काठमाडौँ – गंगा आचार्यको पहिलो कृति ‘आस्थाको आँचल’ मुक्तक संग्रह सार्वजनिक गरिएको छ। बुधबार ज्योति साहित्य प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा मुक्तक संग्रह सार्वजनिक गरिएको हो।
उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद्को सदस्य प्राडा हेमनाथ पौडेल, प्राडा. विष्णुहरि नेपाल र प्राडा. गोविन्दमान सिंह कार्कीले प्रमुख अतिथिको भूमिका ग्रहण गरेका थिए।
त्यस्तै विमोचित कृतिमाथि समालोचक डा. विदुर चालिसे र अमृता स्मृतिले समालोनात्मक मन्तव्य प्रस्तुत गरेका थिए। कृतिको समीक्षा गर्दै चालिसेले कृतिको नामाकरण प्रकृति, परिवेश, समाजप्रतिको आस्था कृतिमा समावेश भएको बताए।
उनले चतुष्पदीय मुक्तक शैली अपनाएको, नौ अक्षरदेखि अठार अक्षरसम्मको हरफको प्रयोग भएको, अक्षरगत असमानता भए पनि आन्तरिक लय संयोजन भएको, मुक्तकमा ललित व्यङ्य रहेको, प्रेम, प्रणय, संस्कृति, राष्ट्रिय चेतना, वैदेशिक हस्तक्षेप, वैदेशिक रोजगारका विविध विषयलाई समेटिएकोले कृति कालजयी रहेको जानकारी दिए। उनले कृतिले आफूलाई नै व्यक्त गरेको भान हुने विचार व्यक्त गरेका थिए।
त्यसैगरी, कृतिको समीक्षा गर्दै अमृता स्मृतिले गंगा आचार्य अन्य मुक्तककार भन्दा भिन्न, वाह वाहको लागि नलेखी गहिरो दर्शन र विचारलाई मुक्तकमा व्यक्त गरेको बताइन्। उनले यस संग्रहका मुक्तक जति पढे पनि नयाँ नयाँ अनुभूति हुने, यसमा यथार्थलाई चित्रण गरिएको र कतै कतै विचारको अन्तरद्धन्दसमेत रहेको बताइन्।
विशिष्ट अतिथि नेपाल र कार्कीले मुक्तकको सैद्धान्तिक आधार प्रस्तुत गर्दै मुक्तकमा विभिन्न बिम्बको प्रयोग गरिएको भनी यसको औचित्यतामाथि प्रकाश पारेका थिए। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पौडेलले यो कृतिमा भावनाको विविधता रहेको र मुक्तकले समाजको समीक्षा रहेको बताए। मुक्तककार मुक्तकको पद्धतिमा रहेकोले यी पठनीय रहेको भन्दै कार्यक्रममा गुणात्मक उपस्थिति रहेको बताए।