काठमाडाैं – साना हतियार अहिले नेपाल प्रहरीका लागि चिन्ताको विषय बनेको छ। राजधानीदेखि विभिन्न जिल्लामा साना हतियारको प्रयोगले सयौँ अपराध निम्ताएको छ। त्यसमा पनि भारतीय सीमासँग जोडिएका जिल्लामा छ्यापछ्याप्ती पाइने साना हतियार र यसको किनबेचले झनै सुरक्षा चुनौति बढाईरहेको छ।
मिति २०७५ पुस १६ मा अमृत साइन्स क्याम्पसका विद्यार्थी भोजराज खड्काको कोठाबाट कटुवा पेस्तोल बरामद भयो। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले खड्काको लैनचौरस्थित कोठाबाट कटुवा पेस्तोल बरामद गरेको हो।
मिति २०७५ पुस १४ मा महानगरीय प्रहरी परिसर काठमाडौंले एक थान चिनियाँ पेस्तोलसहित तीनजनालाई पक्राउ गर्यो। र, अर्को दिन अर्थात पुस १५ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्यो। पक्राउ पर्नेमा अर्जुनप्रसाद अधिकारी, केदारप्रसाद अधिकारी र अञ्जन उप्रेती थिए।
गएको एक महिनामा राजधानीमै प्रहरीले तीन वटा साना हतियार बरामद गरेपछि शान्ति सुरक्षामा मात्रै होइन, साना हतियारको किनवेच र यसले निम्त्याउने अपराधमाथि सोच्ने ठाउँ दियो। त्यसो साना हतियारको समस्या काठमाडौंमा मात्र छैन, देशभरकै हो। त्यसमा पनि भारतसँग सीमाक्षेत्र जोडिएका जिल्लामा समस्या थप जटिल छ।
मंसिरमा प्रहरीले विराटनगरबाट दुई हतियारसहित चारजनालाई नियन्त्रणमा लियो। मेड इन युएसए लेखेको पेस्तोल र केही गोलीसहित प्रहरीले चार जना भरियालाई नियन्त्रणमा लिएको हो।
प्रदेश १ मा १२ वटा अबैध हतियारसहित १५ जना विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता सिद्धराज न्यौपानेले बताए।
पछिल्लाे तथ्याङ्कअनुसार प्रदेस नम्बर २ मा २३ वटा अवैध हतियारसहित ४३ जना पक्राउ परेका छन्। माघसम्मै ३ जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। प्रदेश २ को प्रदेश प्रहरी अनुसार प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सा, सर्लाही र धनुषामा हत्याका भएको हो। हतियार धेरै संख्यामा बरामद भएपनि हतियारको प्रयोग भने नबढेको प्रदेस प्रहरी कार्यालयको दाबी छ।
नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले संसदको समितिमा गएर चालू आर्थिक बर्षमा एक सय ५२ वटा साना हतियार बरामद भएको तथ्याङ्क बुझाएका थिए। विना लाइसेन्स जथाभावी किनवेच हुने साना हतियारको तथ्याङ्क जति चिन्ताजनक छ, त्यत्तिकै चिन्ताको विषय यस्ता हतियारको प्रयोगले बढाएको अपराध छ।
उदाहरणका लागि मंसिर ५ गते सुनसरीमा इट्टा उद्योगका म्यानेजर मोहम्मद हुसेनको हत्या साना हतियारकै प्रयोग गरेर भयो। अपरिचित ब्यक्तिले पेस्तोलबाट गोली हानी हुसेनको हत्या गरे। घटनाका दोषी अझै नियन्त्रणमा आएका छैनन्।
केही महिनाअघि लहान नगरपालिका–५ की रानी सेखको घरमा नगद ४ लाख ३० हजार तथा सुनको गहनासहित करिब पाँच लाखको धनमाल चोरी भयो। यो चोरीमा घरमा काम गर्दै आएकी ३० वर्षीया गिता मुसहरलाई प्रहरीले पक्राउ गर्यो। गीताले सानो हतियार प्रयोग गरेर चोरी गरेको भेटियो।
त्रासको अवस्था
तराईमा पछिल्लो समय हत्याका घटना बढ्दै गएपछि स्थानीय त्रसित छन्। कसलाई कतिखेर कस्ले कहाँ मार्ने हो भन्ने मनमा डर पसेको पर्सा निवासी मोहम्मद फकिरुद्दिनको धारणा छ। बिहान घरबाट निस्किदा साँझसम्म सकुसल घर फर्किन्छ कि फर्किदैन भन्ने सधै चिन्ता लाग्ने गरेको उनी बताउँछन्।
तराईमा छ्यापछ्याप्ती हतियार प्रयोगमा आउन थालेको उनी बताउँछन्। उनका अनुसार सानो वादविवाद हुँदा पनि हतियार देखाएर धम्काउने प्रवृति बढ्दै गएको छ। धनुषाका हदिस खुद्दारको उस्तै भनाई छ। प्रहरीको सक्रियतामा कमी आएकोले हतियारको प्रयोग बढ्न थालेको उनी बताउँछन्।
खुला सिमाका कारण हतियार भित्रिन थालेपछि सीमासहित देशका बिभिन्न ठाउँमा हत्याका घटनाहरु भइरहेको सुरक्षाविद्को बुझाइ छ। कमजोर सुरक्षा व्यवस्थापनका कारण पछिल्लो समय तराईमा सुरक्षामा चुनौती थपिदै गएको सुरक्षाविद् उमेश भट्टराई बताउँछन्। उनका अनुसार यसको अर्को मुख्य कारण खुला सीमा पनि हो। जसको कारणले सजिलै भारतबाट नेपालमा अबैध हतियार भित्रिने गरेको छ।
नेपाल प्रहरी भने सुरक्षा चुनौती नबढेको दाबी गर्छ। प्रदेस नम्बर ५ का प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारी साना हतियारकै कारण अपराध बढेको तर्कसँग सहमत छैनन्। ‘केही छिटपुट अपराधका घटना चाहिँ भएका छन्’ उनी भन्छन्, ‘तथ्याङक हेर्ने हो भने अपराधको संख्या स्थिर छ।’ साना हतियारको प्रयोगबाट पनि बन्यजन्तुको शिकार लगायतका घटना हुने गरेका बताउदै उनी थप्छन्, ‘त्यसको नियन्त्रणका लागि हामी लागिरहेका छौँ।
प्रदेश २ का प्रहरी प्रमुख हरिबहादुर पालले प्रहरी सक्रियता बढेकोले हतियार बढी बरामद हुन थालेको तर्क दिन्छन् । भारतमा सजिलो पहुँच र खुल्ला सीमाका कारण तराईमा साना हतियारको बढी प्रयोग हुने गरेकोे उनको धारणा छ।
त्यसैले साना हतियारले अपराध र सुरक्षा चुनौति जन्माउने प्रहरीलाई पनि लागेको छ। तुलनात्मक रुपमा तराईमा साना हतियारको प्रयोग बढी छ। आखिर तराई किन साना हतियारको ट्रान्जिट बन्दैछ ? साना हतियार भएपनि यसले जन्माउने सुरक्षा चुनौति र अपराध ठूलै हुन्छ।