सिन्धुपाल्चोक– यही जेठ १ गतेदेखि सिन्धुपाल्चोकको जुगल गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठको नेतृत्वमा पैदल यात्रा गर्दै जुगल हिमालको आधार शिविर नजीकै वडा नं ३ पेमासाल पुगेको गाउँ कार्यपालिकाको टोलीले जेठ ४ गते बैठक बसी पेमासाल घोषणापत्र जारी गरेको छ। हिमाल आरोहण, पदयात्रा र उत्कृष्ट प्राकृतिक छटाका लागि प्रसिद्ध यस भेकलाई पर्यटनका निम्ति खुला र पूर्वाधारयुक्त बनाउन गाउँपालिकाको बैठकले लामो यात्रा तय गरेको हो।
टोलीमा ख्यातिप्राप्त साहित्यकार, पत्रकार र गाउँपालिकाका विभिन्न क्षेत्र र तहका कर्मचारी पनि समावेश गरिएका थिए। घोषणापत्रले जुगल गाउँपालिकाको अगुवाइमा २०७५ चैत २६ गते जुगल हिमालको सफल आरोहण भएपछि यस क्षेत्रको बृहत्तर विकासका लागि संरक्षण, सम्बर्ध्दन र प्रबर्द्धनात्मक कार्य गरिनु जरुरी भएको ठहर गरेको छ।
ने–पेमासल क्षेत्रका जैविक विविधता तथा प्राकृतिक सुन्दरता पर्यटन गन्तव्यको प्रमुख आधारशिला हुन सक्ने र अद्भुत प्राकृतिक संरचना, आकर्षक जैविक विविधता तथा जटिल भूबनोटले सबै खाले पर्यटनलाई आकर्षित गर्न सक्ने विश्वास पनि गरिएको छ । जनजिब्रोले नेपेमासाललाई पेमासाल भन्ने गरिएको पाइन्छ।
बौद्ध गुरु रिम्पोचे पद्मसम्भवले ध्यान गरेको तथा भविष्यमा हुन सक्ने विभिन्न परिघटनाका भविष्यवाणीका लिखत यसै क्षेत्रमा सुरक्षित रुपमा राखेको किंवदन्तीसमेत रहेको यस पवित्र भूमिलाई उनकै वचनमा उल्लेख भएअनुसार संसारका पवित्र १० उत्तम भूमिमा सूचीकृत भएकोे मानिन्छ।
घोषणापत्रमा उल्लेख गरिएअनुसार जुगल क्षेत्रमा पर्यटनको सम्भाव्यता अध्ययन तथा प्रचारप्रसार समेत गर्ने हेतुले पेमासालमा जुगल गाउँकार्यपालिकाको बैठक बसी सो घोषणापत्र जारी गरिएको हो । बैठकले जुगल गाउँपालिकाको बृहत्तर विकासका लागि पर्यटन विकास मुख्य आधारस्तम्भ भन्ने ठहर गर्दै जुगल गाउँपालिकाको पर्यटकीय सम्भावनालाई उजागर गर्ने तथा उच्च हिमाली भेगको पर्यटकीय सम्भावनालाई महत्व दिन प्रतिबद्धता जाहेर गरेको छ।
बैठकले जैविक, धार्मिक, सांस्कृतिक र प्राकृतिक स्रोतको संरक्षण तथा विकासका लगि नेपेमासाल बृहत्तर विकास परियोजना अगाडि बढाउने घोषणा गर्दै जुगल हिमशृङ्खलाका प्राविधिक रुपले सम्भाव्यता भएका हिमालका लागि हिमाल आरोहण तालीम केन्द्र, अनुसन्धान केन्द्र तथा विश्वविद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने निर्णयसमेत गरेको छ।
नेपालमा पहिचान गरिएका स्थापित तथा प्रबर्द्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य सूचीमा पेमासाल र जुगल हिमशृङ्खलालाई थप गर्न नेपाल सरकारसमक्ष माग गर्ने र बृहत्तर विकासका लागि कार्यक्रम तय गर्दा जैविक विविधताको संरक्षणलाई ध्यान दिई दिगो विकासमा आधारित हरित पर्यटन प्रबर्द्धनमा विशेष जोड दिने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ।
बैठकले छेन्ताङ नेपामासाल बुम्शेर्पु क्षेत्र तथा यसको आसपास क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्दै सो क्षेत्रको पर्यटकीय मर्मलाई असर नपार्नका लागि स्थायी संरचना निर्माणपूर्व गाउँपालिकाबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने व्यवस्था लागुगर्ने निर्णय गरेको छ । गाउँपालिकाले छेन्ताङसम्मको सहज सडक निर्माणका लागि सङ्घीय र प्रदेश सरकारलाई विशेष अनुरोध गर्दै यस कार्यमा गाउँपालिकाले समेत उच्च प्राथमिकता दिनेछ।
यस कार्यमा निजी क्षेत्रलाई समेत खुलेर लगानी गर्न आह्वान गरिएको छ। जुगल क्षेत्रमा आउने पर्यटकलाई स्वच्छ, सफा र जैविक खाद्यवस्तु उपलब्ध गराउनका लागि हिमाली क्षेत्रमा हालसम्म रासायनिक मलको प्रयोग नभएको र आगामी दिनमा पनि यसको प्रयोग हुन नदिन तथा प्राङ्गारिक मल तथा औषधि उत्पादनमा अनुदान उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
बैठकबाट पर्यटन क्षेत्रका लागि आवश्यक जनशक्ति तयार गर्ने तथा संरचनाको निर्माणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने तथा पेमासाल क्षेत्र संरक्षण र विकासका लागि जुगल गाउँपालिका तहको उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि गरिएको छ । जुगल – ३ गुम्बामा रहेको जुगल हिमशृङ्खला ( छ हजार ७० मिटर)नेपालको राजधानी काठमाडौँबाट नजीको हिमाल हो जुन करीब १४० किलोमिटर सडक र पैदलमार्ग दूरीमा छ।
पेमासाल तीन हजार ५ सय मिटरको उचाइमा रहेको हिमउपत्यकाको एक सुन्दर चौर हो । उच्च भूभागमा रहेको फराकिलो मैदान, नजीकै बगिरहेको ब्रह्मायणी नदी, हरिया जङ्गल, जङ्गलमार्गमा तोङश्युक (हजार जना अट्ने) गुफा र त्यसैको आडमा रहेको जुगल हिमशृङ्खलाको सुन्दरतम दृश्यको संयोजन आफैँमा एक अद्भुत क्यानभास हो । बौद्ध धर्मावलम्बीको आस्था एवं विश्वासका दृष्टिले पनि यस क्षेत्रको विशेष महत्व छ ।