काठमाडौँ, २६ पुस। अनुपविक्रम शाही अभिनित चलचित्र ‘पुरानो बुलेट’ नेपालमा प्रदर्शन हुनुअघि हङकङमा प्रदर्शन हुने भएको छ। ‘पुरानो बुलेट’को पहिलो प्रदर्शनी नेपालमा भन्दा अघि हङकङमा हुने निर्माण टिमले बताएको छ।
अनुपलाई खलपात्रको भूमिकामा सर्वाधिक रुचाइएको चलचित्र ‘पुरानो बुलेट’ नेपालमा चैत १ बाट प्रदर्शनमा आउने भएको छ।चलचित्रको वर्ल्ड प्रिमियर हङकङमा निश्चित भएको चलचित्रका निर्देशक भिषण राईले बताए। फ्रेब्रुअरी २३ तारिखको साँझ ६ बजे हङकङको याउमातेईस्थित कम्युनिटी हलमा फिल्मको पहिलो प्रदर्शनी हुने भएको छ।
हेल्प फर हुमिनिटी (न्यानो काख अभियान)’को सहयोगार्थ उक्त चलचित्र हङकङमा प्रदर्शन हुने बताइएको छ। फिल्मको पहिलो प्रदर्शनीमा डोनेसन गर्न चहानेहरूबाट सङ्कलित रकम उक्त अभियानलाई उपलब्ध गराइनेछ।
चलचित्र ‘पुरानो बुलेट’ प्रिमियरको जिम्मा अनोज रोका, मज्जाको राई, विजय लिम्बू, सरु राई र सुनिता लिम्बूले लिएका छन्। पूर्वेली टिपिकल कथामा निर्माण भएको चलचित्रमा अनुपविक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बूको मुख्य भूमिका छ भने कविता आले, कृष्णभक्त महर्जन, शिरोमणि दवाडीलगायतका कलाकारको पनि अभिनय छ।
‘पुरानो बुलेट’को निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टीकाराम राई र दीपेन लिम्बू छन् भने सन्तोष राई कार्यकारी निर्माता हुन्। हरि घिमिरेले खिचेको उक्त चलचित्र हाल पोष्ट प्रोडक्सनमा रहेको छ। त्यस्तै लामो समयको रंग पत्रकारिता र चलचित्र समीक्षामा खारिएको अनुभव चलचित्र निर्देशनमा खर्चिएको निर्देशक राईले बताए।