काठमाडौँ– कीर्तिपुर थिएटर मल रंगमञ्चमा पानी र जनजीवनबारे तयार पारिएका ‘निर्मल थोपाहरु’ नाटक मञ्चन भएको छ। अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट (अक्रु)–नेपालले पाटन अस्पतालसँगको सहकार्यमा तयार पारेको नाटकलाई वन वर्ल्ड थिएटरले प्रस्तुत गरेको नाटकको सातौं मञ्चन हो।
नाटकमा लुनिभा तुलाधर, अबिरल बहादुर मानन्धर, समापिका गौतम, गुञ्जन दिक्षित, सविना गोपाली, एना देउजा, अमृत दाहालले अभिनय गरेका थिए। मानव जीवनको अपरिहार्य र महत्वपूर्ण पानीले दैनिक जीवनमा राख्ने भूमिका र पानी दूषित हुँदा त्यसले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावलाई नाटकले उठान गरेको अक्रुका जनसम्पर्क अधिकृत सुनिता दास शाक्यले बताइन्।
लण्डनमा रहेको सेसस युनिभर्सिटीका अनुसन्धानकर्ता सैनले काठमाडौं उपत्यकाका दरबार स्वायर क्षेत्र वरिपरीको पुरानो वस्तीमा रहेका पानीका स्रोतहरुको परीक्षण तथा अनुसन्धानबाट तयार पारेको रिपोर्टको आधारमा नाटकको विषय उठान गरेको लेखक तथा निर्देशक राजकुमार पुडासैनीले बताए।
उनले नाटक ‘निर्मल थोपाहरु’ भक्तपुर र पाटनमा गरी ६ पटक मञ्चन गरिसकेको र कीर्तिपुर मञ्चनसँगै काठमाडौंमा मञ्चन गर्न थालेको शाक्यले बताइन्।