं ? हामीले आफ्नो विकास र समृद्धिको मोडल तयार पार्नु पर्छ कि पर्दैन?’
‘पश्चिमाहरूले अविकसित देशको नाममा पूर्वीय संस्कृतिलाई सभ्य, विकसित बनाउछाैं भनेर भारी बोकेर आए’, उनले भने, ‘हामीहरूलाई केही नजान्ने भनेर घोषणा गरे, स्कुुले जीवनदेखि आफूलाई गरिब भनेर पढ्यौं, अविकसित देश र विपन्न समाज भनेर पढ्यौं। कहिल्यै पनि आत्मनिर्भर बन्ने र स्वतन्त्र वैकल्पिक विचारको लागि मन्थन गरेनौं।’
स्थापित मुल्य र मान्यताहरूमाथि प्रश्न खडा गरेर नयाँ आयमको लागि तयार हुनुपर्ने प्रसाईंको भनाई छ। उनले भने,‘अमेरिकाभन्दा फरक बाटोबाट सुखी प्राप्त गर्न सकिदैन ? शान्तसँग उभिएको जमिनमा भुकम्प आयो भने हल्लिन्छ। नयाँ कुराहरू उठान गर्दा भुकम्प आउछ। डर लाग्छ। यसरी डराएर हुन्छ ?’
समृद्धिको परिभाषा बदलौं
प्रसाईंले समृद्धिको परिभाषा बदल्नुपर्नेमा जोड दिएका छन्। उनले भने,‘सकिन्छ देशभरी नयाँ परिकल्पनाहरू अघि सारौं, सकिदैन भने विश्वविद्यालयमा वहस गरौं, त्यति पनि सकिदैन भने कक्षाभित्र खुलेर वहस गरौं, यहिबाट नयाँ बाटो खन्ने प्रयासको थालनी गरौं। निर्मम आलोचना र वहस गरौं, राजनीतिक शास्त्र पढ्न आएपछि हामीसँग भएको बुद्धि भुटौं।’
जिन्दगीलाई नाफासँग साँटेर समाप्त पार्ने कुरा मानव जीवनको लागि घातक हुने बताए। साथै उनले समृद्धिको मापक आर्थिक बृद्धिदर मात्रै नभएर अरु थुप्रै मानक हुने जिकिर गरे। उनले भने, ‘कसैले हाकाहाकी भन्न सकोस् कि यो डिजिपी काम लाग्ने मापन होइन। स्थापित मुल्यहरूको विरुद्धमा कुनै प्रश्न नगरेपछि, कुनै पनि कुरालाई उल्टो बनाएर एक चोटी बुझ्ने प्रयास नगरेपछि कसरी नयाँ विचारको जन्महुन्छ ?’
मृत्युमाथि सेमिनार गरौं
लेखक प्रसाईंले त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक वहसहरू निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिदै भने,‘मृत्यपछिको कल्पना गरौं, त्यहाँ के भेटिन्छ ? हाम्रो पूर्वीय दर्शनले त आत्मा र देहको कुरा भन्छ नि।’
उनले अगाडी भने,‘विश्वविद्यालय खुल्ला ठाउँ हो। यहीबाट नयाँ कुराहरूको विचार मन्थन गरौं, बदभद्रलाई खास मान्छे थिए भनेर पढ्यौं, उनकी आमाको जिन्दगी कस्तो थियो ? यसका बारेमा कसैले एक चोटी सोच्यौं? उनको बारेमा कसैले उपन्यास लेखे पनि हुने नि ?’
उनले भने,‘यहाँ देशको छ, चिन्ता तिमी माया माया भन्छौं’ यो गीत प्रति मेरो कुनै दुरासय होइन, गीत राम्रो छ, तर यसलाई उल्ट्याउन मन लाग्छ, तिमी देश देश भन्छौं, यहाँ मायाको छ चिन्ता। यहाँ देश नभएर समस्या सिर्जना भएको होइन, यहाँ माया नभएर हो, यहाँ प्रेम नभएर हो। हामीले पढेको इतिहास, अर्थसास्त्र, राजनीतिलाई एकचोटी प्रेमपूर्वक उल्छट्याएर हेरौं, के देखिन्छ ? हामीले एउटा चुनौती उठाउने प्रयत्न गरौं। त्यो हिम्मत गरौं, एक पटक स्थापित मान्यता र मुल्यलाई बदल्ने चेष्टा गरौं, यो च्यालेन्ज स्वीकार्न कोही तयार छैन।’
विश्वविद्यालयमा माथी उल्लेखित वहस र मन्थन गर्न सकिएको खण्डमा केही फरक पन हासिल हुने बताउँदै प्रसाईंले भने, ‘भारतीय वैज्ञानिक सिबी रमनले संसारमा भइरहेको वैज्ञानिक अनुसन्धानमाथि प्रश्न खडा गरे। त्यसपछि उनले नोभेल पुरस्कार जिते। उनले ६ महिना स्टफमको प्लेन टिकट काटेका थिए। आजकोभन्दा गतिलो अनुसन्धानको क्षेत्रमा ‘इन्भेनसन’ नै भएको छैन भनेर दाबी गरे। उनले प्रमाणीत गरिदिए।’
उनले भने, ‘सिबी रमनले ६ महिना पहिले नोभेल पुरस्कार जित्छु भनेर प्लेनको टिकट काटे, तर हाम्रो नेपालमा आजसम्म पनि कोही विपीलाई बाहेक अरु केही देख्दैनौं, कोही माक्र्सवाद बाहेक अरु केही देख्दैनौं। यसरी हेर्दा हामीसँग कुनै कुराको विश्वस्तता छैन, मौलिकता छैन, खासमा हामीले प्रेम गर्न जोनका छैनौं, हाम्रो जिन्दगीलाई, समाजलाई, अर्को मानिसलाई, विश्वस्तताबिनाको दब्भु समाज बन्यो।’
लोकतन्त्र पछि जीवन छ कि छैन ?
लेखक प्रसाईंले लोकतन्त्रपछि जीवन छ कि छैन ? भनेर गरेका छन्। उनले भने,‘जुन लोकतन्त्रले खोला सिध्यायो, वालुवाटार बेच्यो, नदी सिध्यायो, माटो सिध्यायो, जगंल मास्यो, लोकतन्त्रलाई जसरी अभ्यास गरिरहेका छौं, यसपछि प्राणीको जीवन सम्भव छ कि छैन ? रुख पात, खोला नालाको जीवन सम्भव छ कि छैन? यो उडन्त्रे प्रश्न होइन, यो गम्भीर प्रश्न हो।’
प्लास्टिनी एक कविले भनेका थिए, ‘अन्तीम क्षितिसम्म उडपछि कहाँ जान्छन् चराहरू’ यो हो प्रश्न। आहुतीले केही दिनअघि भनेका थिए, मेलम्चि सिद्धिएपछि कहाँ जाने ? काठमाडौंमा बस्ने सुखी मानिसहरूले मेलम्चिको पानी कति वर्षसम्म खाने ? ५ वर्ष, २५ वर्ष, कति वर्षसम्म मेलम्च बग्छ ? त्यो सुकेपछि अर्को खोला खोज्ने जाने ? मेलम्चिको बार जस्तै दिमागमा बार लगाइएको छ। कसरी अरु सोच्ने फुर्सद हुन्छ?’
नेकपाका नेता घनश्याम भुसालले कार्ल माक्र्सको २०१औं स्मृति दिवसमा बोलेको कुरालाई स्मरण गर्दै प्रसाईंले भने, ‘घनश्यामले रेल कुरा गर्यौं तर मानिसका कुरा छुटायौं भन्नु भयो। अझ अघि बढ्ने हो भने मानिस एक्लै बाँच्न सक्छ र ? प्रकृति नासिदै छ, चुरे मासिदैछ।’
उनले भने, ‘नेपालको शिक्षा नीत विषयगत र विक्रि गरिने कुरा मात्रै होइन, यो विक्रिको प्रचलन रहेसम्म मायाको कविता, प्रेमील गीतले कुनै माने पाउँदैन, कुनै सौन्दर्य बोध हुँदैन, रस रहँदैन। म फेरी विषयमा आउछु, समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा बिकाउछ, भोट आउछ, चुनाव जितिन्छ, सरकार बनाउन पाइन्छ, भोलि पानि जहाज आउछ, चाहे भने यिनीहरुले नारायणीमै पानी जहाँज चलाउछन्, रेल कुदलाउछन्।’
उनले भने,‘मेरो भन्नु यति हो कि समृद्ध नेपाल, सुखी नेपालीको अन्तर्य बुझौं, यदि आफ्नै नेतामाथि चुनौती खडा गर्न सकिदैन भने, पार्टीभित्र ठूलो हंगामा मच्चाउन सकिदैन भने कक्षा, साथीहरूको बीचमा त यस्ता विषयहरू उठाउने साहस गरौं, सत्य कुरा गर्दा धेरैले बौलाह भन्छन्, यहाँ बौलाह नभिएका थोरै ट्यालेन्ट मानिस छन्, कसैले केही भन्छ कि भनेर चिन्ता नलिनुहोस्। फ्रि भएर भन्न, सोच्न र प्रस्तुत हुन सक्नुहोस्।’
कार्यक्रममा (आरआर) क्याम्पस, राजनीतिक विभाग प्रमुख भेषराज घिमिरेले राजनीतिक, वैचारिक वहसहरूले समाज परिर्वतनको लागि ठूलो भूमिका खेल्ने अपेक्षासाथ आफू सक्रिय भएर विद्याथीहरूको अभियानलाई साथ दिने बताए। नरेन्द्र खतीवडाको संयोजनमा आयोजित कार्यक्रमको सञ्चालन वचन प्रताप सेनले गरेका थिए।