काठमाडौँ, २७ पुस- दशैँलगत्तै सिक्किमको राबाङ र त्यसपछि देशका प्रमुख चारवटा शहरको ‘नेपाल यात्रा’ गरेपछि चर्चित साङ्गीतिक ब्याण्ड नेपथ्यले अब पुर्वमा प्रस्तुति दिने भएकाे छ।
नेपथ्यलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार अंग्रेजी नयाँ वर्षपछिकाे पहिलाे नेपथ्यकाे प्रस्तुति माघ २ गते फिदिममा हुन लागेकाे हाे। ब्याण्डले माघ २ गते फिदिम उच्च माविको खेल मैदानमा लोक रक तथा अन्य सिर्जना प्रस्तुत गर्नेछ।
नेपथ्यलाई अन्य विभिन्न शहरबाट कन्सर्टका लागि प्रस्ताव आएको थियो। तर यस ब्याण्डले प्रस्तुति नगरेको शहर भएकै कारण फिदिमलाई प्रथामिकता दिएको श्रेष्ठले बताए।
ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘केही वर्षअघि इलामको फिक्कल पुग्दा त्यहाँका दर्शकले देखाएको आत्मीयता मैले अझै भुलेको छैन, ठूला व्यावसायिक आयोजनाहरूको आफ्नै महत्व छन्, तर म भने साना शहरका श्रोताहरूका माझमा अझ बढी रमाइलाे महशुस गर्छु।’