सीवी अधिकारी, काठमाडौँ – वसन्त ऋतु आगमनसँगै ल्होत्से हिमालको आरोहण शुरु भएको छ। इमाजिन नेपालको आरोही समूहले ल्होत्से (८ हजार ५ सय १६ मिटर) हिमालको आज (मंगलबार) बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ।
कुल १२ आरोहीमध्ये ५ डोरी टाँग्ने शेर्पा छन् भने अन्य ७ मा १ नेपालीसहित चीन, पाकिस्तान र ग्रिसका २/२ आरोही छन्। विश्वका अग्ला शिखरमध्ये ल्होत्से चौथो स्थानमा पर्छ। विश्वका ८ हजार मिटरभन्दा माथिका १४ अग्ला हिमालमध्ये नेपालमा आठवटा हिमाल छन्। ल्होत्सो आरोहणका लागि १० आरोही समूहका ९२ आरोही गएको विभागको पर्वतारोहण शाखाले जनाएको छ।
यसैगरी पाँचौँ अग्लो मकालु (८ हजार ४ सय ६३ मि.) हिमालको पनि आज सफल आरोहण भएको छ। सेभने समिट ट्रेकबाट गएका ५ शेर्पाले मकालुको सफल आरोहण गरेका हुन्। कम्पनीका अध्यक्ष मिङमा शेर्पाले दिएको जानकारीअनुसार शेर्पा आरोही मकालु आरोहणका लागि डोरी टाँग्न चुचुरोमा गएका थिए।
केही दिनअघि अन्नपूर्ण हिमालको आरोहण भएको थियो तर कति आरोही चुचुरोमा गए भन्ने यकिन जानकारी प्राप्त भएको छैन। अन्नपूर्णको आरोहणसँगै यो यामको हिमाल आरोहण शुरु भएको थियो।
संसारकै आकर्षण सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै शेर्पा समूह चुचुरोनजिक पुगेका छन्। यो यामको सगरमाथा आरोहणका लागि एक्सिपिडिसन अपरेटर्स एसाेसिएसनबाट गएका ८ शेर्पा डोरी टाँग्न सगरमाथाको चुचुरोनजिक पुगेका हुन्।
सगरमाथाको बाटो पहिल्याउँदै गएका ८ शेर्पाको टोली २ दिनदेखि सगरमाथाको साउथ कोल (८ हजार मि. उचाइ)मा छन्। मौसमले साथ दिए आजै सगरमाथाको चुचुरो (८ हजार ८ सय ४८ मिटर)मा पुगेर डोरी टाँग्ने सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
“शेर्पा समूह हिजो साउथ कोल पुगेर समिटको प्रयासमा थिए। मौसमले साथ दिए आज चुचुरोमा पुगेर डोरी टाँग्ने सम्भावना छ, आज साँझसम्म परिणाम आउला,” श्रेष्ठले भने। शेर्पाले डाेरी टाँगेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको ढोका खुल्नेछ।
अहिले सबै आरोही सगरमाथाको आधार शिविरमा छन्। सामान्यतया मे महिनाको १२ देखि १८ तारिखसम्म दोस्रो शिविरदेखि चुचुरोमा डोरी टाँगिन्छ। विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३ सय ७८ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३५ विदेशी र ६ नेपाली आरोही समूह छन्।
पर्यटन विभागका अनुसार सगरमाथा सहितका हिमाल आरोहणका लागि यो याममा कुल १ सय ६ आरोही समूहका ८ सय ४२ आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथा सहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन्।
यो याममा हिमाल आरोहणबाट करिब ५० करोड रोयल्टी जम्मा भएको छ। यसमा सबैभन्दा धेरै ४३ करोड ८९ लाख २७ हजार रहेको छ। यसअघि सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ८ को शेर्पा समूहले क्याम्प–२ सम्म बाटो बनाइसकेको थियो।
सगरमाथाको दोस्रो शिविरसम्म हिमनदी, हिमखाल्डा तथा जोखिमपूर्ण ठाउँ प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिन्छ। सगरमाथा आरोहणमा भन्दा आधार शिविरदेखि क्याम्प–१ र क्याम्प–२ पुग्नु जोखिम मानिने गरेको आरोही बताउँछन्।
आइसफल डाक्टरका अनुसार विगतमा भन्दा यसपटक सगरमाथा आरोहणका लागि बाटो राम्रो भएको छ। अनुकूल मौसमले आरोहण उत्साहजनक हुने अपेक्षा गरिएको एसपीसीसीका अध्यक्ष शेर्पाले उल्लेख गरे।
सगरमाथा आरोहणको समय सामान्यतः ७५ दिनको हुन्छ। त्यससमध्ये ५० दिन हिमाल आरोहणमै बित्छ। आरोही फुर्वा तेञ्जिन शेर्पाको अनुभवमा समिटका लागि गएका सबै आरोही मे २९ मा आधार शिविर झरिसक्नुपर्ने हुन्छ।
सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३ सय ४६ आरोहीले अनुमति लिएका थिए। जसमा ३४ विदेशी र ४ नेपाली समूह थिए। सन् २०१७ मा ३८ आरोही समूहका ३ सय ७२ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए। (रासस)