काठमाडौँ, २७ पुस - दुई दशकदेखि हङकङमा बसेबास गर्दै आएका दाजु गुरुङ कथासङ्ग्रह ‘टाँकीका फूलहरू’मार्फत उदाएका छन्। कथाकार गुरुङले साहित्यभित्र आफूलाई राम्रोसँग कैद गरेका छन् ।
गुरुङकै शब्दमा भन्नुपर्दा ‘जिन्दगीको बचत खातामा थाकेको यात्राभित्र समयले डामेको अनगिन्ती अधुरा सपनाका खतरा धर्साहरू स्थायी पूँजी र परिचय भएर बसिदिँदा रहेछन् जिन्दगीका लागि।’ ‘टाँकीका फूलहरू’मा यस्ता अनेकाँै सपनाभित्र फूल फुलेको देखिन्छ।
पुस्तकमा गुरुङले हङकङका नेपालीको भोगाइलाई १७ वटा कथामा समेटेका छन्। गुरुङका कथाहरूमा हरेक पलमा कल्पनाका सपनाहरू रुमल्लिँदै भित्री आत्मासम्म पुगेर मान–अपमानका तीरहरूले घोचिरहेको पाइन्छन्।
कथामा उनले एउटा नेपालीले हङकङमा आएर नयाँ समाजमा मारेको छलाङ, संघर्ष गर्दाका मानसिक उत्तारचढाव एवं कुण्ठाहरू समेटेका छन्। हङकङमा जीवनयापन गरिरहेका कथाकार गुरुङकोे शुरुमा कविता सङ्ग्रह निकाल्ने योजना थियो। उनका केही कविता सामाजिक सञ्जालमार्फत प्रकाशित गरे पनि कविताको पाण्डुलिपि आफैलाई मन नपरेपछि उनी कथा लेखनतिर लागेका हुन्। गुरुङले ‘टाँकीका फूलहरू’ कथासङ्ग्रह अर्गानिक स्वादमा ल्याएका छन्।
‘टाँकीका फूलहरू’ नेपालको पहाडी भू–भागमा फुल्ने फूल हो। जुन फूल फुल्दा पहाडी भेगका डाँडाकाँडाहरूमा सौन्दर्य झल्किन्छ। त्यस्तै कथाकार गुरुङका कथाभित्र पनि रङ्गीन सपनाका भावहरू पोखिएका छन्।
पछिल्लो समय नेपाली भाषामा आधुनिकीकरणसँगै गैरनेपाली मातृभाषीहरूले पनि अधिकार जमाएका छन् भन्ने कुरा दर्शाउँदै टाँकीका फूल टिप्न गएका नेपालीहरूभित्र रहेर उनले दुःखसुखलाई अख्यानको स्वरूपमा परिणत गरेका छन्।
त्यसैगरी आफू विदेशमा रहेर पनि आफ्नो भूगोललाई चिनाउनका लागि उनले मौलकिता बोकेको ‘टाँकीका फूल’लाई नै कथासङ्ग्रहको नाम दिएका छन्। कथाकार गुरुङले ‘टाँकीका फूलहरू’ कथामा विम्ब तथा अलङ्कारको समेत प्रयोग गरेका छन्।
कथामा हङकङमा नेपालीले कसरी टाँकी टिप्छन्, कहाँ–कहाँबाट आउँछन् फूल टिप्ने हातहरू, फूल टिप्दा पहिचान हराएका हातहरूको कथा कस्तो हुन्छ? आदि खुलदुलीलाई कथाकारले ‘टाँकीका फूलहरू’मा समेटेका छन्। नेपालीले फूल टिप्ने रहरमा गरेको संघर्ष र उत्तरचढावलाई फूलहरूसँगै ओइलिएर झरेको सपनाहरू पनि कथाकार गुरुङ यथार्थमा उतार्न सफल भएका छन्। साथै, कथा पठनीय रूपमा पनि उत्तिकै सफल छ।
संखुवासभामा जन्मिएर सपनाको फूल टिप्न विदेशिनेहरूमध्येका एक पहिचान हराएका प्रतिभाका हस्ती हुन्– दाजु गुरुङ । दाजु गुरुङ नेपाली भाषा साहित्यका असल र सफल विद्यार्थी हुन्। कथाकार गुरुङ एक समयका पूर्वप्राध्यापक पनि थिए। उनी नेपाली युवाजस्तै सपनाको शहर काठमाडौँ हुँदै अझै ठूलो शहर हङकङ छिरेका हुन्।