काठमाडौँ– फ्रान्सको पेरिसमा भइरहेको कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्ममेकर्स मीनबहादुर भामको नयाँ फिल्मले नर्वेजियन पुरस्कार जितेको छ। विश्वभरका फिल्ममेकर्सले दिएका निवेदन ५२ वटा फिल्मी परियोजनालाई उछिन्दै मीनबहादुर भामको द इयर अफ कोल्ड ‘चिसो वर्ष’ले नर्वेजियन पुरस्कार जितेको हो।
जसको मुल्य ६६ लाख ८४ हजार रुपैयाँ (६० हजार अमेरिकी डलर) छ। यस्तै चिसो वर्षले यसअघि पनि स्वीटजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार यूरो करिब ८ लाख रुपैयाँ जितेको थियो। चिसो वर्षसँगै अन्य ६ वृत्तचित्र तथा कथानक फिल्मलाई पनि निर्णयक मण्डलले छनोट गरेको थियो।
यसैगरी, अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्रीले अवार्ड जितेको हो। मीनबहादुर भामले चिसो वर्षमा आफ्ना हराएका श्रीमान खोज्नका लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्रामा निस्कन्छन् र यात्राकै क्रममा उनीहरुको जीवन बदलिएको कथा फिल्ममा रहेको छ।
यही सुक्ष्म र संवेदनशील विषय वस्तुलाई मियो (कथावस्तु) बनाएर पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवम् मान्यताको दैनिक संघर्ष कथामा समेटिएको छन्। यसमा मुख्य पात्रको यात्राको माध्यमबाट नेपालको जीवन जिउने कला र समृद्ध संस्कृतिक विशेषता दुवै चित्रित गरिएको छ।
यसअघि पनि उक्त चलचित्रको स्क्रिप्टका लागि भामले १ सय १४ वटा आवेदनलाई पछि पार्दै एसियन सिनेमा फन्ड जितेका थिए। उक्त फन्डको रकम १० हजार अमेरिकी डलर थियो।
मीनबहादुर भाम ‘कालो पोथी’ फिल्मका निर्देशक पनि हुन्। उक्त फिल्मलाई सोनी फिल्मसले निर्माण गर्दैछ। भामले निर्देशन गरेको चलचित्र कालो पोथीले यसअघि पनि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ।