काठमाडौँ – २०७२ वैशाख १२ गतेअघिसम्म केसर पुस्तकालयमा दैनिक दुई सयको हाराहारीमा पाठकको उपस्थिति हुन्थ्यो। कतिपय पाठक गम्भीर प्रकृतिका पुस्तक पढ्न पुग्थे, कतिपय पुराना इतिहासका पुस्तक पल्टाउँथे भने कतिपय राणाहरुले संग्रह गरेका बस्तु, चित्र हेरेर दंग हुन्थे।
कोही दैनिक पत्रपत्रिका पढ्न पुस्तकालय सधैँ आउने गर्थे। पुस्तकालयमा घुमेर मज्जा लिन आउनेको संख्या पनि धेरै हुन्थ्यो। तर २०७२ सालको भूकम्पपछि फाट्ट–फुट्टबाहेक पाठकको त्यति बाक्लो उपस्थिति केसर पुस्तकालयमा छैन।
२०७२ सालको महाभूकम्पले एक शताब्दीभन्दा पुरानो भवनलाई हल्लाएर जीर्ण बनाएपछि केसर पुस्तकालयमा पाठकको खडेरी लागेको हो। १ सय २४ वर्ष पुरानो केसर भवन, पुस्तकालयमा परिणत भएको १ सय १२ वर्ष भयो। केसर पुस्तकालय जति पुरानो भयो, त्यति नै छायाँमा पर्दै गयो।
केसर पुस्तकालयमा थुप्रै ऐतिहासिक र पुरातात्विक सामग्री छन्। राणाहरुले शिकार गरेका वन्यजन्तुका टाउका, एक हजार वर्षभन्दा पुराना हस्तलिखित ग्रन्थ, दुर्लभ पेन्टिङ र राणा शासनको वैभव देखाउने हजारौँ फोटोहरु पुस्तकालयमा संग्रहित छन्। राणा प्रधानमन्त्री चन्द्र समशेरका साहिँला छोरा केसर समशेरले स्थापना गरेको केसर पुस्तकालय अहिले खुम्चिएर दुई–तीन कोठामा सञ्चालनमा रहेको छ।
पुस्तकालयको इतिहास
चन्द्र समशेर १९५८ देखि १९८६ सालसम्म २९ वर्ष नेपालका प्रधानमन्त्री भए। राणा शासनका पाँचौ श्री ३ महाराज चन्द्र समशेर नेपालका १३ औं प्रधानमन्त्री थिए।

सतिप्रथा तथा दासप्रथा उन्मुलन, त्रिचन्द्र कलेजको स्थापना, फर्पिङ जलविद्युत आयोजनाको शुरुआत, नेपालमा पहिलो जनगणनाजस्ता काम उनको शासनकालमा भएका कारण उनलाई उदारवादी पनि भन्ने गरेको पाइन्छ। उनका छोरा केसर समशेर पनि शिक्षामा धेरै चासो दिन्थे।
केसर समशेर १५ र १६ वर्षको हुँदा बाबु चन्द्र समशेरसँग बेलायत गएका थिए। बेलायतको पुस्तकालय र पठन संस्कृति विश्वप्रसिद्ध थियो। जब केसर समशेरले त्यहाँ ठूला–ठूला पुस्तकालय देखे, पुस्तक कसरी व्यवस्थित गरिन्छ भन्ने थाहा पाए, उनले बाबुलाई नेपालमा पनि पुस्तकालय खोल्न आग्रह गरे।

उनी आफैँ पनि पुस्तक संग्रहमा रुचि राख्थे भनिन्छ। उनले बेलायतबाट प्रशस्त पुस्तक ल्याए र आफ्नै महलमा पुस्तकालय बनाए। यद्यपि यो राणा खानदानका लागि मात्रै थियो। केसर पुस्तकालय उनको व्यक्तिगत सम्पत्ति भएकाले उनको परिवारका सदस्यले मात्र त्यहाँ पढ्ने मौका पाउँथे। राणाहरुले आफ्नो रहर पूरा गर्न केसर पुस्तकालय खोले पनि पछि यो राष्ट्रिय सम्पत्ति बन्यो।

केसर समशेरको २०२१ सालमा निधन भयो। मृत्युपूर्व उनले आफ्नो निजी पुस्तकालय राज्यलाई हस्तान्तरण गर्ने इच्छा व्यक्त गरेका थिए। उनकी श्रीमती कृष्णचन्द्रदेवी राणाले केसर पुस्तकालय, केसर महल, स्वप्न बगैँचा र यसले ओगटेको झण्डै ३२ रोपनी जग्गा सरकारलाई हस्तान्तरण गरिन्। शिक्षा मन्त्रालयअन्तर्गत रहेर यो पुस्तकालय सञ्चालनमा आयो। पुस्तकालय सर्वसाधारणका लागि खुल्ला गरिएपछि त्यहाँ सबै पाठकहरुले अवलोकन र अध्ययन गर्ने मौका पाए।

सरकारलाई हस्तान्तरण गर्दा केसर पुस्तकालयमा झण्डै २८ हजार पुस्तक, पत्रपत्रिका, हस्तलिखित ग्रन्थ र ऐतिहासिक र पुरातात्विक महत्वका सामग्री भएको केसर पुस्तकालय प्रमुख दशरथ मिश्र बताउँछन्। अहिले पुस्तकालयमा थुप्रै पुस्तकहरु थपिएका छन्। यस वर्ष ६ लाख रुपैयाँको पुस्तक किनिएको मिश्रले जनाकारी दिए।

सरकारले वर्षैपिच्छे पुस्तकालयलाई छुट्याएको बजेटबाट नयाँ पुस्तकहरु किन्ने गरेको केसर पुस्तकालयका प्रमुख दशरथ मिश्र बताउँछन्। ‘बजेट अनुसार नयाँ पुस्तक पनि किन्छौं’, मिश्र भन्छन्, ‘पाठकले मागेको, पुस्तकालयमा नभएको किताब पनि पाठकका लागि किनिदिन्छौँ। प्रत्येक नेपाली लेखकका पुस्तक पनि किन्ने गरेका छौं।’

विश्व सम्पदा सूचीमा सूचीकृत कयौँ सामग्री केसर पुस्तकालयमा छन्। कतिपय पाठ्य सामाग्रीहरु बिग्रिसकेका पनि छन्। पुस्तकालयमा विश्वसाहित्य, विश्वइतिहास, दर्शनशास्त्र, धर्म तथा अध्यात्म, विज्ञान तथा प्रविधि, चिकित्सा, शिकारकला, खेलकुदलगायत अनेक विषयका हजारौँ किताब रहेको मिश्र बताउँछन्। तीबाहेक राणा शासनको इतिहास बुझाउने कयौँ सामान पनि पुस्तकालयमा रहेका छन्।
अझै भएन पुनर्निर्माण
२०७२ सालको भूकम्पपछि बिग्रिएको केसर पुस्तकालय अहिलेसम्म पुनर्निर्माण भएको छैन। भूकम्पअघि केसर महलको पहिलो र दोस्रो तल्लामा सञ्चालनमा रहेको पुस्तकालय अहिले तीनवटा कोठामा साँघुरिएको छ।

केसर पुस्तकालय रहेको भवन भूकम्पमा चर्कियो। भवनमा पहेँले स्टिकर टाँसिएको छ। तर अझै पनि त्यही भवनको भुइँ तलामा पुस्तकालय सञ्चालन भइरहेको छ।

सय वर्षभन्दा पुरानो भवन केसर महल पुरातत्व विभागअन्तर्गत निर्माण हुने भएकाले निर्माणमा ढिलाई भएको प्रमुख मिश्रले बताए। उनले भवन निर्माणको काम राष्ट्रिय पुनर्निर्माणले गर्ने भएकाले ढिलासुस्ती भइरहेको जानकारी दिए। अहिले भवन रेट्रोफिटिङ गर्न पुस्तकालय सार्ने तयारी भइरहेको छ। केसर महलकै छेउमा एउटा भवन निर्माण सम्पन्न हुँदैछ। पुस्तकालय त्यहीँ भवनमा सारेर केसर महललाई रेट्रोफिटिङ गर्ने तयारी राष्ट्रिय पुनर्निर्माण प्राधिरकणले गरेको छ। नयाँ बनेको भवन जेठ १५ गते हस्तान्तरण हुने मिश्रले जानकारी दिए।

पुस्तकालय नयाँ भवनमा सारेपछि अहिले पुस्तक रहेको केसर महलमा ‘रेट्रोफिटिङ’ को काम हुनेछ। त्यसपछि त्यही महलमा पुस्तकालय सर्ने छ।
आउँदैनन् धेरै पाठक
इतिहासका धेरै पुस्तकहरुको संरक्षण रहेको केसर पुस्तकालयमा अहिले पनि केही नगन्य पाठक मात्रै आउने गरेका छन्। त्यो पनि बढी त ‘कोर्ष बुक’ पढ्ने विद्यार्थी।

२०७२ सालको भूकम्पपछि पुस्तकालय यसरी नै सञ्चालन भइरहेको छ। भूकम्पअघि विदेशीहरुको समेत उलेख्य उपस्थिती हुने केसर पुस्तकालयमा अहिले प्रायः विद्यार्थीहरु मात्रै पुग्ने गर्छन्।

पुस्तकालयका पुस्तक पढ्न भने फाट्ट–फुट्ट मात्रै पाठक पुग्ने गरेका छन्। त्यसो त पुस्तकालयभित्र पुस्तक पढ्ने ठाउँ पनि दुईवटा कोठामा मात्रै खुम्चिएको छ। दुईवटा कोठाको ठाउँ पनि प्रायः पुस्तकले भरिएको छ। पुराना इतिहासका लेखहरु समेत रहेको पुस्तकालयमा भूकम्पपछि त्यस्ता लेखहरु धेरै नै नष्ट भएको पुस्तकालय प्रमुख मिश्र बताउँछन्।

‘२०५४ सालदेखि गर्ने भनिएको डाटा इन्ट्रीको काम अहिले भएको छ’, पुस्तकालयका प्रमुख मिश्र भन्छन्, ‘पुराना च्यातिएका पुस्तकको संरक्षण गर्ने काम भइरहेको छ।’ राष्ट्रिय पुस्तकालयभन्दा आफूहरुले केसर पुस्तकालय व्यवस्थित बनाएको उनको दाबी छ।

पुस्तकबाहेक केसर पुस्तकालयमा रहेका अन्य संग्रहित सामग्रीहरु उपयोगविहीन छन्। पुस्तकालयमा राणाहरुको तस्बिर, बाघ, हरिण, जरायो, अर्नालगायतका आकृति रहेका छन्। तर ती सबै सामाग्री उपयोगविहीन छन्। पुस्तकालयमा पुग्ने सबैले त्यस्ता संग्रहित सामग्रीहरु अहिले हेर्न पाउँदैनन्। भूकम्पपछि ती सामग्रीहरु जहाँको त्यही भएकाले हेर्न नमिलेको मिश्र बताउँछन्। ती संग्रहित सामग्रीको मर्मत सम्भार पनि भएको छैन।
पत्रिका पढ्न आउने धेरै हुन्छन्
पुस्तकालयमा थुप्रै पुराना र नयाँ पुस्तकहरु रहेका छन्। तर प्रायः पुस्तकालयमा दैनिक पत्रिका पढ्नेहरु धेरै आउने गरेका छन्। पहिलाको तुलनामा केसर पुस्तकालयभित्रका पुस्तक पढ्न आउने पाठक कमै रहेको मिश्र बताउँछन्।

‘भूकम्पपछि पाठक बसेर पढ्ने ठाउँ साँघुरो भएको छ। दैनिक पत्रिका पढ्न आउने त धेरै हुन्छन्’, मिश्र भन्छन्, ‘तर पुस्तक पढ्न आउने धेरै हुँदैनन्। धेरै आए भने बस्ने ठाउँ हुँदैन। बस्ने ठाउँ नहुँदा कहिलेकाहीँ पढ्न आएका पाठकलाई मेरै कोठमा बसेर पढ्न अनुरोध गर्छु।’
पुस्तकालयमा कर्मचारीको पनि अभाव रहेको पुस्तकालयमा प्रमुख मिश्रले जानकारी दिए। ‘यो ठाउँ कर्मचारीको रोजाईमा नपर्ने ठाउँ हो’, मिश्र भन्छन्, ‘यहाँबाट चाहीँ कर्मचारी सकभर चाँडै जान चाहन्छन् तर हत्तपत्त आउन चाहँदैनन्।’ अहिले पुस्तकालयमा सात जना कर्मचारी अभाव रहेको छ।