काठमाडौँ - ५५औँ विद्यार्थी एकता दिवसको अवसरमा आज सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त रुपमा प्रभातफेरी आयोजना गरेका छन्।
संविधान प्रदत्त नि: शुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारासहित बुधबार बिहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाँकाजी श्रेष्ठले सहादतप्राप्त गरेको भूगोलपार्कमा पुगेर समापन भएको थियो।
उक्त भूगोलपार्कमा आयोजित सभालाई अनेरास्ववियूका पूर्वअध्यक्ष एवम् संस्थापक नेता विश्वकान्त मैनाली, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले सम्बोधन गरेका थिए।
विद्यार्थीहरुको एकताको बलमा आन्दोलन सफल भएको यही दिनको सम्झनामा विद्यार्थीहरुले जेठ १ गतेलाई एकता र विजयको रुपमा मनाउँदै आएका छन्।