काठमाडौं– धुलीखेलस्थित काठमाडौं विश्वविद्यालयमा शनिबार भुतपुर्व विद्यार्थिहरूकाे भेला आयोजना गरिएको थियो। काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका भुतपुर्व विद्यार्थीहरुलाई ‘अलमुनाई रि–युनियन’ भनेर बोलाइएको थियो। लभगग ४५ सय मध्ये करिव ८० जना मात्र भुतपुर्व विद्यार्थीहरु सो भेलामा गएका थिए। २५ वर्षपछि भएपनि विश्वविद्यालयले आफुँहरुलाई सम्झिएकोमा उनीहरु हर्षित नै देखिन्थे। उनीहरुको त्यो खुशी भने कार्यक्रम शुरु भएदेखि नै फिक्का हुँदै गयो। कार्यक्रम अन्त्य हुँदासम्म उनिहरुको त्यो खुशी निरासामा परिवर्तन भइसकेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्न आएका स्कुल अफ साइन्सका डिन कन्हैया झाका कारण भुतपुर्व विद्यार्थीहरुको मन खिन्न भएको थियो। उनले स्वागत मन्तव्यको पुरा समय केयुका पुर्व पदाधीकारीहरुको गुणगान मात्र गाएको भुतपुर्व विद्यार्थीहरुले खासै रुचाएनन्। ‘पुर्व पदाधिकारीहरुको हामी पनि सम्मान गर्छौ,’ रि–युनियनमा सहभागी एक भुतपुर्व विद्यार्थीले नेपाली पब्लिकसँग भने, ‘तर, यसरी चाकरीको शैलीमा गुणगान गाएर वाक्कै बनाउन त मिलेन नि।’
उनीहरुको दिक्दारी यतिमात्रैमा सकिएन्। त्यसपछि मन्तव्य दिन आएका केयुका जिम्मेवार पदका व्यक्तिहरुको कुराले उनीहरुको दिक्दारी थप बढायो। मन्तव्यका क्रममा प्रायः सबैजसोले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आर्थिक सहयोगको मात्र कुरा गरेपछि भुतपुर्व विद्यार्थीहरुको अनुहारमा निराशा छाएको स्पष्ट देखिन्थ्यो।
केयुका रजिष्ट्रार तथा स्कुल अफ साइन्सका पुर्व डिन प्राध्यापक डा. सुवोध शर्माले मन्तव्यको क्रममा डिन झालाई तत्काल एलुमुनाई (भुतपुर्व विद्यार्थी) संघ खडा गर्न निर्देशन दिए। उनको यो निर्देशनबाट खुशी भएका भुतपुर्व विद्यार्थीहरु केहिबेरमै फेरी निराश भए।संघ बनाउन निर्देशन दिनेवित्तिकै शर्माले विभिन्न उदाहरणहरु दिँदै भुतपुर्व विद्यार्थीहरुसंग केयुलाई आर्थिक सहयोग गर्न माग गरेका थिए। ‘उहाँले एलमुनाई संघ खडा गर्न निर्देशन दिनुको उद्देश्य विद्यार्थीसँग आर्थिक सहयोगका लागि मात्र रहेछ,’ एक भुतपुर्व विद्यार्थीले शर्माको भनाई उद्घृत गर्दै सुनाए, ‘एक्कासी आर्थिक सहयोग चाहियो भन्नु ठिक होइन्।’
आफ्नो मन्तव्य सकिनेवित्तिकै रजिष्ट्रार शर्मा फिल्ड जानुछ भन्दै निस्किएका थिए। कार्यक्रम सकिएपछि एक विद्यार्थीले भने, ‘उहाँ त पैसा चाहियो भन्नको लागि मात्र कार्यक्रममा आएकोजस्तो लाग्यो।’
त्यसपछिका वक्ताहरुले पनि आफ्ना कुराहरु आर्थिक सहयोग माग्नमा मात्र सिमित राखेका थिए। केयुका संस्थापक रजिष्ट्रार सिताराम अधिकारीले आफ्नो मन्तव्यको शुरुमा केयु स्थापनासम्बन्धमा इतिहास सुनाए। त्यसपछि भने उनको कुरा पनि भुतपुर्व विद्यार्थीहरुसँग आर्थिक सहयोग माग्नेतिरै सोझियो। ‘विभिन्न ठाँउबाट आएका चन्दाहरुले मात्र केयु चलाउन गाह्रो भयो,’ अधिकारीको भनाई यद्घृत गर्दै एक विद्यार्थीले भने, ‘अब भुतपुर्व विद्यार्थीहरुले आर्थिक सहयोग गर्नुपर्यो।’ मन्तव्यको क्रममा उनले घुमाउरो तरिकाले पटक–पटक आर्थिक सहयोगको मात्र कुरा गरे।
प्रमुख प्रशासन अधिकारी मुकुन्द प्रसाद उपाध्यायले त झन अरु केहि भन्दै भनेनन्, सिधै आर्थिक सहयोग नै मागे। उनले केयुको ‘सिनेट बडि’मा ५ जना शिक्षाबिद्हरुको पदमा ५ जना भुतपुर्व बिद्यार्थी नै राख्ने प्रावधान ल्याउन लागिएको बताए पनि त्यसको कारण आर्थिक सहयोग संकलन नै थियो। केयुका भुतपुर्व विद्यार्थीहरु विभिन्न क्षेत्रमा सफल रहेकाले उनीहरुले विश्वविद्यालयलाई सहयोग गर्नुपर्ने बताए।
मन्तव्यका क्रममा भुतपुर्व विद्यार्थीहरुले केयुका विभिन्न कमजोरीहरुमाथि टिप्पणी गरे। ह्युमन बायोलोजी बिषयमा उतिर्ण भुतपुर्व विद्यार्थीहरुले सो विषयको पठनपाठन छोटो समयमा बन्द भएकोमा गुनासो गरे। ह्युमन बायोलोजी बिषय नयाँ र प्रभावकारी भएपनि केयुले चलाउन नसक्नु केयुको कमजोरी भएको बताए। यस्तै बायोटेक्नोलोजी र वातावरण इन्जीनियरिङका विद्यार्थीहरुले पनि आफुँहरुले लोकसेवा लड्न नपाउने भएकोमा असन्तुष्टि व्यक्त गरे।
कार्यक्रम सकिएपछि पनि भुतपुर्व विद्यार्थीहरुविचमा विश्वविद्यालयले आर्थिक सहयोग मागेको विषय निकैबेर चर्चा चल्यो। उनीहरुले विश्वविद्यालयको यस्तो रवैया ठिक नभएको बताइरहेका थिए। ‘एक त यत्रो वर्षपछि बोलाउने, त्यसमाथि सिधै आर्थिक सहयोगको मात्र कुरा गर्नु त ठिक होइन नि,’ एक भुतपुर्व विद्यार्थीले भने, ‘एलमुनाई संघ गठन गरेर विस्तारै जिम्मेवारी बोध गराउने पो हो त।’ उनले थपे, ‘यो त रि–युनियनको बहानामा बोलाएर इमोशनल ब्ल्याकमेल गरेजस्तो भयो।’