तेजन खड्का, उर्लाबारी – डाँडाकाँडा रमाउन जानेहरूलाई यतिबेला मोरङका सिमसार तथा पर्यटकीय क्षेत्रहरूले लोभ्याएको छ। यसअघि झापाको दोमुखा, जामुनखाडी, सतासीधाम, इलामको फिक्कल, कन्याम, सुनसरीको ताल तलैया, धनकुटाको भेडेटार, मुलघाटजस्ता ठाउँसम्म पुग्नेहरू यतिबेला मोरङका सिमसार क्षेत्र तथा होमस्टेहरूमा नै रमाउन थालेका हुन्। यस्ता छन् मोरङका प्रमुख पर्यटकीय स्थलः
जेफाले डाँडा
पूर्वी नेपालका पर्यटकीय स्थानमध्ये मोरङको जेफाले नयाँ र मनोरम गन्तव्य बनिरहेको छ। मोरङको सिंहदेवीमा सञ्चालित होमस्टेमा पर्यटकको आकर्षण बढ्न थालेको छ। त्यहाँ सुरु गरिएको होमस्टे आगन्तुकका लागि आकर्षण बन्दै गएको छ।
जेफाले सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव भीम ठकुरीका अनुसार अहिले पर्यटनको मौसम नभए पनि जेफालेमा भने पर्यटकको अभाव छैन। दैनिक होमस्टेमा बस्न र जेफालेबाट मनोरम दृश्य हेर्नेको लर्काे नै लागिरहेको छ।
राजारानी धिमाल पोखरी
उत्तरी मोरङको पर्यटकीयस्थल राजारानीमा वनभोज खाने र घुम्ने आन्तरिक पर्यटकको चहलपहल वढ्न थालेको छ। पर्यटकीयस्थल राजारानीमा वनभोज खान आउने को संख्या वढ्न थालेको हो। मोरङको भोगटेनीमा रहेको राजारानी क्षेत्रमा रहेका पोखरी तथा जंगलमा फुलेका सुनाखरी अवलोकन गर्न पूर्वी मोरङ तथा झापा र सुनसरीका आन्तरिक पर्यटक आउने गरेका छन।
मोरङको पुरानो वजार लेटाङबाट तीन किलोेमिटर उत्तर पूर्वमा रहेको राजारानीमा राजारानी र राजकुमारी पोखरी रहेका छन् भने राजारानी मन्दिरसमेत रहेको छ। सो क्षेत्रमा ४२ जातका सुनाखरी रहेकोमा तीन जातका सुनाखरी विश्व वाटै लोपोन्मुख रहेका छन। पहाडी क्षेत्रमा रहेको राजारानीबाट झापाको दमक मोरङको उर्लाबारी पथरी र लेटाङ बाजार प्रस्ट देख्न सकिन्छ।
हसिना सीमसार
मोरङको सुन्दरदुलारी नगरपालिका–६ मा अवस्थित हसिना सीमसार क्षेत्र पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ। मोरङको सुन्दरपुरस्थित महेन्द्र राजमार्गमा पर्ने बाँसवारी चोकवाट करिब छ किलोमिटर उत्तरको यात्रापछि सो स्थानमा पुग्न सकिन्छ।
बाह्रै महिना बगिरहने जरुवा पानीको मूलसमेत रहेको सो सीमसार क्षेत्र करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ। विभिन्न देबीदेबताका मन्दिर, विभिन्न प्रकारका वनस्पति, जीवजन्तु र पंशुपक्षीहरूको बासस्थानसमेत रहेको सो क्षेत्र पर्यटकीय क्षेत्र मात्र हैन, वनभोज, अध्ययन अनुसन्धान र अवलोकन लागि समेत उत्तिकै उपयोगी रहेको छ।
वनजंगलको शीतल छहारी अनि शान्त र मनोरम ठाउँ प्राकृतिक छटामा विचरण गर्न चाहनेहरूका लागि योभन्दा उत्तम अर्काे कुनै ठाउँ नै छैन झैँ आभास हुन्छ, सो ठाउँमा पुग्ने जो कोहीका लागि। केही वर्षदेखि नेपाल पर्यटन बोर्डले समेत सो क्षेत्रका लागि बजेट बिनियोजन गरेर सो ठाउँलाई आकर्षक गन्तव्यका रुपमा विकास गरिरहेको छ।
अग्लो होचो भाग डाँडाकाँडा अनि बाह्रै महिना बगिरहने पानीले तराईका समथर भूभागमा रहे पनि पहाडी क्षेत्रको आभास गराउँछ सो ठाउँले। सो क्षेत्रमा हाल नेपाल पर्यटन बोर्डले १५ लाख रुपैयाँ, जिल्ला समन्वय समितिले १६ लाख रुपैयाँ विनियोजन गरेपछि एउटा कलात्मक पानीट्याङ्की, शान्तिका अग्रदूत बुद्धको जन्मेदेखि मृत्युसम्मका विभिन्न अवस्था समेटिएको पूर्वाञ्चलकै ठूलो बुद्धको प्रतिमा र सो क्षेत्रको पोखरीमा डुंगा सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ।
आकर्षक प्रवेशद्वार, विभिन्न कलात्मक शान्तिको प्रतीक परेवाको प्रतिमा, विश्व मानचित्रको प्रतिमा, बुद्धको प्रतिमा, नागपोखरीमा नागको प्रतिमालगायत निर्माण भइसकेका विभिन्न प्रतिमाले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्छ। पछिल्लो समय सो क्षेत्रमा करिब तीन लाख रुपैयाँ खर्च गरेर निर्माण सम्पन्न गरिएको डाइनोसरको प्रतिमाले सो क्षेत्रमा सुनमाथि सुगन्ध थपेको छ।
बेतेनी सीमसार
यतिखेर मोरङको उर्लाबारी नगरपालिकास्थित मंगलबारेमा रहेको बेतेनी ताल पोखरीसमेत पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ। पूर्वपश्चिम राजमार्गको उर्लाबारी–६ किसानचोकबाट करिब सात किलोमिटर उत्तर टाँडी जाने ग्राभेल बाटो हुँदै यस बेतेनी तालमा पुग्न सकिन्छ।
जंगलसँगै जोडिएको बेतेनी पोखरी स्थानीय मूलहरूबाट आएको पानीबाट बनेको जलाशय हो। यसको आसपासमा रमणीय जङ्गल क्षेत्र रहेको छ। पोखरीमै टापुजस्तो उठेको भूभागमा विभिन्न प्रकारका बोटबिरुवाहरू रहेका छन। ठूलो भूभाग ओगटेको जलाशयको दृश्य मनमोहकसमेत रहेको छ।
दुई बिगाह क्षेत्रफलमा फैलिएको बेतेनी ताल र आसपासको जङ्गल घुम्न आउनेका लागि यो एउटा रमणीय स्थलसमेत हो। यसको वरपर बाँध र बोटबिरुवाहरूलाई व्यवस्थित गर्न सके अझै यस क्षेत्रको विकास गर्न सकिन्छ।
झोलुङ्गे पुल
उत्तरी मोरङको लामिटारमा रहेको झोलुङ्गे पुल पनि वनभोज खान आउनेको राम्रो गन्तव्य बन्दै आएको छ। लेटाङ बजारबाट दुई किलोमिटर उत्तरमा रहेको झोलुङे पुलमा प्रत्येक वर्ष सयौँको संख्यामा वनभोज खानेको लर्काे लाग्ने गर्दछ।
नयाँ वर्ष, भ्लेन्टाइन डे वा कुनै नयाँ पर्व र उत्सवमा वनभोज खाने र घुम्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन्। लामिटार र लोखरा जोडने यो पुलबाट लेटाङ बजारको डानी, वारङीका पहाडी क्षेत्र र मधेसका दृश्य प्रस्ट देख्न सकिन्छ।
रानीवन
उत्तरी मोरङको पर्यटकीयस्थल रानीवनमा वनभोज खाने र नयाँ वर्षमा घृम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढदै गएको छ। मोरङ लेटाङ–८ को धोवी तुर्केमा रहेको रानीवन क्षेत्रमा वारी–पारी पोखरी निर्माण तयार गरिएको पोखरीस्थल र बीचमा डाँडा छ। बीच डाँडामा भएको फुलबारी र सालको वोटविरुवामा लगाएको रङले नै आकर्षण बढाएको छ। सो क्षेत्रलाई नमुना युवा क्लवले संरक्षण र सम्बर्द्धन गदै आएको छ।
बेतना सिमसार
मोरङको बेलबारी नगरपालिका–९ मा महेन्द्र राजमार्गसँगै जोडिएर रहेको सो सिमसार क्षेत्र यतिखेर पुर्वाञ्चलमै एउटा नमुना गन्तब्यका रूपमा विकास भईरहेको छ। दुई प्रजातिको बेत बनस्पतिको जङ्गल नै रहेकोले यस क्षेत्रलाई बेतना सिमसार क्षेत्र भनिएको जानकारहरू बताँउछन। त्यही पलाएको पानीले वर्ष भरि नै भरिरहने ठूला–ठूला पोखरीले गर्दा यस क्षेत्रलाई संरक्षित सिमसार क्षेत्रको रुपमा राखिएको छ।
साईबेरियादेखि आउने चराहरूका साथै पच्चीस प्रजातिका दुर्लभ चराहरू, विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीबजन्तु, बनस्पति यस क्षेत्रमा पाईन्छन्।