काठमाडौँ, २७ पुस। नेपाली चलचित्र ‘अनागत’को प्रदर्शन माघ ११ गतेबाट हुँदैछ। ‘अनागत’मा श्रीमान्–श्रीमतीबीच अविश्वासका कारण उत्पन्न शङ्काले परिवारमा हुने द्वन्द्वको कथालाई प्रस्तुत गरिएको छ।
उक्त चलचित्र छायाङ्कन भएको करिब ३ वर्षपछि मात्र हलमा ‘रिलिज’ हुन लागेको छ। निर्देशक साम्तेनको चलचित्र रिलिजमा प्रायः यस्तै समस्या देखिने गरेको छ।
चलचित्रमा नायक अर्पण थापा र नायिका प्रियङ्का कार्की श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन्। साम्तेन भुटियाको निर्देशनमा उक्त चलचित्र तयार भएको हो। चलचित्रलाई सस्पेन्स–थ्रिलर कथामा तयार पारिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । चलचित्रमा नायिक कार्की, नायक थापा, प्रवीण खतिवडा, रोसिन सुवेदी लगायतको अभिनय रहेको छ।
उक्त चलचित्रमा साम्तेन भुटिया र प्रवचन श्रेष्ठको पटकथा, मिसन बानियाँको छायाङ्कन र चन्द्रकुमार झाको कथा रहेको छ। चलचित्रमा नायक थापाले एउटा सन्तुलित आर्टिष्ट असन्तुलित भएपछि आउने समस्यालाई चित्रण गरिएको बताए। त्यस्तै नायिका कार्कीलाई भने दर्शकले गृहिणीको भूमिकामा देख्न पाउने छन्।