मनाङ–पछिल्लो समय मनाङमा विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ।अन्तरिक पर्यटक बढ्नुमा क्याम्पसका विद्यार्थी ‘टुर प्याकेज’ बनाएर मनाङ आउनाले बढेको हो। काठमाडौँ, हेटौँडा, चितवन पोखरालगायतका क्याम्पसमा पढ्दै गरेका विद्यार्थी मनाङ घुम्ने कार्यक्रम बनाएर आउन थालेका हुन्।
यहाँ आउने विद्यार्थी मनाङका गाउँका मौलिक पराम्परा, रीतिरीवाजलगायत हिमाली भेगको वस्तुस्थिति अनुसन्धान गर्ने गरेको बताउँछन्। सरकारले मौलिक पुरातात्विक वस्तुको जगेर्ना गरेमा आन्तरिक पर्यटकको वृद्धि हुने एड्भान्स कलेजका विद्यार्थी विप्लव पौडेलले बताए।
मनाङको माथिल्लो भेगमा रहेका भ्राका, ङाओल, मनाङ र खाङ्सार महत्वपूर्ण गाउँ हुन्। यिनै गाउँको राम्रो संरक्षण गर्नसक्ने हो भने मनाङ विद्यार्थीका लागि अध्ययन केन्द्र बन्ने अर्की विद्यार्थी मेलिना गौतमले बताईन्।
विद्यार्थीहरु ऐतिहासिक, पुरातात्विक महत्वको अध्ययन गर्दै तिलिचो ताल पुगेर फर्कने गरेका शिक्षक यमप्रसाद तिमल्सेनाले बताए। मनाङ घुम्नेमात्र होइन पछिल्लो समयमा अध्ययन गर्ने आन्तरिक पर्यटक बढ्न थालेका छन्। यहाँ आउने पर्यटकको आकर्षणमा हिमाल र हिमतालबाहेक यहाँका पुराना बस्ती पर्यटकको रोजाइमा पर्न थालेका छन्। (रासस)