काठमाडाैँ – टाउकोको चोट, ‘स्पाइनल इन्जुरी’जस्ता गम्भीर प्रकृतिका बिरामीको चाप हुने ठाउँ हो, राष्ट्रिय ट्रमा सेन्टर। तर, जति गम्भीर प्रकृतिका बिरामी ट्रमा सेन्टर आउँछन्, व्यवस्थापनमा उति नै गैरजिम्मेवार बनेको छ– ट्रमा सेन्टर प्रशासन।
भारत सरकारको सहयोगमा २०७१ मङ्सिर ९ गतेबाट सञ्चालनमा आएको ट्रमामा ‘सञ्चालन ल्याउँदा भित्र्याएका उपचारका उपकरण’समेत बिग्रिएर थन्किएका छन। केही अतिआवश्यक उपकरण अस्पतालले किन्नसमेत सकेको छैन।
‘ट्रमामा एमआरआई मेसिन अति आवश्यक छ’, ट्रमाका मेसु डा. प्रमोदकुमार यादव भन्छन्, ‘पैसा निकासा नभएकाले किन्न सकिएको छैन। किन्ने प्रयास भइरहेको छ। हामीले मन्त्रालयसँग पैसा मागेका छौँ। मन्त्रालयबाट निकासा भएको छैन।’
ट्रमामा भएको एउटा सीटी स्क्यान मेसिनसमेत बिग्रिएर थन्किएको छ। एमर्जेन्सीको एक्स–रे मेसिन पनि बिग्रिएर थन्क्याइएको छ। गएको ३/४ महिनादेखि एक्स–रे र ६ महिना अघिदेखि सीटी स्क्यान मेसिन बिग्रिएको अस्पतालले जनाएको छ।
मेसिन बिग्रिएर थन्किँदा सीटी स्क्यान गर्न बिरामीलाई वीर अस्पताल ‘रिफर’ गर्नु परेको ट्रमाको रेडियोलोजी विभागकी प्रमुख डा. ममता कोइराला भट्टराई बताउँछिन्।
‘समयमै सीटी स्क्यान नहुँदा बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्छ’, डा. कोइराला भट्टराई भन्छिन्, ‘भर्खरै आएका मेसुसँग पनि म दिनदिनै गुनासो गरिरहेको छु। तर, खै किन बनिरहेको छैन?’
मेसु डा. यादवले भने सीटी स्क्यान मर्मतका लागि स्वास्थ्य मन्त्रालयमा चिठ्ठी पठाइसकेको बताए। ‘गएको ५ वर्षदेखि भएका सबै मेसिन प्रयोगमा आइरहेको छ। कतिको सर्भिसिङ भएन। एएमसी भएन। सीएमसी भएन’, डाक्टर यादव भन्छन, ‘त्यसले गर्दा अहिले थुप्रै सामग्रीमा समस्या आउन थाल्यो।’
विगतमा पनि तीनवटा भेन्टिलेटर एकैपटक बिग्रिएको उनी बताउँछन्। सही समयमा मेसिनको मर्मत नहुनु व्यवस्थापनको कमजोरी रहेको उनले स्वीकार गरे। अस्पतालमा ल्याइएका ठूला मेसिन बिग्रिएको खण्डमा कम्पनीले नै बनाइदिने गर्छ। तर, डाक्टर यादव भने ‘डोनेसन’को मेसिनमा स्थानीय डिलरले वास्ता नगरेको र आफूहरूले बोलाउँदा पनि नआएको जवाफ दिन्छन्।
‘एक जना बिरामीलाई अस्पताल लैजान जति हतार हुन्छ, उपचार गर्ने मेसिन बनाउन अस्पतालले पनि त्यतिकै हतार गर्नुपर्ने हो,’ ट्रमा सेन्टरका कर्मचारी भन्छन्, ‘अति आवश्यक मेसिन बनाउन चासै नदिनुका कारण बुझ्न सकिएन।’ अस्पतालले एक्स–रे मेसिनको सट्टा फ्लोरोस्कोपीको मेसिन जडान गरेर काम चलाइरहेको छ।
फ्लोरोस्कोपीको मेसिनबाट भने सबै प्रकारका बिरामीको एक्स–रे गर्न मिल्दैन। सीटी स्क्यान र एक्स–रे मेसिन नहुँदा बिरामी अधिक खर्च गरेर बाहिरका एक्स–रे ल्याब र अन्य निजी अस्पतालमा उपचार गराउन बाध्य छन।
रु. २४ करोडको इन्ट्रा–अपरेटिभ सीटी स्क्यान प्रयोगमै ल्याइएन
२ वर्षअघि ट्रमा सेन्टरलाई भारत सरकारले दिएको इन्ट्रा–अपरेटिभ सीटी स्क्यान मेसिन ल्याएर अस्पतालको ‘ओटी’मा थन्क्याइएको छ। २४ करोड रुपैयाँ लागतको उक्त मेसिन सञ्चालनमै नआएको मेसु डा. यादव बताउँछन्।
‘इन्ट्रा–अपरेटिभ सीटी स्क्यान मेसिन शुरु गर्न कोठालाई ‘रेडियसन फ्री’ गर्नुपर्ने रहेछ’, उनी भन्छन्, ‘त्यसका लागि ५० लाख रुपैयाँ लाग्ने रहेछ। बजेट नभएकै करण सञ्चालनमा नआएको हुनसक्छ।’ उक्त मेसिनबाट टाउकोका गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न सहज हुने डाक्टरहरू बताउँछन्।
अस्पतालमा ‘क्याथ ल्याब’ पनि प्रयोगविहीन छ। भारत सरकारले चन्दास्वरूप दिएको ‘क्याथ ल्याब’ सञ्चालनमा ल्याउन २ करोड रुपैयाँ आवश्यक पर्ने मेसु डाक्टर यादवले जानकारी दिए।
सीटी स्क्यानको ट्युब बिग्रिएको हो...
बिरामीको अधिक चापका कारण सीटी स्क्यानको ट्युब बिग्रिएको मेसु यादव बताउँछन्। ‘मैले यहाँ आउनेबित्तिक्कै सीटी स्क्यानको ट्युब बनाउन मन्त्रालयलाई चिठ्ठी पनि पठाएँ’, मेसु भन्छन, ‘त्यसको लागत १ करोड रुपैयाँ हो। बनाउन १ महिना लाग्ला।’
अस्पतालको एक्स–रेसमेत गत ४ महिनादेखि बिग्रिएर थन्किएको छ। एक्स–रे बनाउन कम्पनीवालाले ३० लाख रुपैयाँ पनि दिएको छ। तर, ट्रमा सेन्टरले आकस्मिक कक्षको एक्स–रे बनाउनुको सट्टा फ्लोरोस्कोपी मेसिन राखेर काम चलाएको छ। अस्पतालको ‘ओटी’ कक्षसमेत पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। अस्पतालका मेसु पैसा अभावका कारण सबै समस्या झेल्नुपरेको बताउँछन्।
अस्पतालको ऋण रु. १४ करोड !
ट्रमा सेन्टरजस्तो संवेदनशील ठाउँमा ‘डोनेसन’मा दिएका सबै उपकरण त सञ्चालनमा छैनन् नै। सञ्चालनमा आएका जतिबाट अस्पतालले फाइदा पनि लिन सकेको छैन। गएको वर्ष ट्रमा सेन्टरका लागि १७ करोड रुपैयाँ बजेट छुट्याइएको थियो। त,र त्यसले पनि कुनै काम गरिएको छैन।
अस्पतालका मेसु यादव भन्छन्, ‘१४ करोड रुपैयाँ त विभिन्न सप्ल्यायरहरूको ऋण नै छ।’ उनी अबको १ महिनामा सबै काम सुचारु हुने आश्वासन पनि दिन्छन्। उनले भने, ‘आकस्मिक कक्षको पनि विस्तार गर्छु, एजुकेसनल एक्सचेन्ज पनि हुन्छ।’
कर्मचारीबीचमै असन्तुष्टि
आफूले ‘गएल’ भएको हाजिरीदेखि मेसिन उपकरण बनाउने काम तीव्र रूपमा गरेको मेसु यादव बताउँछन्। तर, गएको बिहीबार
नेपाली पब्लिकको टोली ट्रमा सेन्टरमा मेसिन बिग्रिएकोबारे जानकारी लिन जाँदा ट्रमा प्रशासन शाखाका शाखा अधिकृत गुणराज भट्टराई कड्किए।
‘अस्पतालमा अहिलेसम्म के–के उपकरण किनिएको छ?’ लगायतका प्रश्न सोध्दा उनले आफूलाई सूचना दिने अधिकार मेसुले नदिएको भन्दै ‘मेसुसँग गएर अनुमति लिनू’ भन्ने जवाफ फर्काए। त्यतिमै उनी रोकिएनन्, मेसुले ‘पावर होल्ड’ गरेर बसेकोसमेत आरोप लगाए। अस्पतालमा सूचना लिन जाँदा कड्किएका उनी मेसुको कार्यकक्षमा समेत पुगे।