धनगढी - सुदूरपश्चिम प्रदेशसभाको आज बुधबार २ बजे बस्ने भनिएको पूर्वनिर्धारित बैठक ३ बजेका लागि सारेर फेरि स्थगित गरिएको छ। प्रदेश सरकारकै मन्त्रीहरू पूर्वनिर्धारित बैठकमा उपस्थित नभएपछि १ घण्टाका लागि सारिएको र उक्त समयमा पनि उपस्थित नभएपछि भोलि २ बजेका लागि सारिएको छ।
आज दिउँसो २ बजे आह्वान गरिएको बैठकमा सत्तारुढ दलका सांसद र मन्त्री नै उपस्थित भएका थिएनन्। त्यसपछि १ घण्टालाई स्थगित गरेर दिउँसो ३ बजेलाई आह्वान गरियो। दोस्रो पटक पनि कुनै मन्त्री उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो।
प्रदेशसभा बैठक सञ्चालनका लागि एक चौथाइ सांसदको उपस्थितिसँगै प्रतिपक्षी दलको एक जना सांसद र एक जना मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने परम्परा छ। सरकारका कुनै मन्त्रीलगायत प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि आजको प्रदेशसभा बैठक स्थगित गरिएको हो। समयमा मन्त्रीलगायत प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका निमित्त सचिव तेजप्रकाश जोशीले बताए।
बैठक बहिष्कार
उता सभामुखले बैठक स्थगित गर्नुअघि नै प्रतिपक्षी दलहरूले भने बैठक बहिष्कार गरेर निस्किसकेका थिए। सरकारले संसदको गरिमा नबुझेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गोविन्द बोहराले बताए। उनले सत्ता पक्षले संसदलाई पार्टीको कार्यालयजस्तो बनाएको आरोपसमेत लगाए।
आजको प्रदेशसभा बैठकमा अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिका सभापति हर्कबहादुर कुँवरले सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको थियो। त्योसँगै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलका लागि तयार पारिएको दस्तावेजमाथिको छलफल गर्ने कार्यसूचीसमेत रहेको थियो थियो।
बुधबार अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिको बैठक भनेर उक्त बैठक पनि स्थगित भएको भन्दै प्रतिपक्षी दल राजपाका सांसद कृष्णराज चौधरीले आक्रोश व्यक्त गरे।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले भने सरकारको तयारीले बैठकमा आउन ढिलाइ भएको बताए। जेठ २ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिमाथिको गम्भीर छलफल भइरहेको छ।