काठमाडौं – घाँटीमा भेन्टिलेटर। छोटो कपाल। बिरामीले लगाउने गाउन लगाएर हलचल गर्नै नसक्ने अवस्थामा अस्पतालको शैयामा लडिरहेकी छन्, चेली। छेउमा निन्याउरो अनुहार लिएर बसिरहेका छन्, उनका श्रीमान वसन्तकुमार ठकुरी शाह। विगत दुई वर्षदेखि वसन्त यसरी नै श्रीमतीको साथ निभाइरहेका छन्। काठमाडौं महाकांलमार्गस्थित राष्ट्रिय ट्रमा सेन्टरको पाचौँ तलामा पुग्दा बेड नम्बर ५१४ मा देखिने यो दृष्यले मन खिच्छ।
झिम्झिमाइरहेका आँखाहरुले चेली तामाङ (बिरामी) केही बोल्न चाहेको प्रष्ट बुझाउँछ। बिडम्बना उनी बोल्न सक्दिनन्। रसाएका उनका आँखाबाट उनी पीडा पोख्न चाहन्छिन तर उनी लाचार छिन्। मनमनै आफ्नै भाग्यलाई सराप्नुबाहेक उनी केही गर्न सक्दिनन्। उनको त श्वाससम्म पनि औषधीको सहारामा चलिरहेको छ।
भनिन्छ, समय नै सबैभन्दा बलवान हुन्छ। न समयलाई कसैले रोक्न सक्छ, न आफ्नो हिसाबले चलाउन नै। मान्छेले सक्छ त केवल त्यसलाई पछ्याउन। अनि समयले दिएको खुशी र दु:ख भोग्न। समयले चेलीलाई खुशी त कति दियो थाहा भएन, तर चोट भने पलपल दिइरहेको छ। उनीसँग त्यो सहने र समय छिटो बिताेस् भनेर कामना गर्ने बाहेक अरु केही विकल्प पनि छैन। यस्तै मनोदशा वसन्तको पनि छ। ‘यो समय त कति ढिलो हिँडिरहेको होला’ सायद उनीहरू यही सोच्दा हुन्।
चेलीको जीवनको पहिलाे सहारा नै भेन्टिलटर हो। त्यसपछि श्रीमान वसन्त। वसन्त भन्छन्, ‘भेन्टिलेटर निकालेपछि उनी बाँच्दिनन्। चेलीलाई यो अवस्थामा देख्दा वसन्तको मन त्यसै भक्कानिन्छ। चेलीको जीवनमरणको अवस्था त छँदैछ, आफन्त–चिनजानका मान्छेहरुको बोलीले अझ पिरोल्दो रहेछ, वसन्तलाई। ‘मारिदे, अर्कै बिहे गर् भन्छन्,’ स्वर अलि कडा बनाउँदै वसन्त भन्छन, ‘उनीहरुलाई के थाहा माया भनेको के हो ?’ वसन्तले यति भन्दा चेलीले आँखा चिम्लिइन। सायद आँशु रोक्ने प्रयास गर्दै थिइन् उनी।
......
कुरा ४ वर्ष अघिको हो। काभ्रे भकुण्डेबेँसीका वसन्त रोजगारीको शिलशीलामा मलेसिया गएका थिए। त्यतिबेला चेली तामाङ काठमाडौंमै थिइन्। वसन्त नेपाल फर्कने तयारीमा थिए। फर्किनुभन्दा पाँच दिनअघि वसन्तलाई उनकी सालीले फोन गरिन्। उताबाट आवाज आयो, ‘दिदीलाई मोटरसाइकलले हान्यो, भिनाजू !’ वसन्तले यसलाई सामान्य लिए। उनी आफैँ पनि ड्राइभिङ’ गर्थे। उनी त्यतिसारो गम्भीर भएनन्। ‘सामान्य दुर्घटना होला भन्ठानेको थिए,’ वसन्तले सुनाए।
वसन्त विदेशबाट घर आउने भएपछि उनका लागि कपडा किन्न भनेर पैसा लिन फाइनान्समा गएकी थिइन, चेली। पैसा लिएर फर्किँदा तीनकुनेमा बाटाे काट्दै थिइन् । बाटाे काट्दै गर्दा मोटरसाइकलले ठक्कर दियो चेलीलाई। अनि उनी अस्पतालकाे शैयामा पुगिन्। अहिलेसम्म उनी अस्पतालमै छिन् ।
****
वसन्त नेपाल फर्किए। विमानस्थलबाट उनी सरासर सालीको कोठा गए। त्यहाँ एक घण्टाजति आराम गरेर अस्पताल पुगे। चेलीलार्ई नर्भिक अस्पतालको आईसीयूमा राखिएको थियोे। चेलीको अवस्था देख्दा उनी भक्कानिए। उनले सोचेभन्दा निकै दयनिय अवस्थामा थिइन्, उनकी श्रीमती चेली। उनको घाँटीको ‘स्पाइनल’मा समस्या भएको रहेछ। त्यसपछि वसन्तको जीवनको बाटो मोडियो। घरव्यवहार सल्टाउला भनेर विदेशमा पसिना बगाएर कमाएको २० लाख रुपैयाँ उपचारमै सकियो। ‘म आफैँले कमाएर ल्याएको २० लाख रुपैयाँ सकियो’, बसन्त सम्झिन्छन्।
खर्च धेरै हुने भएपछि मोटरसाइकलधनी र वसन्तको परिवारले चेलीलाई राष्ट्रिय ट्रमा सार्ने निधो गरे। तर जब वसन्तले चेलीलाई ट्रमा सेन्टर सारे, तब मोटरसाइकल धनी सम्पर्कविहीन भए। नर्भिकमा ४२ दिन र ट्रमा सेन्टरमा २ वर्षभन्दा बढी राख्दा ४० लाखभन्दा बढी खर्च भइसक्यो। वसन्तलाई २० लाख ऋण पनि लाग्यो।
......
श्रीमतीको स्वास्थ्य ठीक बनाउन उनले अस्पतालदेखि प्रहरी चौकीसम्म धाए। ‘आफूलाई कानूनबारे जानकारी थिएन’, वसन्त भन्छन्, ‘कानुनी बाटो थाहा नहुँदा अहिलेसम्म मैले न्याय पाइँन।’ श्रीमतीको हेरचाह गर्नुपर्दा आफूले पैसा कमाउने आधार पनि नपाएको वसन्त बताउँछन्। वसन्तसँग सवारी चालक अनुमति पत्र पनि छ। अन्य काम गर्ने क्षमता र चाहना पनि। उमेर पनि छ। तर श्रीमतीको हेरचाह गर्ने मान्छे नभएका कारण उनले अन्य काम गर्न सकेका छैनन्। अहिले उनको दैनिकी चेलीको हेरचाहमै बित्छ।
......
श्रीमतीको साथमा जीवन रमाएर कटाउँला भनेर स्वदेश फर्किएका वसन्तले श्रीमतीको कुरुवा बसेर जीवन कटाउनुपर्छ भन्ने सोचेका समेत थिएनन्। तर जीवन सोचेजस्तो कहाँ हुन्छ र? वसन्त अहिले श्रीमतीको शैया नजिकै बस्छन। श्रीमतीलाई औषधि, खाना पानी ख्वाइदिन्छन। यही हो उनको दैनिकी। उनी अहिले यही काममा खुशी छन्। भविष्यबारे चिन्तित पनि छन।
चिकित्सकहरुले पनि सक्दो सहयाेग गरिरहेका छन्। तर, चेलीको स्वास्थ्यमा भने सुधार देखिँएकाे छैन। अझै पनि १६–१७ लाख भारु खर्च गरे ‘ब्यट्री’ राखेर भ्यान्टिलेटर हटाउन सकिने डाक्टरले सुझाव दिन्छन, वसन्तलाई। ‘धेरै खर्च गर्न सक्दा विदेश लगेको भए ठीक हुन्छ भन्थे’, वसन्त सुनाउँछन्, ‘तर त्यत्रो पैसा कहाँबाट ल्याउनू।’ चेली पैसाकै अभावमा मृत्युसँग लुकामारी गरिरहेकी छिन। हुन त अस्पतालले उनको लागि बेड, खानालगायतका कुरा निःशुल्क गरिदिएको छ। तर पनि फलफूल र अन्य खानेकुरा किन्न उनलाई पैसाको अभाव छ।
......
ठक्कर दिने मोटरसाइकल चालक अझै सम्पर्कविहीन नै छन्। ठक्कर दिने तीनजना व्यक्तिहरुले चेलीको उपचारका लागि नर्भिकमा हुँदा केही खर्च गरेको वसन्तले बताए। त्यसपछि भने उनीहरु फरार नै भए। ‘ठक्कर दिने मोटरसाइकलवालाई भेट्न पाए हुन्थ्यो,’ वसन्त भन्छन्, ‘ती मान्छे प्यूठानका हुन भन्ने थाहा छ।’ मोटरसाईकल चालकबारे थप जानकारी आफ्नो सालासँग रहेको उनले बताए।
उनी न्यायका लागि तीनकुने प्रहरीको ढोका ढक्ढक्याउन पनि पुगे। तर त्यहाँ उनले रुखो व्यवहारको सामना गर्नुपर्यो। मोटरसाइकल धनीलाई खोजीदिन आग्रह गर्दा प्रहरीले चासो नै नदेखाएको वसन्त बताउँछन्। वसन्तका अनुसार चेलीको दुर्घटनासम्बन्धी फाइल पल्टाउन नै प्रहरीले आनाकानी गरिहेका छन्। ‘एकजना सरले त, तेरो श्रीमती मरेपछि मात्र फाइल पल्टिन्छ पनि भन्नुभयो,’ वसन्तले गुनासो पोखे। उनीसँग त्यस्तो व्यवहार गर्ने प्रहरीको परिचय भने रहेनछ।
वसन्तलाई आफ्नै परिवारको पनि सहयोग मिलेको छैन्। आर्थिक सहयोगको कुरै छोडौँ भौतिक सहयोग पनि नपाएको वसन्त दुखेसो पोख्छन्। ‘पैसा खर्च नगरे पनि कहिलेकाहीँ कुरुवा बस्दिए पनि त हुन्थ्यो,’ मलिन स्वरमा वसन्त भन्छन्, ‘एक समय कुरुवाकाे पालाे माेटरसाइकल धनीले बसे पनि त पैसा कमाएर ल्याउथे नि!
......
बसन्त र चेलीकी एउटी छोरी पनि छिन्। उनी आफ्नी सानिमासँग बस्छिन्। चेलीको स्वास्थ्यको चिन्ता त छँदैछ, वसन्तलाई । छोरीका भविष्यबारे सोच्दा पनि उनी निराश हुन्छन्। उनलाई थाहा छ, चेली अब स्वास्थ्य भएर हिँड्न सक्दिनन्। भेन्टिलेटरबाट निकाल्नेगरी उपचार गराउन पैसा पनि छैन। वसन्तको कुरा सुनिरहेकी चेलीले यतिबेला भने आँफूलाई सम्हाल्न सकिनन्। रोक्न खोज्दा खोज्दै उनको आँखामा आँसुका थोपा टलपल टलपल भयाे।
वसन्तलाई अहिले आर्थीक समस्या धेरै छ। केही पैसा जुटाउन पाए उनले श्रीमतीकाे उपचार गर्न भारत लैजान्थे। तर उनलाई सहयाेग गर्ने त्यस्ताे काेही व्यक्ति र संस्था फेला परेकाे छैन। यस्ता गम्भीर प्रकृतिका बिरामीकाे उपचार सरकारले गरिदिँदा हुन्थ्याे नै । तर सरकारकाे कानमा चेलीकाे शैयाकाे बेदना पुर्याउने सामर्थ्य वसन्तमा छैन। न त उनका कुनै आफन्त राजनीतिमा नै सक्रिय छन।
वसन्तकाे एउटै चाहना छ, श्रीमतीकाे स्वास्थ्य सुधार गर्ने। त्यसका लागि उनलाई सहयाेगकाे खाँचाे छ। उनलाई सहयाेग गर्न चाहने व्यक्ति वा संस्थाले राष्ट्रिय ट्रमा सेन्टरकाे पाँचाै तलाकाे ५१४ नम्बर बेडमा सम्पर्क गर्न सक्नुहुन्छ।