काठमाडौँ - राजनीतिक विश्लेषक एवं प्राडा सुरेन्द्र केसीले भारतमा नरेन्द्र मोदीको पुनरागमन हुनुले नेपालमा तात्त्विक फरक नपार्ने बताएका छन्।
नेपाली पब्लिकसँगको कुराकानीमा उनले भने, ‘सरकारमा रहेका र अरू राजनीतिक दलमा बाँधिएका मानिसहरूको मनमा भारतीय राजनीतिले नेपालमा ठूलो प्रभाव पार्छ भन्ने मनोविज्ञान छ। त्यसका आधारमा भन्ने हो भने एकथरीले राजतन्त्र र हिन्दूराष्ट्रका बारेमा मोदीको पुनरागमनले असर पार्छ भन्नेबाहेक अरू केही हुँदैन।’
नेपालमा छिमेकी शासन र शासकको प्रभाव नपर्ने हुन्छ र ? भनेर सोधिएको प्रश्नको जवाफमा प्राडा केसीले भने, ‘आधुनिक जमाना छ, नेपाली जनता सचेत छन्, कुन शासन कालमा के हुन्छ भन्ने कुरा जनतालाई राम्ररी थाहा छ, भारतले यो गर, त्यो गर त भन्नेमा कुनै द्विविधा रहँदैन तर हाम्रा मान्छेहरू सचेत हुनुपर्छ।’
उनले अगाडि भने, ‘नेपालमा कम्युनिष्ट नामको लुते सरकार छ, जुन तस्करवाद र उपभोक्तावादमा व्यस्त छ, यस्तो बेलामा विदेशीहरू खेल्ने मौका खोज्छन्, त्यसैमा पनि भारत त धेरै खेल्न खोज्ने छिमेकी देश हो, मेरो सम्झनामा भारतले नेपालको हितमा काम गरेको आजसम्म छैन।’
‘भारतले नेपालमाथि संशयको स्थिति सिर्जना गरिरहन्छ,’ उनले भने, ‘यता हाम्रो देशका शासकले भारतको विरोध गर्नु राष्ट्रवाद हो भन्ने बुझेका छन्, अमुक देशको विरोध गर्नु राष्ट्रियता र राष्ट्रवाद हो भन्ने गलत मनोविज्ञानले हामीलाई जति असर अरूलाई गर्दैन। ८० प्रतिशत भारतसँगको व्यापारमा निर्भर छ, ११ खर्बको वरिपरि भारतसँग व्यापार घाटा छ, तथापि समानताका आधारमा व्यवहार हुने हो भने यता मुलुकको अखण्डता, राष्ट्रियता बाँकी रहन्छ, उता छिमेकीसँगको सम्बन्ध सुधार हुन्छ। त्यसका लागि नेपालमा छलफल बहस आवश्यक छ, दुखान्त भन्नुपर्छ यो कुरा हाम्रो देशमा कसले गर्ने?’
भारतीय चुनावको आधिकारिक नतिजा नआउँदै प्रधानमन्त्री केपी ओलीले मोदीलाई शुभकामना दिनुलाई कसरी लिनुभएको छ नि? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा डा. केसीले भने, ‘सामान्य शुभकामना दिनुलाई अन्यथा लिनुहुँदैन, तथापि आधिकारिक नतिजा नआउँदै यताबाट आधिकारिक रूपमा बधाई शुभकामना दिनु भनेको हतारको पराकाष्टा हो, व्यग्र हतार गर्न हुँदैन, कूटनीतिक र परराष्ट्र नीतिको ख्याल गर्नुपर्छ भन्ने हो। मैले त तीन महिनापहिले नै भारतमा मोदीको पुनारागमन हुन्छ भनेको थिएँ।’
ओली सरकार अदूरदर्शी र अपरिपक्व
डा. केसीले कुराकानीका क्रममा केपी ओली सरकारले अदूरदर्शिता, अपरिपक्वताको पराकाष्टा प्रदर्शन गरिरहेको आरोप लगाएका छन्। सरकारले संसदमा पेश गरेका विधेयक स्वयं सरकारको हितविपरीत भएको जिकिर गर्दै उनले भने, ‘दलमाथिको प्रतिबन्ध, मिडिया काउन्सिल विधेयक, राहधानी विधेयक, राष्ट्रिय मानवअधिकार आयोग विधेयक लगायतका विषयमा थोरै पनि छलफल नहुनुले सरकार अदुरदर्शी छ भन्ने देखाउँछ, यस्ता कार्य उनीहरूकै लागि घातक सावित हुन्छन्, अर्को कुरा सधैँभरि यिनीहरूले मुलुकमा शासन गर्ने त होइनन् होला।’
दुई तिहाइको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्नुको कारण के हो? भनेर सोधिएको प्रश्नको जवाफमा डा. केसीले भने, ‘सबैभन्दा पहिले यो प्रश्नलाई सच्याउनुपर्छ, जनताको मनमा यिनीहरूले नै अपेक्षा हालिदिएका हुन्। जनताहरू आफै यति अपेक्षित थिएनन्। गणितीय हिसाब होइन कि आचरण, व्यवहार, चरित्रका हिसाबले भन्ने हो भने सरकारमा ‘राइट म्यान, राइट प्लेस’ छैन, सरकारमा बसेका व्यक्तिहरू गैरजिम्मेवार शब्द बोल्छन्, शेरबहादुर देउवाले भनेको ‘रुन पाइँदैन’ भन्ने शब्दावली कार्यान्वयन गर्न ओली सरकार हतार देखिन्छ।’
उनले अगाडि भने, ‘हाम्रो मनमा यिनीहरूले नै अत्याचार हाले, सुनकाण्ड हालिदिए। अपराधीलाई कारवाही गर्छौं भने, सिन्डिकेट हटाउँछौँ भने, आइएनजीओ र आइएनजीओ व्यवस्थित गर्छौं भने तर आज आएर बालुवाटारको सरकारी जग्गाको बिचौलिया नेकपाकै महासचिव रहेछन् भन्ने आयो। जे जति भए पनि नेपाली जनता सहिष्णु छन्, राज्यप्रति उत्तरदायी छन्, तर राज्यले जनताको धैर्यतालाई दुरुपयोग गर्दैछ, यो ठीक हुँदैन।
दुई तिहाइ मत दिए सबथोक हुन्छ भन्ने पनि यिनीहरू नै हुन्। आफ्नै आँगनमा यति विकृत नृत्य देखेपछि जनता निराश बन्नु स्वभाविक हो। माथिल्लो तहका मान्छेहरू सच्चिने हो भने तल्लो तहका मानिसबाट यतिका अपराध सम्भव हुँदैनन्, माथिल्लो तहमा बस्ने र सरकारमा रहेका मान्छेहरू मतिभ्रष्ट भएका कारण सबै समस्या सिर्जना भएका हुन्।
भाजपा गठबन्धनको ऐतिहासिक जित
भारतको १७औँ लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा एक्लैले पनि ऐतिहासिक जित हासिल गर्ने देखिएको छ। यसअघि सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भाजपा एक्लैले २८२ सिट जितेको थियो। एनडीए प्रधानमन्त्री मोदीको नेतृत्वमा चुनावमा उत्रिएको हो। भारतमा फेरि पनि सरकारको नेतृत्वमा मोदीले गर्नेछन्।
कङ्ग्रेस आईले नेतृत्व गरेको विपक्षी गठबन्धन युनाइटेड प्रोग्रेसिभ एलायन्स (यूपीए)ले आफ्नो हार स्वीकार गरिसकेको छ। यो गठबन्धनको नेतृत्व कङ्ग्रेस आईका अध्यक्ष राहुल गान्धीले गरेका छन्। मत गणनाअनुसार युपीएले ९१ स्थानमा अग्रता लिएको छ। ६ सातासम्म विभिन्न सात चरणमा सम्पन्न भएको लोकसभा निर्वाचनलाई प्रधानमन्त्री मोदीको हिन्दू राष्ट्रवादी राजनीतिको जनमतसंग्रहका रूपमा हेरिएको थियो।
९० करोड मतदाता रहेको भारतमा यो निर्वाचनमा करिब ६० करोडले मतदान गरेका छन्। भारतमा सरकार गठनका लागि लोकसभामा २ सय ७२ सिट जित्नुपर्छ। १९ मेमा सातौँ चरणको मतदान सकिएसँगै सार्वजनिक विभिन्न एक्जिट पोलले पनि भाजपा नेतृत्वको गठबन्धनले ३ सय ५० सिट जित्ने अनुमान गरेका थिए।