काठमाडौँ – सोलुखुम्बुका विजय वनले थाइल्याण्ड अध्ययन गर्ने ‘अफर लेटर’ पाए। उनी बैंककमा ‘डिप्लोमा इन फुड’ कोर्ष गर्न जाने तयारीमा छन्। त्यसका लागि उनले भिसालगायतका अन्य प्रकृया पनि सुरु गरे। वैदेशिक अध्ययनका लागि जानुअघि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने हुन्छ।
दुईसाता अघि विजय केशरमहलस्थित शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा एनओसी लिन पुगे। पहिलो दिन उनलाई आवश्यक कागजात नपुगेको भन्दै कार्यालयका कर्मचारीले फर्काइदिए।
कर्मचारीले मागेकै कागजात लिएर उनी दोस्रो दिन पनि एनओसी लिन त्यहा पुगे। तेस्रो दिन पनि उनलाई आवश्यक कागजपत्र नमिलेको भन्दै कर्मचारीहरुले फर्काइदिए। कर्मचारीले उनलाई थाइ भाषाको ‘अफर लेटर’ लिएर आउन भने। चौथो दिन उनले त्यही गरे। तर फेरि झन्झट बेहोर्नुपर्यो। कर्मचारीले उनलाई पढ्ने कलेजको ‘वेभसाइट’ नै नभएको भन्दै अर्को दिन आउन भने।
‘कहिले यो कागजपत्र मिलेन भन्नुहुन्छ, कहिले त्यो मिलेन भन्नुहुन्छ’, विजय भन्छन, ‘भनेको जति सबै कागजात लिएर आयो। बिहानदेखि बेलुकासम्म लाइन बस्यो। फेरि कलेजको वेबसाइट मिलेन भन्छन। मिटिङ बसौं भन्छन्। आ–आफ्ना कुरा गर्छन। दश दिन भयो । काम नै बनेन।’
सामान्यतयाः एनओसी लिन पढ्ने कलेज वा विश्वविद्यालयको ‘अफर लेटर’, एसएलसीको मार्कसिट, प्लस–टूको ट्रान्सक्रिप्ट, नागरिकता, राहदानी आवश्यक पर्छ। अंग्रेजी बाहेक अन्य भाषा बोलिने देश जानका लागि त्यो देशको भाषाको ‘अफर लेटर’ पनि आवश्यक पर्छ। तर ती सबै ‘डकुमेन्ट’ उपलब्ध गराउँदा विजयले वैदेशिक अध्ययन अनुमतिपत्र प्राप्त गर्न सकेनन्।
उनी एघारौं दिन पनि वैदेशिक अध्ययन अनुमतिपत्र लिन बिहानदेखि बेलुकासम्म लाइनमा बसे। ‘कर्मचारीले दुई पटक बैठक बसाले। बैठकमा कर्मचारीबीच नै व्यक्तिगत कुराकानी भयो। मेरो बारेमा खासै कुराकानी भएन’, विजय भन्छन्।
गएको बिहीबार साढे पाँच बजेपछि उनलाई फेरि कर्मचारीले आवश्यक कागजात अझै पुगेन भनेर फर्काइदिए। तर के कागजात पुगेन भन्ने खुलाएनन्। ‘६ दिनपछि आउनू भनेर फर्काएका छन्’, विजय भन्छन्, ‘खै के मिलेन। डकुमेन्ट मिलेन मात्रै भने।’
विजयजस्ता धेरै विद्यार्थीले एनओसी लिँदा दुःख ब्यहोर्नुपरेको छ। ‘यस्तो ढिलासुस्ती त सधैँ हुन्छ’, वैदेशिक अध्ययन अनुमतिपत्र लिने ठाउँमा भेटिएका शैक्षिक परामर्श व्यवसायी रमेश खड्का भन्छन्, ‘अगाडि एनओसी दिएको ठाउँमा अहिले दिन कर्मचारीले विद्यार्थीलाई दुःख दिइरहेका छन्।’ खड्काका अनुसार उनले विजय जान लागेकै कलेजमा अन्य विद्यार्थी पनि पठाएका छन्।
एनओसी प्रदान गर्ने शाखामा भेटिएका उप–सचिव देवीप्रसाद उपाध्याय भन्छन, ‘भाषालगायत अन्य विषयबस्तु ‘भेरिफिकेसन’ गर्दा समय लागेको हुनसक्छ। दिनभर कामको चाप हुने भएकाले पनि केही कमजोरी भएको हुनसक्छ।’
उनका अनुसार शाखामा काम गर्ने कर्मचारीको संङ्ख्या थोरै भएकोले थप समस्या आएको हो। ‘विद्यार्थी बाहिर गइसकेपछि थप समस्या नपरोस् भनेर हामीले त्यसरी काम गरिरहेका हुन्छौं’, उप–सचिव उपाध्यायले भने। उनले परामर्श व्यवसायीका कारण पनि विद्यार्थीले दुःख पाएको बताए।
अहिले दैनिक दुई–तीन सयको हाराहारीमा विद्यार्थीहरु एनओसी लिन आइरहेका हुन्छन। प्रायः विद्यार्थीहरु दिनभर लाइनमा बसेर बेलुका काम पूरा नभई पनि फर्कनुपरेको बताउँछन्।
अध्ययन ‘इक्युभ्यालेन्ट’ गर्न समस्या
शाखाका कर्मचारीका अनुसार विद्यार्थीको पढाईको ‘इक्युभ्यालेन्ट’ गर्न समस्या भएका कारण वैदेशिक अध्ययन अनुमतिपत्र दिन ढिलाई हुने गरेको छ। प्लस टूभन्दा तलको तहको अध्ययन पाठ्यक्रम विकास केन्द्रले ‘इक्यूभ्यालेन्ट’ गर्छ। तर विश्वविद्यालय तहको अध्ययनको ‘इक्युभ्यालेन्ट’ भने त्रिभुवन विश्वविद्यालयले गर्छ। ‘कतिपय विद्यार्थी भारतमा पढेको सर्टिफिकेट लिएर आउनुहुन्छ’, शाखाका उप–सचिव उपाध्याय भन्छन, ‘सर्टिफिकेट एउटा फ्याकल्टिको, विदेश अध्ययन गर्न जाने अर्को फ्याकल्टिको हुँदा पनि समस्या भएको छ।’
तर कर्मचारीले भनेअनुसारकै कागजपत्र लिएर आउँदा पनि भनेको समयमा काम नभएको सेवाग्राहीको गुनासो छ। कतिपय ठाउँमा परामर्श व्यवसायीको प्रभावमा वैदेशिक अध्ययन अनुमतिपत्र दिने र कतिपय सेवाग्राहीलाई झुलाइदिने प्रवृति कर्मचारीको रहेको सेवाग्राहीको गुनासो छ। तर कर्मचारी भने भाषालगायत पढ्न जान लागेको ठाउँको पूर्ण जानकारी नहुँदा शंका गर्नुपर्ने ठाउँ भएको र सजिलै वैदेशिक अध्ययन अनुमतिपत्र नदिएको बताउँछन्।