बुटवल– सीमा क्षेत्र धेरै कोणबाट संवेदनशील मानिन्छ। सुरक्षाको कोणबाट मात्र हेर्ने हो भने नेपाल–भारत खुल्ला सीमा आफैंमा एउटा चुनौती हो। भौगोलिक रुपमा सहज भारतसँग सीमा जोडिएका क्षेत्रहरुमा सुरक्षा सतर्कता सधैं उच्च नै राख्नुपर्ने हुन्छ। एकअर्काको भूमिलाई ‘सेल्टर’ बनाएर आपराधिक गतिविधी गर्ने प्रवृत्ति सुरक्षा निकायको टाउको दुखाई बन्दै आएको छ। त्यसमाथि स्थानीय रुपमा देखिने सुरक्षा चुनौती त छदैंछ। यिनै बिषयमा आधारित रहेर प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारीसँग नेपाली पब्लिकका सुरज खनालले गरेको कुराकानीः
अहिले सीमा क्षेत्रमा सुरक्षा चुनौती बढिरहेको हो?
– अहिले बढेको पहिले कम थियो भन्ने चाहिँ हैन। यसअघि पनि पहिले पनि यस्ता घटना हुने नै गरेका थिए। खुल्ला सीमानाका कारण यस्ता घटना हुने नै भए। त्यसैले सीमामा कहिलेकाहीँ यस्ता घटना भइरहन्छन्।
पहिल्लो समय चौकीमाथि नै आक्रमणका प्रयास पनि भए नि?
– त्यो घटना भएका दिन त्यो गाउँमा हाट बजार लागेका थियो। त्यसकारण त्यहाँ धेरै मानिस आएका थिए। एकजनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको थियो। त्यसमा पक्राउ परेका व्यक्तिका आफन्तलगायतले चासो राख्दै गएपछि प्रहरीसँग मुठभेडको अवस्था सिर्जना भएको हो।
प्रहरी चौकीमाथिको आक्रमणलाई जनताको आक्रोसको रुपमा लिने कि अपराधिक गतिविधिको रुपमा?
– यो त अपराधिक गतिविधि नै हो नि। लागूऔषधसहित पक्राउ परेको व्यक्तिलाई जवरजस्ती, प्रहरीलाई नै आक्रमण गरेर छुटाउन खोज्नु अपराधिक कार्य हो। त्यसमा हामीले बल प्रयोग गरेका हौँ।
भारतमा अपराध गरेर नेपाल आउने वा भारतबाट आएर नेपालमा अपराध गर्ने प्रवृत्ति कत्तिको छ अहिले?
– सिमावर्ती क्षेत्रमा भारतमा अपराध गरेर नेपाल आउने मात्रै हैन, नेपालमा अपराध गरेर भारत जाने प्रवृत्ति बराबर छ। त्यसको नियन्त्रणका लागि भारत र नेपालका सुरक्षा निकायबीच राम्रो समन्वय छ।
सीमामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले के योजना कार्यान्वयनमा ल्याएको छ?
– सीमामा निगरानी बढाएका छौँ। सीमामा तस्करी, लागूऔषध कारोवार, हातहतियार ओसारपोसार, मानव बेचविखनका अपराध बढी हुने गरेका छन्। यि अपराधिक गतिविधि नियन्त्रण गर्नमा हामी बढी केन्द्रित छौँ। त्यसले ति अपराधिक गतिविधि नियन्त्रणमा सहयोग गर्छ।
साना किसिमका हतियार प्रयोग गरि ठूला अपराधिक कार्यहरु भइरहेका छन्। यसको नियन्त्रणमा कसरी लागि रहनुभएको छ?
– साना हतियारकै कारण अपराध बढेको हैन। केही छिटपुट अपराधका घटना चाहिँ भएका छन्। तथ्याङक हेर्ने हो भने अपराधको संख्या स्थिर छ। तर, सीमा क्षेत्रमा त्यसको प्रयोग बढी भएको छ। त्यो नेपाल र भारत दुबै देशका सीमा क्षेत्रमा छ। गाउँगाउँतिर पनि साना भरुवा बन्दुक लगायतका हतियार अझै छन्। ति हतियारको प्रयोगबाट पनि बन्यजन्तुको शिकार लगायतका घटना हुने गरेका छन्। त्यसको नियन्त्रणका लागि हामी लागिरहेका छौँ।