धनगढी - साझा विवेकशील पार्टीले सुदूरपश्चिममा भ्रष्टाचारविरुद्धको महाअभियान जारी छ। पार्टीले कैलालीको टीकापुरबाट उक्त महाअभियान शुरू गरेको छ।
टीकापुरबाट शुरू भएको महाअभियानअन्तर्गत आज टीकापुरसँगै सुख्खड र मसुरियामा पनि कोणसभा सम्पन्न भएको छ। भ्रष्टाचारविरुद्धको महाअभियानमा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र, पार्टी प्रवक्ता सूर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल, सुदूरपश्चिम संयोजक गोपाल हमाललगायत नेताहरूले सम्वोधन गरेका थिए।
नेताहरूले गाउँगाउँमा आएको सिंहदरबारसँगै भ्रष्टाचार पनि पुगेकाले भ्रष्टाचार रोक्नु सबैको दायित्व भएकाले नागरिक जनजागरणको रूपमा अभियान सञ्चालन गरिएको बताए। जनताले विकास र समृद्धिका लागि मत दिए पनि दुरुपयोग भइरहेको भन्दै नेताहरूले अहिलेकै गतिमा भ्रष्टाचार भएमा समाज र देश नै सकिने हुँदा नागरिकलाई सचेत गराउने उद्देश्यका साथ अभियान शुरू गरिएको बताए।
अभियानअन्तर्गत प्रदेशका नौवटै जिल्लाका २६ स्थानमा कोणसभाको आयोजना गरिनेछ। कार्यतालिकाअनुसार भोलि अत्तरिया, कञ्चनपुरको झलारी, महेन्द्रनगरमा पनि कोणसभा हुने उक्त पार्टीले जनाएको छ। जेठ ३ गते कञ्चनपुरको आईबीआरडी, बेलौरी, बेल्डाँडी, जेठ ४ गते कैलाली फूलबारी र धनगढीको पार्कमोडमा कोणसभा गरिनेछ।
त्यसैगरी, जेठ ५ गते डडेल्धुराको अमरगढी, पोखरा, बैतडीको खोड्पे, ६ गते बैतडीको पाटन र गोठलापानी, ७ गते गोकुले, दार्चुलाको खलंगा, ९ गते बझाङ सदरमुकाम चैनपुर, १० गते डोटीको दिपायल, सिलगढी र साफे, ११ गते बाजुराको मार्तडी, अछाम सदरमुकाम मंगलसेन तथा १२ गते अछामको कमल बजार र बिनायकमा कोणसभा गरिने उक्त पार्टीले जानकारी गराएको छ।