लक्ष्मणराज सत्याल
कसैले सोधिदेओस् भन्ने हुन्थ्यो एकताका, हिजोआज छोराहरू कहाँ छन् भनेर। भन्न सकुँ एउटा अमेरिका र अर्को क्यानडामा। सुखानुभूतिले मन रसाउने गर्थ्यो त्यतिबेला। अब समय त्यस्तो रहेन। मृत्यु शय्यामा सुतेको बेला दुई थोपा पानीले ओठ रसाउनुको के अर्थ? मेरो मात्र होइन, लाखौँलाख नेपालीको अवस्था अझ पीडादायक हुनसक्छ।
धेरै अगाडिको कुरा हो, चार छोरा सिफलमा रहेको ६ रोपनी जग्गामा आ–आफ्नो भाग छुट्ट्याउन एउटा वृद्ध बाबुको साथ आएका थिए। घिमिरे कानुनी सेवामा मेरो उपस्थिति थियो। ती चार जवान छोरा समुद्रपारि विभिन्न विकसित मुलुकमा बसोबास र कुनै त नागरिकसमेत भएको अवस्था रहेछ। ती अधवैँसे छोराका बाबुलाई भन्न पुगेँ, ओहो हजुर कस्तो भाग्यमानी ! उनको जवाफ थियो, अर्को एउटा लाटो छोरा जन्माउन नपाएकोमा चाहिँ अभागी ठान्छु। सोध्नैपर्ने भयो, किन? कमसेकम त्यो मेरो साथमा हुन्थ्यो। मार्मिक तितो सत्यले मन छोयो। छोराहरूलाई मात्र होइन, पीडा भोग्ने प्रायः सबैलाई सुनाउने गर्छु।
यो लेख्नुको कुनै अर्थ छैन। केवल आत्मसन्तुष्टि मात्र हो। एउटा भन्छ, अब अमेरिका कहिले आउने? जतिबेला म क्यानडा हुन्छु। रहरले, करले र वाध्यताले दुई÷चार पटक ओहोरदोहोर गरिसकेँ। १०–२० वटा लुगा फेरेँ, मीठो खाएँ, एयर कण्डिसन गाडीमा घुमाउँछन पनि। म चाबहिल कुटुबहालको भाग्यमानी मानिस गणना हुनेमा पर्छु। मभित्रको भाग्यमानी मान्छे देखाउने दैवीशक्ति मसँग छैन। भाग्यमानी भन्नेहरूलाई सराप्न मन लाग्छ, मैजस्तो भएस्। कसैलाई मनमनै हाँसो हासेर टारिदिन्छु। उनीहरू भन्छन्, नेपालमा आऊ? अब को छ र त्यहाँ हाम्रो भनेकोमा चाहिँ मुटु चिरिन्छ, अनि मन धुरु धुरु रुन्छ। दृष्टि र दृष्टिकोण फरक हुनसक्छ।
भन्न मन लाग्छ, मातृभूमि आफ्नो नहुने भयो, म पनि तिमीहरूको हुन सक्तिनँ। उनीहरूले पढेर के बुझे, मैले पढेर के बिर्सें भन्नै सक्तिनँ। उनीहरूको बाध्यता बेग्लै छ। मैले चाहेको सामीप्यताभित्र मेरो आफ्नो स्वार्थ र चाहना छ। मानिस हुनुको अर्थ नै त्यही नै हो।
छोराहरूलाई कुन आमाबाबुले डाक्टर, इन्जिनियर बनाउन चाहँदैन होला। एकै ठाउँबाट ल्याएको आलुको बीउ र त्यही मल हाल्दा कुनै ड्याङमा स्याउजत्रो आलु फल्छ भने अर्को ड्याङको कुहिन्छ। मेरो ड्याङमा स्याउ फल्या कुरो त्यति मात्रै। विज्ञले भन्न सक्ला, म सक्तिनँ। भाग्यमानीको उपाधि दिनेहरूलाई त्यही भन्ने गरेको छु। छोराबुहारीले गरेको प्रगति र नाति नातिनाको उन्नतिमा मैले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण छैन। त्यो सन्तुष्टि नजिकबाट वा मेरो देशलाई काम लाग्ने गरी भएको भए वेश हुन्थ्यो। मेरो कल्पना लगाम छिनेको घोडाजस्तै नछिनेको भए पैला हुन्थ्यो।
मूर्तिकारले वर्षौं लगाएर बनाएको कलात्मक वस्तु पैसा हुने स्वदेशी वा विदेशीले भनेकोे मूल्य हालेर किन्छ। बैठकमा सजाउँछ वा बेडरुममा राख्छ। त्यो खरिदकर्ताको इच्छ्या हो। प्राविधिक विषय पढे अन्य मुलुकका लागि उपयोगी भए गए, अब मेरो उजुरी यो लेखमा मात्रै। बालुवा पेलेर तेल निकाल्ने देशहरूले श्रम किनेर सुन फलाउँदै छन्। स्वदेश निरीह भएपछि विदेशीको पुच्छर समाउनु त प¥यो नै। पेटले माटो खान सक्तैन, खाने त त्यही आहार हो। त्यही खानका लागि ‘मजबुरीका नाम, महात्मा गान्धी’। हाम्रो १ सय रुपैयाँ उनीहरूको एक रुपैयाँको नोट, चाबहिल गणेश पनि त्यही डलरको लड्डुले मख्ख। मनभरि र पेटभरिका थुप्रै कुरा छन्।
मिठो खान नसक्ने असहज परिस्थितिमा हामी सबै एउटा कोठामा बसेर दशैँ आउने बेलामा दशैँकै कुरा र तिहार आउन लाग्यो तिहारकै, कुन कुन कस्तो बत्तीको, मालाले कहाँ कहाँ सजाउने? रमाइलो कुरा गथ्याैँ, चाडपर्वको। अब अवस्थाले कोल्टे फेर्यो, रमाइलो पनि विभाजित भयो न्यू इयर र दशैँमा। छिः सम्पन्नताको कालो बादलले रमाइलोलाई कसरी छायाँमा पार्दो रहेछ नभोगी थाहै नहुने।
उनीहरूको पनि धेरै विवशता होला। छैन भनुँ भने राष्ट्रिय झण्डाले कोठा सिँगारेको र सिरानीमा राखिएको बुद्धको मूर्ति देख्दा ए कहीँ न कहीँ त बीउकै लागि भए पनि अन्तरकुन्तरमा लुकेको राष्ट्रियता बाँकी पो छ कि भन्ने पनि लाग्छ। राष्ट्रियताको धेरै पाठ उनीहरूलाई पढाउन पनि सक्तिनँ। भ्रष्टाचारले सीमा नाघेको, सिण्डिकेटले राज्य चलेको, राम्रोभन्दा हाम्रोले प्रश्रय पाएको विकृति र विसङ्गतिले राज्य डुङ्डुङ्ती गनाउँदा पनि सत्तासैनिकहरूलाई हीनताबोध नभएको देख्दा बाबु हो तिमीहरूले यही पापकुण्डमा पस्नु त परेन, जे गर्यो ठीकै गर्यो।
कुनै कुरा त नलेखुँजस्तो पनि लाग्छ। के गर्नु लुकाउनुभन्दा फुकाउनाले मन हलुको हुन्छ। त्यसैले लेखेरै भए पनि हलुका पार्ने कोशिश गर्छु। बुढेसकालमा पूर्वस्मृतिका सबै कुरा बिर्सने ‘अलजाइमर’ भन्ने रोग लाग्छ रे, रेगन र मार्गरेटलाई जस्तै। बरु त्यस्तै भएको पो वेश हो कि, नत्र त गारोमाथि सारो भनेजस्तै पीडामाथिको पीडाले कति थाम्न सक्छ। थाम्दै जानुबाहेक विकल्प देख्दिनँ। मलाई जस्तै उनीहरूलाई पनि हुन्छ नै होला। सम्झँदा पनि गाह्रो हुने विषय भनेकै यही रहेछ।
देखिने कुरा त लुकाएर पनि लुक्ने होइन। नदेखाउने कुराहरू पनि छन्। जसलाई मैले लेख्नैपर्छ। छोरा, बुहारी वा नाति र नातिनाको आकर्षणमा नेपाल पर्दैन। यो ठहरभित्र पर्ने मेरो सम्भावना १ सय प्रतिशतमा १ पनि छैन। अब मिलन बिन्दुको के होला, खोजी गर्दै जाँदा सुखानुभूति भएको देखाउँदै ध्यानले ज्ञानलाई नजिक ल्याउन सक्छौ भन्छन्, मैले अब खाने दाँत र देखाउने दाँतलाई बुझिने गरी वा नबुझिने गरी आफूलाई अभ्यस्त बनाउन सकेँ भने मेरो सफलता त्यही हुनेछ, के मैले यति गर्न सकुला?