रामबहादुर थापा, बागलुङ - जोमसोम बजारको दक्षिणपूर्वमा एउटा झोलुङ्गे पुल छ। पुलबाट कालीगण्डकी तरेपछि बगरैबगर यात्रा अघि बढ्छ। वरिपरि निर्जन डाँडा र कन्दरा। ढुङ्गा, बालुवाबीच फूलेका भुइँफूल। केही पर भेटिन्छ, ठिनी खोला। फड्के तरेर पारि पुग्दा आइपुग्छ, सम्ले गाउँ छिर्ने प्रवेशद्वार।
तलपट्टि सुसाइरहेको नदी, दन्तेलहरझैँ खुलेका हिमाल, गुम्बा, स्याउ बगान र रैथाने जनजीवन आँखामा सजाउँदै पुगिन्छ, सम्ले गाउँको सिरान। चराको चिरबिर, हावाको मन्द स्पर्श र शान्त वातावरणले यात्रीको थकान बिर्साइदिन्छ। सारा दुःख र तनाव भुलेर मानिस प्रकृतिमा विचरण गर्छ। मुस्ताङ, घरपझोङ गाउँपालिका–५ स्थित धुम्बा ताललाई लक्ष्य बनाउने जो कोहीलाई प्रकृतिले यसरी नै लोभ्याउँछ। झट्ट हेर्दा कुनै विख्यात कलाकारले कुँदेको चित्र झैँ लाग्छ, धुम्बा ताल।
कञ्चन तालमा हिमाल डुबुल्की मारेझैँ देखिन्छ। उस्तै मनमोहक दृश्य माछा र जलचरको। लाग्छ, ताल क्षेत्र महात्माहरूको तपस्यास्थल हो। धुम्बा ताल प्राकृतिक हिसाबले जति सुन्दर छ, त्यति नै यसको धार्मिक महत्त्व पनि छ।
बौद्धमार्गीले तालको पानीलाई भगवान् गौतम बुद्धलाई चढाउने जलका रूपमा लिन्छन्। तालनजिकै रहेको ऐतिहासिक कुछुप तेरेङ्गा गुम्बामा यही तालको पानी चढाउने गरिन्छ। बौद्ध धर्मावलम्बी तालछेउमा आई ध्यान र पूजाआजासमेत गर्छन्। ताल संरक्षण र व्यवस्थापनको काम त्यही गुम्बाले गर्दै आएको छ।
तालमा नागराज देउताको बास रहेको मानिन्छ। पारिवारिक सुख, शान्ति मिल्ने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। “धुम्बा ताल हाम्रो पवित्रस्थल हो,” गुम्बाका लामा काजी थकालीले भने, “पछिल्लो समय यो पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ।”
तालमा विभिन्न प्रजातिका माछा छाडिएको भए पनि मार्न प्रतिबन्ध छ। तालमा नुहाउन, पौडी खेल्न, डुङ्गा चलाउन र छेउछाउमा वस्तुभाउ चराउन पाइँदैन। “धार्मिक आस्था जोडिएका कारणले धुम्बा तालको विशेषता फरक छ,” स्थानीयबासी कुलबहादुर थकालीले भने, “यो तालमा लेउ पनि लाग्दैन।”
तालको सरसफाइ, व्यवस्थापन र माछाको हेरचाहका लागि कर्मचारी खटाइएको छ। ताल घुम्ने विदेशी पर्यटकले रु. २० र आन्तरिक पर्यटकले रु. १० शुल्क तिर्छन्। त्यहाँ पुग्ने पर्यटकले किनारमा उभिएर, बसेर तस्बिर लिन्छन्। ताललाई पैदलै फन्को मार्छन्।
आसपासको प्राकृतिक सौन्दर्यबाटपनि पर्यटक मोहित हुन्छन्। तालको पूर्वमा थोरङ्ला र निलगिरि, पश्चिममा मानामाथि, दक्षिणमा धवलागिरि र टुकुचे हिमाल देखिन्छ। उत्तरपट्टि पर्यटकीय ठिनी गाउँ पर्छ। पर्यटकलाई लक्षित गरेर बगैँचा, विश्रामस्थल, खाजाघरको व्यवस्था गरिएको छ।
ताल १ सय ३० मिटर चौडा, १ सय ६० मिटर लामो र १० मिटर गहिरो छ। समुद्री सतहदेखि २ हजार ९ सय मिटरको उचाइमा अवस्थित ताललाई ‘मुस्ताङको लुकेको हीरा’ भनेर समेत चिनिन्छ। मुटु आकारको देखिने भएकाले युवायुवतीबीच ‘हर्ट–सेप लेक’ का रूपमा पनि परिचित छ।
मुस्ताङ सदरमुकाम जोमसोम बजारदेखि पैदल १ घन्टामा धुम्बा ताल पुग्न सकिन्छ। जिप, मोटरसाइकलबाट पनि सजिलै पुग्न सकिन्छ। धुम्बा तालबाट फर्किंदा पर्यटकीय गाउँ ठिनी हुँदै जोमसोम आउन पनि सकिन्छ। पछिल्लो समय पर्यटकको आउजाउ बढेपछि पूर्वाधार निर्माणमा स्थानीयबासीले चासो बढाएका छन्।
घरपझोङ गाउँपालिकाले पनि तालमा लगानी थपेको छ। धुम्बा तालको संरक्षण र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताइन्। “धुम्बा ताल मुस्ताङको पहिचान हो,” उनले भनिन्, “यसलाई धार्मिक एवं पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न जरुरी छ।” प्राकृतिक छटाले भरिएको हुँदा चलचित्र छायाङ्कनस्थलका रूपमा समेत ताल चिनिन थालेको छ।
केही वर्षअघि नेपाली चलचित्र ‘जेरी’मा धुम्बा तालको दृश्य समेटिएपछि तालले प्रचार पाएको थियो। गएको जाडोयाममा ताल जमेपछि धुम्बा तालले थप चर्चा कमायो। विसं २०७२ को भूकम्पपछि तालको पानी सुक्दै गए पनि अहिले भने ताल पूर्ववत् अवस्थामा फर्केको छ। रमणीय भूबनोटमा अवस्थित धुम्बा ताललाई स्थानीयबासीले प्रकृतिको वरदान मान्छन्। (रासस)