धनगढी - राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले दुई तिहाईको सरकार हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको बताएका छन्। पार्टी कामको सिलसिलामा धनगढी आएका जबराले सरकार दुई तिहाईको शक्तिशालीे भए पनि प्रधानमन्त्रीले शक्ति केन्द्रित गरेर आफू बलियो बन्ने काम मात्रै गरेको आरोप लगाए।
सरकार व्यापक भ्रष्टाचारमा चुर्लुम्म डुबेको अध्यक्ष जबराको आरोप छ। उनले मेलम्ची, बुढी गण्डकीलगायतका ठूला योजनाहरूमा पनि भ्रष्टाचार भएको दाबी गरे। अध्यक्ष जबराले भ्रष्टाचार केन्द्रमा मात्रै नभएर अहिले वडावडासम्म विकेन्द्रित भएको बताए। नेकपाको सरकारले देखिन लायक गरेको काम वडावडामा भ्रष्टाचार मात्रै भएको उनले टिप्पणी गरे। दुई तिहाइको सरकार बन्दा धमाधम विकास हुने आशामा आफू पनि रहेको बताउँदै उनले हाल सरकारले आशाको निराशा बनाएको बताए। राम्रा काममा सबैको समर्थन रहने स्पस्ट पार्दै जबराले सरकारका गलत क्रियाकलापविरुद्ध मिडियाले सशक्त भूमिका खेल्दा सरकारले मिडियालाई नै अंकुस लाउने किसिमको विधेयक ल्याउन लागेको बताए।
अध्यक्ष जबराले लोकतन्त्रमा मिडियामाथि अंकुस लाउनु नै अधिनायकवाद भएको दाबी गरे। सरकार सही बाटोमा भए कसैले पनि विरोध नगर्ने बताउँदै उनले गलत बाटोमा भएको सरकारलाई सही बाटोमा ल्याउने काम मिडियाको भए पनि मिडियाले लेख्दा सरकारले आफू विरोधी सोच्ने प्रवृत्तिले विकास हुन नसकेको दाबी गरे। राष्ट्रपति कुनै पार्टीको निर्देशनमा चल्नुले राष्ट्रपतिको गरिमा नै नरहेको समेत उनको दाबी छ।
राणाकालको शीतल निवासले राष्ट्रपतिलाई बस्न नपुगेर सेनाले बसेको ठाउँसमेत खाली गराउनु कत्तिको लोकतन्त्रको उनको टिप्पणी छ । १८ करोडको हेलिकोप्टर चढ्नु, दशैँ टीकामा राणा शासनकै शैली देखाउनु लोकतन्त्र नभएको दाबी गर्दै उनले लोकतान्त्रिक पद्धतिमा लोकतान्त्रिक तवरबाटै राज्य चलाउनुपर्ने बताए। उनले राजनीतिक दलभन्दा बाहिरको व्यक्ति राष्ट्र प्रमुख भए निष्पक्ष तरिकाले निर्णय गर्ने भएकाले राजाको आवश्यकता देखिन थालेको बताए।
राप्रपा संयुक्तकै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भ्रष्टाचारमा लिप्त कांग्रेस कम्युनिस्ट एउटै हुँदा देश विकास हुन नसकेको बताए। दुइटै दलका नेताहरू भ्रष्टाचारमा डुब्दा प्रतिपक्षसमेत बलियो हुन नसकेको बताए। राप्रपा संयुक्तले विचार मिल्ने अन्य शक्तिहरूसँग समेत एकताका लागि छलफल गरिरहेकाले पार्टी चाँडै राम्रो उचाइमा पुग्ने दाबी गरे । सबै प्रदेशका नेता कार्यक्रताहरूलाई भेटेर सुझाव लिने काम भइरहेको र संगठन बढाएर सैद्धान्तिक तरिकाले राप्रपा संयुक्त अगाडि बढिरहेको उनले बताए।