काठमाडौँ - जनवादी गायक जीवन शर्माले वर्तमान राजनीतिमा नैतिक संकट परेको बताएका छन्। रत्नराज्य क्याम्पस (आरआर), राजनीतिक शास्त्र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीद्वारा आयोजित ‘समाज रूपान्तरणका लागि कला र साहित्यको भूमिका’ विषयक ‘प्राज्ञिक बहस’मा गायक शर्माले वर्तमान समयमा पैसा कमाउने होडबाजी चलेको र नैतिकताको संकट सिर्जना भएको बताए।
हरेक १५ दिनको अन्तरालमा आयोजना हुने उक्ते ‘प्राज्ञिक बहस’मा गायक शर्माले भने, ‘विकास नै भएको छैन भन्ने पक्षमा छैन, केही विकास भएको छ। कलाकार, पत्रकार, स्वतन्त्र नागरिक, मानव अधिकारवादी लगायतले विकास नभएका र समाजमा रहेका विभेदहरूका बारेमा खबरदारी गरिरहनुपर्छ। नत्र भने नेता बिग्रिहाल्छन् नि।’
राजनीतिक दलका नेताहरू नैतिकवान र इमानदार हुनुपर्ने बताउँदै गायक शर्माले जनताका खास अपेक्षा पूरा नभएको बताए। उनले भने, ‘मैले केही वर्षपहिले नै जे सोचेर परिर्वतनका लागि लागियो त्योअनुरूप परिणाम आउँदैन भन्ने मनमा लागिसकेको थियो, त्यसैले म धेरै निरास छैन।’
‘समयसँग सम्झौता होइन संघर्ष गर संघर्ष
आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष’
उल्लिखित गीत गाउँदै उनले भने, ‘राजनीतिले ढुङ्गालाई मूर्ति बनाउने हो तर अहिले मूर्ति बनाउन नपाउँदै ढुङ्गाहरू फुटेका छन्। हाम्रो सपना ठूलो थियो, समाजलाई आनन्दको संसारमा लैजाने, घनघोर जंगल, अँध्यारोबाट उज्यालोतर्फ जाँदै गर्दा गाउँमा पुगियो तर त्यहाँ पनि उस्तै उस्तै देख्न पाइयो, अझै धेरै बाँकी छ, संघर्ष गर्न।’
गायक शर्माले जीवन भोगाइहरू यसरी सम्झिए
‘पञ्चायत व्यवस्थामा टुकी बालेर मझेरीमा गीत गाउँथ्याैँ। वरिपरि सेन्ट्री बस्न लगाएर गीत गाउँथ्यौँ, साथमा एक बुक तास पनि राख्थ्यौँ, गाउँदा गाउँदै पुलिस आएमा गीत रोकेर तास फिट्न थाल्थ्यौँ।
कहिलेकाहीँ कविता, गीत सुनाउँदा सुनाउँदै भागाभाग हुन्थ्यो। पुलिसको घेरा छिचोलेर जाने अनि भित्रबाट कविता सुनेर बाहिर आएपछि ठूलो युद्ध जिते जस्तै आभास हुन्थ्यो। तर, अहिले कविता सुनाउन दर्शकलाई चिया खुवाउनु पर्नेहुन्छ, धन्नै मैले गीत सुनाउन पैसा तिर्नुपरेको छैन।
०३० सालतिर ‘चौतारीमा राजा भेटियो चौतारीमा रानी भेटियो’ जस्ता गीत मात्र सुनिन्थ्यो। रामायणका पात्र राम, सीता, कृष्णका चरित्र र माया पिरतीका गीत मात्रै सुनिन्थ्यो। पञ्चायतकालमा शक्तिशाली राजा र शक्तिशाली अञ्चलाधीशहरू थिए। हामीलाई त्यतिबेला यो व्यवस्थाको अन्त्य होला र अहिले यसरी गीत गाउन पाइएला भनेर सोचेका थिएनौँ, तर जीवनमा संघर्ष जारी राख्नुपर्छ भन्ने हुन्थ्यो।
काठमाडौँमा वेदना र सङ्कल्प परिवारजस्ता सांस्कृतिक संगठनहरूले जनवादी गीत गाउँथे। आज व्यवस्था फेरिएको छ। केही मान्छेका घर बने, तर सर्वहारा जनताका घर बनेनन्। म सबैका घर बनुन् भनेर यो आन्दोलनको मैदनमा होमिएको थिए।
‘चल्छ हुरी आउँछ वसन्त’
वसन्त ऋतु भनेको एउटा प्रतीक हो। सुन्दर समाजको परिकल्पना थियोे। म सौन्दर्यको खोजीमा हिँडेको थिएँ। हालको परिवर्तनलाई वसन्त ऋतुको कल्पना गरेर गीत गाएको थिए। खाडीका देशहरूमा वसन्त ऋतुको ठूलो महत्त्व हुने रहेछ, त्यहाँका कवि गीतकारहरू वसन्तका गीत खुब लेख्छन्, एउटा बिरुवालाई करोडौँ खर्चेर हुर्काएका हुन्छन्, विडम्बना ती बिरुवाको हेरचाह गर्न हाम्रा दाजुभाइ पुग्नुभएको हुन्छ। सुन्दर छ, आकाश गंगा, वायुमण्डल, सौर्यमण्डल, पृथ्वीको त कुरै नगरौँ, यति सुन्दर छ कि शब्दमा वर्णन गर्न गाह्रो। पृथ्वीमा पनि हाम्रो जति सुन्दर देश अरू कोही छैनन्।
सिमली छायामा बसी
एक भरियाको जीवनलाई देखेर सिर्जना गरिएको गीतले आजका दिनमा पनि उत्तिकै माया पाइरहेको छ। निमुखा सर्वहारा, सिमली छायामा बसेर थकाइ मार्छन्। परिना सुकाउछन्। फेरि आफ्नो संघर्षलाई जारी राख्छन्। बुढेसकालमा झन् दुःखहरू झेल्नुपर्ने अवस्था आउने रहेछ।
गरिबहरूले पसिना नबगाएर खान पाउँदैन। भारी नबोकी पेट पाल्न सक्दैन। त्यो समय र आजको समयमा पनि भरियाको जिन्दगी उही र उस्तै छ। फेरिएको छैन। जीवनमा यस्तो पनि हुन्छ। कहिलेकाहीँ मयुर बनाउन खोज्दा ऊँटको चित्र बन्छ। हाम्रो सपना देश र समाज यति सुन्दर बनाउने थियो कि के भनौं...तर हामीले हिजो देखेको सपना अझै पनि सपना जस्तै छ। कला, साहित्य र सांस्कृतिक जागरणमार्फत जीवनभर यसरी नै आवाज सुनाइरहने छु।
छैन मेरो शरीरमा अत्तरको सुगन्ध
होला बरु जिउभरी पसिनाको गन्ध।
होला बरु खुट्टा बरु पटपटी फुटेको
तर मेरो जिन्दगी यसैमा उठेको।
यसै राम्रो छ, यो मेरो जीवन
चाहिँदैन मलाई सम्पत्ति रास
https://www.youtube.com/watch?v=OpXR5BxhH7g
यो गीतमा कालो धन कमाउनु हुँदैन भन्ने सन्देश छ। स्वाभिमानी जीवन जिउनु अर्थपूर्ण हुन्छ भनेर आह्वान गरेको छु। पैदल यात्रा राम्रो छ। चाहिँदैन मलाई टल्किने कार भन्दै गाएको छु। सबैले स्वार्थ नगरून् देश र समाजसँग आफ्नो जीवन दाँज्न सकून् भनेको त यहाँ त उल्टो पो हुँदैछ। अर्को कुरा विभिन्न कार्यक्रममा जान्छु। त्यहाँ गीत गाउँदा देश बदल्नेहरू दर्शक दीर्घामा बसेर ताली बजाउँछन्। यसो स्टेजमा बसेकाहरूलाई हेर्याे भने अनुहार अमिलो पिरो लगाएर बसेका देखिन्छन्।
०५९, ६० सालतिरको कुरा हो। आन्दोलनमा गिरिजाप्रसाद कोइराला, माधव नेपाल लगायतका नेता आउँदैछन् भनेर प्रचार गरिन्थ्यो। जति फुके पनि मान्छे फिटिक्कै आउँदैन थिए। जेबी टुहुरे, मनोज गजुरेललगायत हाम्रो टोली रत्नपार्क जान्थ्यौँ। जब गीत गाउन थाल्थ्यौँ। अनि नेताहरू चुस्स लुकेर स्टेजमा चढ्थे र भाषण गरेर भाग्थे। आजको परिवर्तनको हिस्सा किन नपाएको हो? भनेर भन्नुहुन्छ। आधिकारिक रूपमा कसैले सांसद बन, कुनै पद लैजा भनेर भनेका छैनन्। शिक्षक पेशा छोडेर यो गाउने पेशामा लागेको मानिस हुँ। मैले सक्ने जति योगदान समाजलाई दिएकै छु। दिँदै जानेछु।
सामाजिक र राजनीतिक परिर्वतनमा महत्त्वपूर्ण भूमिका
कार्यक्रममा आरआर क्याम्पसका सहायक प्रमुख डा. हरिप्रसाद सिलवालले सामाजिक परिवर्तन र राजनीतिक परिर्वतनमा जीवन शर्माको अमूल्य योगदान रहेको बताए। परिवर्तनका क्रममा भोगेका जेल नेलको स्मरण गर्दै डा. सिलवालले भने, ‘जीवन दाइका गीत सुनेर मैले ‘३० वर्षे’ नामक नाटक लेखेको थिएँ। त्यो मञ्चन गर्दा जेलसम्म जानु परेको थियो।’
सांस्कृतिक सचेतनामार्फत समाज परिवर्तन र समाजका लागि जीवन बलिदान दिने जस्तो अनुकरणीय काम सायदैबाट सम्भव हुने बताउँदै डा. सिलवालले भने, ‘स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थी र राजनीतिक विभागले शुरुवात गरेको प्राज्ञिक बहसमा जीवन शर्मालाई पाउँदा म ज्यादै खुसी छु। संगीत अन्तर्राष्ट्रिय भाषा हो, गीत जनताको भाषा हो। केही समयपहिले एउटा गीत लेख्नुपर्ने अफर आउँदा मैले जीवन दाइकै बारेमा गीत लेखेको छु, रेकर्ड हुन्छ।’
जीवन शर्मा जिउँदा कार्लमार्क्स
त्यस्तै आरआर क्याम्पस राजनीतिक विभाग प्रमुख भेषराज घिमिरेले जीवन शर्मा जिउँदा कार्लमार्क्स भएको टिप्पणी गरेका छन्। उनले भने, ‘हामीले किताबमा मार्क्स पढ्छौँ, हाम्रोलागि यति निष्ठा, यति अनुकरणीय जिन्दगी बाँच्ने र सर्वहाराको पक्षधर व्यक्ति अर्को कोही हुन सक्दैन।’
उनले भने, ‘जीवन दाइले ०३३ सालदेखि गीत गाउँदै गाउँबस्ती बिउँझाउने काम गर्नुभयो। परिवर्तनका लागि यति ठूलो भूमिका निर्वाह गर्नुभयो। जीवन शर्मा नेपालको लागि कार्ल मार्क्स, माओत्सेतुङ हो।’
तस्बिरहरू : उद्धव तिमिल्सिना