रुपन्देही – लुम्बिनी भ्रमण वर्ष–२०७६ का अवसरमा सुजाता खिर उत्सवको आज (शुक्रबार) शुभारम्भ गरिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सो उत्सवकाे आयोजना तथा उद्योग व्यापार सङ्गठन रुपन्देहीले संयोजन गरेको हो।
सो उत्सवलाई सम्बोधन गर्दै प्रदेश नं. ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बुद्ध जन्मस्थलको विकास र प्रचारप्रचारका लागि प्रदेश सरकारले भ्रमण वर्ष मनाउन लागेको बताए। उनले सुजाता नाम गरेकी युवतीले दिएको खिर खाएपछि बुद्धले ज्ञान प्राप्त गरेका कारण बुद्ध दर्शनमा उक्त खिरको विशेष महत्त्व रहेको बताए।
कार्यक्रममा प्रदेशसभा सदस्य फकरुद्दिन खाँनले बुद्धको जीवनीसँग सम्बन्धित विषयमा विभिन्न कार्यक्रम लुम्बिनीमा नियमित आयोजना हुनुपर्ने बताए। खिर उत्सवका संयोजक तथा उद्योग व्यापार सङ्गठन रुपन्देहीका पूर्वअध्यक्ष खिमबहादुर खत्रीले निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर र जीर्ण भइसकेको अवस्थामा सुजाता नामकी युवतीले खिर खुवाएपछि सोही राति ज्ञान प्राप्त भएको घटनालाई उत्सवका रूपमा मनाउन शुरु गरिएको बताए।
सिद्धार्थ गौतम उरुवेला राज्यको निरञ्जना नदीको किनारमा लामो समयदेखि तपस्या गरिरहेका थिए। निराहार तपस्याका क्रममा उनको शरीर अत्यन्तै कमजोर र जीर्ण भइसकेको थियो। सिद्धार्थका गुरुले अन्न नखानु भनेकाले सिद्धार्थले भोजन गरेका थिएनन्। सिद्धार्थका एक गुरुले अन्नको मात्रा कम गर्दै जानु र अन्तिममा अन्नको एक गेडामात्रै हुनेछ। त्यसपछि निराहार रहनु भनेकाले सिद्धार्थ निराहार रहेका थिए।
गुरुले भोजन ग्रहण नगरेपछि ज्ञान प्राप्त गर्न सहज हुन्छ भनेकाले सिद्धार्थले सोहीअनुसार गरे। सिद्धार्थले तपस्या गरेको वननजिकै एक गाउँमा बस्ने सुजाताले सिद्धार्थको त्यो कमजोर अवस्था देखेर खिर भोजन गर्न दिए। निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर र जीर्ण भइसकेको अवस्थामा सुजाताले खिर खुवाएपछि सोही राति ज्ञान प्राप्त भएको घटनालाई बुद्धजन्मस्थल लुम्बिनीमा उत्सवका रूपमा मनाइन थालेको बताइन्छ।
सुजाताले दिएको खिरकै कारण सिद्धार्थको शरीरमा ऊर्जा सञ्चार भएको र बुद्धत्व प्राप्त गरेको अवसरको सम्झना तथा प्रवर्द्धनमा आजदेखि लुम्बिनीमा सुजाता खिर उत्सव शुरु भएको छ। (रासस)