वीरगंज – शिक्षा विज्ञान तथा प्राविधी मन्त्री गिरीराजमणी पोखरेलले सरकारी कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा नै पढाउनु पर्ने बताएका छन्। बाराको चैनपुरमा आयोजित एक कार्यक्रमा उनले यसप्रति आफुँ गम्भिर रहेको बताए।
‘सरकारी कर्मचारीहरुले आफ्ना छोराछोरी समुदायिक विद्यालयमा पढाउँदा विद्यालयको गुणस्तर आफै सुध्रन्छ,’ मन्त्री पोखरेलले भने, ‘अव यसबारेमा सरकार कडा रुपमा प्रस्तुत हुनेछ।’ सरकारी विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सरकार लागिपरेको उनले बताए।सार्वजनिक शिक्षालाई प्रोत्साहित गर्न सबै वर्ग र समुदायको सहयोग आवश्यक रहेको पनि मन्त्री पोखरेलले बताए।
हाल मुलुकमा दुईखाले शिक्षाको कारण धनी र गरिब वर्गबीचको खाडल झनझन बढ्दै गएको बताउदै उनले भने, ‘अहिले मुलुकमा संघीय संविधान लागु भई राज्यको कार्यकारी अधिकार केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरुमा गई सकेको अवस्थामा समाजवाद उन्मुख समाज निर्माणका लागि राज्यको शिक्षा नीति निर्माण गर्ने र त्यसलाई लागु गर्ने चुनौति छ।’
मन्त्री पोखरेलले सरकारी विद्यालयलाई जागिर खाने थलो मात्र नबनाई देश बनाउने थलोको रुपमा विकास गर्न पनि आग्रह गरे। उनले सरकारको यो अभियानमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई निर्देशन दि।
विद्यालयलाई ५० लाख सहयोग
शिक्षामन्त्री पोखरेलले सोही कार्यक्रममा चैनपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई ५० लाख रुपैयाँ बराबरको चेक पनि हस्तान्तरण गरे। चैत १७ गतेको विनाशकारी हावाहुरीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको विद्यालयको पुर्ननिर्माणका लागि नेपाल बैंक लिमिटेडले सहयोग स्वरुप प्रदान गरेको चेक हस्तान्तरण गरिएको हो।
चालू आर्थिक वर्षको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो सहयोगबाट बिद्यालयका लागि ७ वटा कोठा भएको नयाँ भवन निर्माण गरिने बताइएको छ। नेपाल बैंक लिमिटेडका कार्यकारी अध्यक्ष वासुदेव अधिकारीले विनाशकारी हावाहुरीले गर्दा बारामा भएको क्षतिको अधारमा सञ्चालक समितिको निर्णय अनुसार चैनपुरको विद्यालयलाई सहयोग गरिएको बताए ।