काठमाडौँ, २७ पुस -निर्देशक विकासराज आचार्यको निर्देशनमा चलचित्र ‘हजार जुनीसम्म’ निर्माण हुने तयारीमा छ। चलचित्र ‘हजार जुनीसम्म’को नायिकाको भूमिका संचिता लुइँटेलले निर्वाह गर्ने भएकी छन्।
यसअघि निर्देशक आचार्यले उक्त चलचित्रको नायिकामा निरुता सिंहलाई लिने बताएका थिए। तर, निरुताले समय दिन नसकेका कारण संचिताले काम गर्ने भएकी हुन्।
नायिका निरुता अहिले चलचित्र ‘दाल भात तरकारी’मा व्यस्त छिन्। निरुता यस चलचित्रको छायाङ्कनमा रहेकाले अन्य चलचित्रमा समय दिन नसकेकी हुन्।
चलचित्र ‘हजार जुनीसम्म’को नायक–नायिकामा सिक्किमका कलाकार उत्तम प्रधान र निरुता सिंहलाई बनाउने तयारी आचार्यको थियो तर अब उत्तमसँग संचिताको जोडी रहने फाइनल भएको छ।
यसअघि निर्देशक आचार्यसँग चलचित्र ‘नाइँ नभन्नु ल ३’मा संचिताले काम गरिसकेकी छन्। यो चलचित्रपछि नायिका संचिता र यसको निर्माण पक्षसँग असमझदारी भएको थियो। असमझदारीका कारण उनी चलचित्र प्रमोशनमा पनि सहभागी भएकी थिइनन्। अब नायिका संचिताले ‘हजार जुनीसम्म’मा काम गर्ने भएपछि उनीहरूबीचको पुरानो असमझदारीसमेत हटेको छ।