बुटवल - प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले सुदूरपश्चिमको प्रदेशसभामा सरकारको कडा विरोध गरेका छन् । दुवै पार्टीले सुदूरपश्चिम प्रदेश सरकारले १० महिना बितिसक्दा समेत बजेट खर्च गर्न नसकेको भन्दै विरोध गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशनको आज पहिलो बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारले सम्पूर्ण बजेट सक्नका लागि अब दैनिक ४० करोड रुपैयाँ खर्च गर्नुपर्ने बताए । खर्च भइरहेको बजेटमा पनि सरकारले मनपरी गरिरहेको आरोप उनले लगाए । सरकारको पुरानै प्रवृत्ति दोहोरिए प्रदेशको अवस्था झनै दयनीय बन्ने उनले बताए । प्रदेशका मन्त्रीहरूले आफ्नो स्वार्थ केन्द्रित बजेट विनियोजन गरेका कारण प्रदेशमा भष्ट्राचार बढेको र बजेट खर्चको अवस्था दयनीय बनेको उनले आरोप लगाए ।
राजपा प्रदेशसभा सदस्य मालामती रानाले सरकार मनपरी ढंगले चल्न खोज्दा प्र्रदेशका जनताले दुःख पाएको बताइन् । सेती अञ्चल अस्पतालमा पानीको हाहाकार हुँदासमेत सम्बन्धित मन्त्रालय कानमा तेल हालेर बसेको आरोप उनको छ । जनताको दैनिकी राम्रो बनाउनुभन्दा पनि प्रदेश सरकार कमिशनको खेलमा लागेको उनको आरोप छ ।
कांग्रेस प्रदेशसभा सदस्य भरत खड्काले प्रदेश सरकार यही ढंगले अगाडि बढे सुदूरपश्मिका लागि अभिशाप हुने बताए । उनले सांसद विकास कोषको बजेट र योजनामा सबैभन्दा भ्रदगोल भइरहेको आरोप लगाए । वर्तमान सरकारका कारण संघीयता नै धरापमा परेको उनको कथन थियो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले सरकारले उपलब्ध स्रोत र साधनका बाबजुद बजेट खर्च गरेको दाबी गरे । सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहले कर्मचारी अभाव, कानूनको अभाव र संयन्त्रको अभावका बीच धेरै काम भएको बताए ।
आजको प्रदेशसभा बैठकमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले प्रादेशिक औद्यौगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई टेबल गरेकी थिइन् ।