काठमाडौँ – नोबेल साकोस साहित्य प्रतिष्ठान बानेश्वरले विभिन्न विधाका आठजना साहित्यकारलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ। जेठ ४ गते शनिबार प्रतिष्ठानले मध्ये वानेश्वरस्थित रत्नराज्य माविमा एक कार्यक्रम आयोजना गरेर साहित्यकारहरुलाई उक्त पुरस्कार वितरण एवं सम्मान गर्न लागेको हो।
पुरस्कृत एवं सम्मानित हुने साहित्यकारहरुमा डा. रामप्रसाद ज्ञवाली (नोबेल साकोस दुर्गा समालोचना साहित्य), छवि वैरागी घिमिरे (नाेबेल साकाेस साहित्य सम्मान तथा पुरस्कार) सुन्दरबहादुर खड्का (नोबेल साहित्य लिलाधर पाण्डे निरन्तर साहित्य), श्रीहरि फुयाँल (हरिभक्त मिना साहित्य सम्मान), प्राडा उषा ठाकुर (पद्म दिपा उपाध्याय साहित्य सम्मान), प्राडा गार्गी शर्मा (एञ्जेलिया न्यौपाने साहित्य सम्मान), प्राडा ऋषिराम पोखरेल (तुजाखग सिग्देल स्वरुपानन्द साहित्य सम्मान) र अनुज्ञा नेपाल (हरिभक्त मिना बाल प्रतिभा साहित्य सम्मान) लाई पुरस्कृत गरिने प्रतिष्ठानकी अध्यक्ष सरस्वती गौतमले जानकारी दिइन्।
साेही अवसरमा चारवटा पुस्तकसमेत लोकार्पण गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा हरिभक्त सिग्देल (महेश)द्वारा रचित संग्रहको ३६औँ कृति गिता सार, साहित्य श्री स्मारिका एवं सूर्यबहादुर तामाङ बमजनद्वारा रचित लेखसंग्रह ईश्वरको खोजी र प्राप्ती र नौ लिङ्गेश्वरको नौ लिङ्ग पुस्तक लोकार्पण गरिने अध्यक्ष गौतमले बताइन्।