सुमन पोखरेल
यति व्यस्त पनि नहोऊँ,
कि आफूलाई हेरी मुस्काइरहेको
आफ्नै आँगनको फूलको सुवास पनि चिन्न नसकूँ
सृष्टिका सम्पूर्ण खुशी
आफूमाझ खसालेर रमाइरहेका केटाकेटीका
खेल हेर्न नभ्याऊँ
प्रेम बोकी हिँड्ने बतासको स्पर्श,
जीवनको स्वरमा गुञ्जिएका चराहरूका चहचहावट,
ओरालै लाग्दा पनि नाचिरहेका झर्नाहरूका उमङ्ग
अँध्यारालाई छक्याउँदै रमाइरहेका जूनकीरीका चमक,
केही बुझ्ने फुर्सद नहोस्।
कहिलेसम्म हतारोको ठेलाइमै बगिरहूँ?
चटारोको भुमरीमै घुमिरहूँ?
जीवन भत्किएर उचाल्लिएको उचाइतिर लखेट्टिइरहूँ?
जीवनको पल्लो छेउ पुगुञ्जेल
आफ्नै अनुहार हेर्ने समय निकाल्न नसकूँ
र एक चोइटो समय हात लागुञ्जेलमा
ऐनामा आफूलाई हेर्दा देखिने मायालुको मुहारबाट
ओज, माधुर्य र यौवन भागिसकेको होस्!
टाउकाभरि रिक्तताको भारी बोकेर
यो युगौँ बुढो समयको खेदाइमा
कहिलेसम्म भागीरहूँ?
जीवन खोज्ने आफ्नो यात्रामा
हिँड्दै गर्नुस् तपाइँहरू
म
एक छिन यहीँ बसी
एक निमेष
जीवन बाँचेर आउनेछु!