गलेश्वर – पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा उद्यमशीलता विकास एवं होमस्टे (घरबास) तालिम शुरु भएको छ। मङ्गला गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको समन्वयमा शनिबारदेखि पूर्णगाउँमा १० दिने तालिम सञ्चालन गरिएको हो।
आगामी जेठ ५ गतेसम्म सञ्चालन हुने तालिममा कुहुँ र पूर्णगाउँका २० जनाको सहभागिता रहेको छ। तालिमको प्रशिक्षकद्वय भूपेन्द्र कार्की र सौरव सापकोटाले सहजीकरण गर्ने आयोजकले जनाएका छन्।
तालिम उद्घाटन गर्दै उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले होमस्टेले स्थानीयबासीलाई रोजगारी सिर्जना गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताए। उनले होमस्टे सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताउँदै आर्थिक रूपमा आत्मनिर्भर बन्न उद्यमशीलमैत्री बन्नुपर्नेमा जोड दिए।
गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले पर्यटकीयस्थल टोड्केमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होमस्टेमार्फत स्थानीयबासीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताए।
पर्यटकीयस्थलका रूपमा परिचित टोड्के र बराङ्जाको झाँक्रीपानीमा होमस्टे सञ्चालनका लागि तालिम चलाइएको बताउँदै उनले गण्डकी प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि रु. २० लाख बजेट अनुदान उपलब्ध गराएको जानकारी दिए।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बुद्ध बिहार निर्माण हुँदै
म्याग्दीको सदरमुकाम बेनीबजारबाट करिब १ किलोमिटरको दूरीमा सुन्दर र शान्त वातावरणमा रहेको बुद्ध बिहारमा शान्तिका अग्रदूत भगवान् गौतमबुद्धका उपदेश लेखिएको छ। गौतम बुद्धका अति प्रभावशाली उपदेशसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरी पूर्वाधार विस्तारसमेत गरिएको छ।
बेनीबजार, मङ्गलाघाटबाट पदमार्ग तथा सवारीसाधन प्रयोग गरी पुगिने बिहारमा सहजै प्रवेश पाइन्छ। बुद्ध शिक्षा प्राप्तिका लागि त्यहाँ रहेकाको स्वागत तथा बिहारबाहिर र भित्रको वातावरणले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
भगवान् बुद्धका बारेमा सुनेर पनि बुद्ध शिक्षाका बारेमा जानकारी नभएकालाई बिहारको प्रवेशद्वारदेखि बुद्धको मूर्ति रहेको क्षेत्रसम्म पुग्ने बेलामा भित्तामा सजाइएका भनाइसहितका तस्बिरले समेत ज्ञान प्राप्तिमा सघाउँछ।
हरेक व्यक्तिको जीवनमा शान्तिको अनुभूति नगर्दासम्म समाज र राज्यमा शान्ति नहुने भएकाले पनि मानिसले जन्मसँगै अपरिहार्य लिएर आउने दुःखजस्तै शारीरिक, मानसिक, पीडा, शोकलाई समेत बुद्ध शिक्षाले प्रस्ट व्याख्या गरेको छ।
बुद्ध शिक्षाको प्रचारप्रसारका लागि म्याग्दी बौद्ध सङ्घको पहलमा निःशुल्क जग्गा, आर्थिक सहयोग तथा चन्दा सङ्कलन गरी बनाइएको बिहारसहितको भौतिक संरचनाले समेत बजार नजिककै नयाँ पर्यटकीय गन्तव्यको रूपमा बिहारलाई चिनाउन सफल भएको छ।
स्थानीय समुदायले करिब रु. ६० लाख आर्थिक सङ्कलन तथा निःशुल्क जग्गासहितको सहयोगबाट बुद्ध बिहारको निर्माण गरेसँगै बुद्ध बिहारलाई समेत पर्यटकीयस्थलका रूपमा विकास गरिएको म्याग्दी बौद्ध सङ्घका अध्यक्ष यजनलाल शाक्यले बताए।
शाक्यले एसियाका तारा विश्वज्योति भगवागन् बुद्धको उपदेश र शिक्षालाई बजारदेखि ग्रामीण क्षेत्रसम्म प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०५३ मा पहिलोपटक खुला बुद्धजयन्ती समारोह गरी २०५४ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी सङ्घ गठन भएको थियो।
बौद्ध चैत्यको निर्माण गरेपछि बुद्ध शिक्षाको महत्त्वका बारेमा प्रचारप्रसारसहित समुदायकै लगानीमा भौतिक संरचना निर्माण गरिएको अध्यक्ष शाक्यको भनाइ छ। सदरमुकाम आसपासमा घुम्न तथा छोटो समय रमाउन चाहने स्थलको अभावलाई बुद्ध बिहारले पूरा गरेको छ।
करिब २ रोपनीमा फैलिएको बिहारमा बस्ने स्थान, फ्री वाइफाइ तथा विभिन्न प्रजातिका फूलले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने महिला बौद्ध सङ्घकी अध्यक्ष टकसरा रानाले बताइन्। “शिक्षा र भ्रमण दुवैका लागि बिहारमा पूर्वाधार विस्तारमा प्राथमिकता दिइएको छ, पछिल्लो समय जिल्लाबाहिरबाट घुम्न आउनेको रोजाइमा समेत परेको छ,” रानाले भने। (रासस)