भरतपुर – गर्मीयाममा बच्चा कोरल्न नेपाल आउने चराको सङ्ख्या वृद्धि भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका सामुदायिक वनमा गरिएको गणना र अवलोकनबाट चराको सङ्ख्या बढेको पाइएको हो।
चैतदेखि नेपालमा भारत, श्रीलङ्का र दक्षिणपूर्वी एसियाका देशबाट चरा अण्डा पार्न र बच्चा कोरल्न नेपाल आउने गरेको वर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए। ‘चैतदेखि भदौभित्रको अवधिमा चरा यहाँ आउँछन्,” बिडारीले भने, “बच्चा जन्माइसकेपछि पुरानै बासस्थानमा फर्कन्छन्।”
चराले बच्चा कोरल्ने र हुर्काउने अवधि डेढदेखि २ महिनासम्मको हुन्छ। अहिले आउने चराले घाँसेमैदान र रूखमा गुँड पार्ने गरेको बिडारीले जानकारी दिए। चराले गतवर्ष जुन ठाउँमा गुँड लगाएका थिए, यस वर्ष पनि सोही ठाउँमा गुँड लगाउने गरेको उनले बताए। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा चराको गुँड बढी देखिएको छ।
“यो याममा चितवनसहित पर्सा र बर्दिया राष्ट्रिय निकुञ्जका साथै तराईका वनमा चरा गुँड पार्न आउने गरेका छन्,” उनले भने, “नेपालमा सबैभन्दा धेरै चरा चितवन राष्ट्रिय निकुञ्जमा आउने गर्छन्।” यो याममा आउने चराको गणना चितवनमा मात्रै गरिन्छ। वर्ड एजुकेसन सोसाइटी, हिमालयन नेचर, नेपाल पक्षीविद् सङ्घ र चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा विगत ५ वर्षदेखि चरा गणना गर्न थालिएको उनले बताए।
“नेपालमा चराको सङ्ख्या कहिले बढ्ने र कहिले घट्ने हुन्छ, चराविद् डा. हेमसागर बरालले भने, “चराको बासस्थान र आहारामा ध्यान पुर्याउने आवश्यकता छ।” कोइली, पिट्टा, लालठुँडे, ठेउवा, मुरली, सुनचरीलगायत प्रजातिका चरा यो याममा नेपाल आउने गरेको उनले बताए।
“हिउँदमा गुँड र आहारा खुम्चिएको क्षेत्र गर्मीयाममा बढ्छ,” उनले भने, “आफ्नो सन्तान हुर्काउन उचित स्थान खोज्दा चराबीच द्वन्द्व हुने समय पनि हो।” प्रायः चरा वनमा आश्रित हुने भएका कारण कीरा फट्याङ्ग्रा र फलफूल खाएर बाँच्छन्।
पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो विषादी प्रयोगका कारण पनि कीरा फट्याङ्ग्राको सङ्ख्या कम हुँदा चरालाई आहाराको समस्या हुने गरेको बरालको भनाइ छ। जथाभावी विषादी प्रयोगले चराको बासस्थान सङ्कटमा पर्दै गएको हो।
“विषादी प्रयोग बढेसँगै चराको बासस्थान सङ्कटमा पर्दै गएको छ,” बरालले भने, “त्यसैले बासस्थान जोगाउन ध्यान दिनुपर्छ।” विषादी प्रयोगले अण्डा चाँडै फुट्ने र प्रजननमा समस्या हुने गरेको छ। विभिन्न देशका पर्यटक चरा हेर्नकै लागि समय छुट्याएर नेपाल आउने गर्छन्।
नेपालमा अहिलेसम्म अभिलेख भएका ८ सय ८७ प्रजातिका चरा छन्। त्यसमध्ये ८ प्रचातिका चरा लोप भएको चराविज्ञको अनुमान छ। नेपालमा मात्रै पाइने प्रजातिको चरा काँडेभ्याकुर हो। (रासस)