धनगढी - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोजेको बताएका छन्। सरकारले जनतालाई सन्तुष्ट पार्न नसकेको उनले बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन्।
नेता पौडेलले समृद्धि, सुशासन र शान्ति सुरक्षा जनतालाई अनुभूति दिलाउन नसक्दा सरकारप्रति जनताको विश्वास घट्दै गएको बताए। सरकारले जनतालाई आश्वासन धेरै बाँडेको भन्दै पौडेलले त्योअनुरुप काम गर्न नसकेको आरोप लगाए। सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै उनले सुशासन र शान्तिसुरक्षा कायम गर्नमा सरकार पूर्ण रूपमा असफल भएको तर्क पेश गरे।
सरकारका गतिविधि मिडियाबाट जनतामा आउने डरले सञ्चारमाध्यमलाई नै नियन्त्रण गर्ने रणनीतिमा सरकार लागेको उनको आरोप थियो। उनले भने, ‘सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास गर्न दिँदैनौँ, आफ्नो असफलता लुकाउने गरी सरकारले यो विधेयक ल्याएको हो। कांग्रेस कुनै पनि हालतमा विधेयकको पक्षमा रहँदैन।’
अर्को प्रसंगमा नेता पौडेलले कांग्रेस चाँडै नै प्रादेशिक संरचनामा जाने दाबी गरे। पार्टीलाई नयाँ अधिवेशन गरेर तन्दुरुस्त बनाउन जरुरी रहेको उनको भनाइ थियो।