बर्लिन - नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन गरेको घोषणा सफल बनाउन जर्मनीमा हालै नेपाल दिवस (नेपाल डे) को आयोजना गरियो। नेपाल पर्यटन बोर्ड, नेपाल दूतावास बर्लिन र नेपाली महावाणिज्यदूतको सहकार्यमा जर्मन-नेपाल मैत्री सङ्घको आयोजनामा जर्मनीको कोलोनमा भएको विशेष कार्यक्रममा नेपालको पर्यटन विकासका बारेमा विभिन्न कार्यपत्र, सांस्कृतिक कार्यक्रम, वृत्तचित्र प्रदर्शन तथा नेपालका सातै प्रदेशको चिनारी प्रस्तुत गरिएको थियो।
नेपालको पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशको पूर्वाधार विकास, विभिन्न जातजातिको कला, संस्कृतिको जगेर्नामा ध्यान दिनुपर्नेमा सहभागी वक्ताहरुले जोड दिएका थिए। जर्मनवासीलाई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न तथा नेपालको भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सङ्घका अध्यक्ष तथा महावाणिज्यदूत रामप्रताप थापाले बताए। उनका अनुसार ३० वर्षदेखि वर्षेनी विभिन्न विषयमा नेपाल दिवस मनाउँदै आउने क्रममा यस वर्ष नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा सातै प्रदेशको पर्यटन प्रवद्र्धनलाई केन्द्रित गरी दिवसको आयोजना गरिएको हो।
गैरआवासीय नेपाली सङ्घका संरक्षक जीवा लामिछानेले नेपालको पर्यटन, लगानीको सम्भावना र नेपालको पर्यटन विकासमा डायस्फोराको योगदानका बारेमा प्रकाश पारेका थिए। नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले पनि सुखी नेपाली र समृद्ध नेपालको अभियानमा पर्यटन क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।
विभिन्न समयमा नियुक्त भएका नेपालका लागि जर्मनीका राजदूतहरुले नेपालको परिवर्तित राजनीति, लगानीको सम्भावना र पर्यटकीय सम्पदाहरुका बारेमा आ-आफ्ना धारणा राखेका थियो भने नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले पठाएको शुभकामना मन्तव्य पढेर सुनाइएको थियो।
कार्यक्रममा जर्मनका लागि नेपाली राजदूत रमेश खनाल, काउन्सिलर विशाल भट्टराई, कोलोनका मेयर हाम्स भेर्नर वार्चलगायत जर्मनीमा रहेका नेपाली तथा नेपालप्रेमी जर्मनीका नागरिकहरु गरी करिब पाँच सयको सहभागिता रहेको थियो। सो अवसरमा बोर्डका सदस्य अभदेश कुमार दासले सातै प्रदेशको पर्यटनको सम्भावना र चितवन राष्ट्रिय निकुन्जका रामकुमार अर्यालले प्रकृति र वन्यजन्तु पर्यटन विषयक कार्यपत्र, फोटो पत्रकार किशोर कायस्थले मुस्ताङको पानोरमा चित्र, पत्रकार अखण्ड भण्डारीले चेपाङसम्बन्धी वृत्तचित्र तथा सङ्गीता दासले मिथिला कलाको प्रदर्शनी गरेका थिए।
कार्यक्रममा नेपाली कला संस्कृति झल्किने लोक नृत्यको प्रस्तुति तथा नेपाली खानाको परिकार राखिएको अध्यक्ष थापाले जानकारी दिए।