इल्या भट्टराई
सुरेश लन्डनबाट फर्किएको कुरा मलाई एकाबिहानै आमाले हतारिएर सुनाउनुभएको थियो। ऊ लन्डन गएको एक वर्ष हुनै लागेको थियो, अहिले फर्केर आएछ। मलाई अचम्म लाग्यो, गएको एक वर्षै हुन नपाई सुरेश किन फर्किएछ? हुन त त्यस्तो बिग्रिन लागिसकेको मान्छेले बेलायतको पढाइ के धान्न सक्यो होला र? यहीँ त पढ्न नसकेको मान्छेलाई बेलायतमा पढन पठाएर पनि हुन्थ्यो के! विचरा काकाले आफूले गर्न सक्नेसम्म त गरेकै हो। अब उसकै भाग्यमा नभएपछि कसको पो के लाग्छ र!
साइनो त केही पनि थिएन मेरो सुरेशसँग। न त उसको बुवासँग नै कुनै नातो थियो। तर तैपनि आफ्नो टोलको मान्छे हो ऊ। आफ्नो छिमेकको मान्छेसँग मनको साइनो त केही मात्रामै भए पनि भई नै हाल्छ। त्यही नाताले सुरेशलाई मैले भाइ भन्ने गरेको थिएँ। ऊचाहिँ मलाई आफ्नै साथीजस्तै भन्ठान्थ्यो।
उसको बुवाले कमाउने मौका पाएका थिए। त्यही भएर दुवै हातले सोहोर्ने गरी कुर्कुस्त कमाएका पनि थिए। त्यसकै परिणति त थियो नि सुरेशले घरबाट टाढिनु पर्यो। परिवारको न्यानोको बीचमा बसेर हुर्कन, बढ्न र पढ्न उसले पाएन। बोर्डिङ स्कूललाई नै उसले घर ठानिदिनु पर्यो। त्यहीँ बस्दाबस्दै उसले आफू युवा भएको अनुभूत गरेको थियो।
त्यही घरको न्यानोपनको अभावले हो कि वा सही मार्ग निर्देशनको अभावले हो कुन्नि सुरेश बिग्रियो। उसको ध्यान पढाइमा भन्दा ठिटीहरूमा बढी जान थालेको थियो। हातका औँलाहरूले पनि कलम समात्न छाडेर चुरोट च्याप्न थालेका थिए। त्यही भएर त बीस वर्षको उमेरमा तेस्रोचोटि ऊ एसएलसीमा असफल भयो। पछि सुरेशका बुवाले उसकै इच्छाअनुसार उसलाई लन्डन छोडेर आउनुपरेको थियो। चुरोट च्याप्ने औँलाले चरेस, अफिम पनि नच्यापून् भन्ने सोचेरै होला, उसको साथीभाइको सङ्गत छुटाउन छोरोलाई सात समुद्र पारि पठाउने निर्णय गर्नु परेको थियो।
बाबुको कमाइमा परजीवी बनेर मोज गर्न पल्किएको छोरोलाई आफ्नै परिश्रममा बाँच्न सिकाउने पनि उहाँको धोको थियो। त्यसैले त पैसा माग्नका लागि आफुसँग हात फैलाउनै नसक्ने गरी उहाँ सुरेशलाई आफ्नै श्रमको बलमा बाँच्नुपर्ने बेलायतको भूमिमा छोडेर आउनुभएको थियो।
यिनै कारणले एक वर्षअघि बेलायत गएको सुरेश अहिले फेरि फर्केर आएको सुनेपछि मेरो मनमा जिज्ञासा उठेको थियो।
‘ओ! प्रेम दाइ कता हो?’ घामको न्यानो रापमा बसेको मलाई उसको स्वर पनि त्यो कलिलो घामजस्तै आनन्ददायी लाग्यो।
सुरेशसँग आजभोलि भेट होला भन्ने त लागेको थियो। तर, हिजै आएको मान्छे आजै एकाबिहान मलाई खोज्दै मेरै घरमै आइपुग्ला भन्नेचाहिँ मैले सोचेको थिइनँ।
‘अनि कस्ती छे त? तिमीले खोजेको निकै च्वाँक होली हगी! उमेरचाहिँ कति छ नि? तिमी आफै त अझै केटाकेटी नै छौ, तिम्री गर्लफ्रेण्ड कति वर्षकी होली र!’ सुरेश मसँग निकै नजिक हुने गरेकाले मैले उसलाई त्यति जिस्क्याउन सकेँ।
‘अनि दाइ, के छ त हालखबर?’ मिजासिलो स्वरमा सुरेश उज्यालिएर बोल्दै थियो। ऊ धेरै नै रमाएको देखिन्थ्यो। बेलायतको बसाइले उसको अनुहारमा निकै उज्यालो थपेछ। रातोपिरो अनुहार मात्र होइन, उताको खानपिनले होला, उसको जीउमा पनि निकै मासु लागेछ। पहिलाको च्याउँसे केटो एकै वर्षमा छिप्पिएको लोग्नेमान्छेजस्तो देखिन पुगेछ।
‘ओहो सुरेश, होइन तिमी त त्यहाँ पढ्न छाडेर पैसा पो कमाउन थाल्यौ कि क्या हो? निकै मोटाएछौ नि ! त्यहाँ त दिनरात खटेर पढनुपर्छ भन्थे। तिमी त दुःख गरेर पढनुभन्दा आनन्दसित बसेर मोटाएका जस्ता पो देखिन्छौ। होइन पढ्न सड्न छाडेर कमाउन थाल्यौ जस्तो छ नि?’
‘आ दाइ ! छोडनुस् त्यस्ता कुरा। हात्ती पढेर ठूलो भा’ हो र? पढने के का लागि भन्नुस् त? त्यही पैसै कमाउनका लागि होइन? मैले यत्तिकै टन्न कमाइरा’छु भने त्यो दुःख गरेर किन पढिराख्नु पर्यो? कि कसो? त्यही भएर मैले त्यो पढ्ने टन्टालाई नमस्ते नै गरिदिएँ।’ सुरेशको सदावहार अट्टहास धेरै दिनपछि मेरो घरमा गुञ्जियो।
‘त्यस्तो भनेर नि हुन्छ र ! पढाइ भन्या त मान्छेले आफूलाई योग्य बनाउने कुरो पो हो त। फेरि काकाले त्यस्तो दुःख गरेर तिमीलाई त्यहाँसम्म पुर्याउनु भयो। लौ तिमी नै भन त, बेलायत गएर पढन पाउने भाग्यमानी यहाँ कति जना छन्? आफूले पाएको सुनौलो मौका पनि त्यसरी खेर फाल्नु हुन्छ र?’ मलाई सुरेशले पढन छाड्यो भन्ने सुनेर नमज्जा लाग्यो।
‘आ होस् होस् दाइ! यो पढाइको कुरा सुन्दा सुन्दा म ओभर टेन्स्ड भइसकेँ। मैले पढ्न छाडेँ भन्या सुनेपछि हिजोदेखि बूढाबूढीले कचकच गरेर टाउको खा’को खायै छन्। त्यही भएर बिहानै यहाँ आ’ त, फेरि दाइ पनि त्यही कुरो गर्न थाल्नु भो।’ उसमा विवशता र विरक्ति एकैपल्ट देखा परे। अघिको हँसिलो अनुहार खोई कुन भावनाले गर्दा हो मलिन देखियो। घामको न्यानोमा चिसो स्याँठ मिसियो। यसो हेरेँ, घाम अलि पर सरेछ।
‘अहिले कमाएँ भन्दैमा हुन्छ र? सधैँ यस्तै काम कहाँ पाइएला! आफूसँग योग्यता भयो भने त त्यो सधैँका लागि आफूसँंग हुने हो। त्यही योग्यताले आफूलाई सधैँ पाल्छ। कुरो त त्यसो पो हो। अँ साँच्ची सुरेश! त्यत्रो पैसा कमाइने त्यहाँ तिमी के काम गर्छौ?’ म पनि उसको भ्रमपूर्ण सोचाइ मेट्न सक्छु कि भनी तर्खरिएको थिएँ। अझ बढी न्यानो पाउन मैले आफ्नो मेचलाई पूरै घाममा सारेँ।
‘अँ, दाइ काम भन्या त्यस्तै यताउति त हो नि कमाइ राम्रै छ। यी, मैले दाइलाई ओरिजनल लिभाइजको पाइन्ट ल्याइदिएको छु। दाइ जिन्स लाउने मान्छेलाई मैले सम्झेर ल्याइदिएको।’ सुरेशले पनि आफूलाई घाममै रूपान्तरित गर्यो।
‘यस्तो महँगो कुरा पनि ल्याउनु पर्थ्यो त?’ मेरो मनले खुशी मिश्रित असजिलो मान्यो।
‘यस्तै त हो नि दाइ! मैले सम्झिने तपाईंहरूलाई त हो नि।’ उसले पनि मलाई फकाउने हतियार फाल्यो।
‘अनि के छ उता ? गर्लफ्रेण्डहरू पनि बनाएका छौ कि, यत्तिकै लाज मानेर बसेका छौ ?’ मैले सुरेशलाई जिस्क्याएँ। ‘त्यहाँ पुगेपछि पनि एक्लै हुने कुरा के हुन्थ्यो! छ नि दाइ मेरो पनि ।’ ऊ असजिलो मान्दै मख्ख पर्यो। उसको अनुहारमा जतासुकै घाम उजेलिएर फैलियो । छेउमै फुलिरहेको लालुपातेमा अझै रङ थपियो।
‘अनि कस्ती छे त? तिमीले खोजेको निकै च्वाँक होली हगी! उमेरचाहिँ कति छ नि? तिमी आफै त अझै केटाकेटी नै छौ, तिम्री गर्लफ्रेण्ड कति वर्षकी होली र!’ सुरेश मसँग निकै नजिक हुने गरेकाले मैले उसलाई त्यति जिस्क्याउन सकेँ।
‘काँ’ दाइ। याँ’कोजस्तो सोचाइ उता काँ’ हुन्छ र! उता त गर्लफ्रेण्ड आफूभन्दा कान्छी नै हुनुपर्छ भन्ने छैन। कत्तिको त आफूभन्दा बीसौँ वर्ष जेठी गर्लफ्रेण्ड हुन्छन्! सुरेशले यति भनिरहँदा मलाई किन किन उसको अनुहारको चमक केही मलिन भएको हो कि जस्तो लाग्यो। उसको ओठमा आएको हाँसो नि कृत्रिम हो कि जस्तो लाग्यो। अघिको घामको न्यानोलाई फेरि स्याँठले पो जित्यो कि जस्तो लाग्यो। लालुपातेको चहक केही धमिलिएको जस्तो लाग्यो।
‘अरूको जे सुकै होस् न। तिम्री त बूढी छैन होली नि?’ मैले हाँस्दै उसको कुरोको प्रतिवाद गरेको थिएँ।
सुरेशको अनुहारको बादल छिनभरमै बिलायो। आँखामा केही सङ्कोच उमार्दै उसले मसिनो स्वरमा जे भन्यो त्यो सुनेर मेरो मनमा ठूलै भुइँचालो गयो।
‘दाइ, म जोसँग बस्छु, त्यो आइमाई पनि चालीस वर्षकी छे।’
‘को हो त्यो, तिम्री घरपति बूढी?’
‘अब दाइ, जे भन्नुहोस्। गएको पाँच, छ महिनादेखि म उसैसँग बसेको छु। उसले मसँग सँगै बस्ने भनेर एक वर्षको सम्झौता गरेकी छे। त्यसको वापत उसले मलाई पैसा पनि मैले मागे जति कुर्कुस्तै दिएकी छे।’
‘मेरो त दाइ! कमाएको पैसा पूरै बच्छ। खान बस्न उसैले खर्च गरिहाल्छे। बाहिरतिर घुमघाम गर्न रमाइलो गराउन पनि उसैले लगिहाल्छे। मलाई त मोज भएको छ। खान बस्न सित्तैमा पाइहालिएको छ। अनि अरूथोकका लागि पनि उही छँदैछे। त्यतिका लागि त उसले मलाई आफूसित राखेकी! अब उमेर बढी भो भनेर के गर्नु र दाइ, केही कुरामा त सम्झौता गर्नु परिहाल्छ नि होइन? फेरि उताका आइमाईहरू चालीस वर्षका पनि, यताका पच्चीस वर्षका जस्ता हुन्छन्। त्यही भएर मलाई केही फरक परेको छैन। आफ्नो उमेरकी केटी भएकी भए त्यो सप्पै खर्च मैले नै बेहोर्नु पर्थ्यो। फेरि यस्तो घुमफिर गर्न पनि कहाँ सकिन्थ्यो र! त्यसमाथि मैले उसलाई सधैँको लागि बिहे गरेको त होइन नि!’
‘मैले त दाइ, बुझ्नु भो, लण्डनको एक से एक दामी रेस्टुरेन्टहरू, होटलहरू चहारिसकेको छु। अस्ति पेरिस जाँदा पनि हामी फाइभ स्टार होटलमै बसेका थियौँ। ल दाइ भन्नुस् त आफ्नो कमाइले त हामी त्यस्ता ठाउँहरूमा चियाउन पनि सक्दैनौँ हो कि होइन? तरुनी मात्रै भनेर के गर्नु, त्यस्तो कमाइ र त्यस्तो मोजमज्जा त मैले सात जुनीमा पनि गर्न सक्दिन’थेँ।’ सुरेश मानौँ मलाई आफ्नो कृत्यको स्पष्टीकरण दिइरहेको थियो। म भने उसको कुरो सुनेर अझै पनि किंकर्तव्यविमूढकै अवस्थामा थिएँ। आकासमा पनि खोई कताबाट हो कुन्नि बादल डम्म लागेर आयो।
‘फेरि नि दाइ, त्यस्ता बूढीहरूले कत्ति मायाँ गर्दा रै’छन् भने म के बताऊँ। मार्थाले आफू नखाएर पनि मलाई ख्वाउँछे। यसो टाउको दुख्यो भन्न हुन्न घन्टौँ टाउको मिचेर बस्छे। बजारमा आएको नयाँ लुगा भोलिपल्टै मलाई किनिदिई सक्छे। मैले जे भन्यो त्यो तुरुन्तै पुर्याउँछे। मलाई आफ्नो मिस्टर भन्छे। मलाई त दाइ, उसँग बस्दा स्वर्गमै बसेको छु कि जस्तो भा’ छ। मलाई त बुझ्नु भो’, ऊसँग एक वर्ष सँगै बस्ने कन्ट्र्याक्ट कति चाँडै सकिन लाग्यो भन्ने पो पीर परेको छ। उसले अर्को वर्षका लागि पनि मलाई नै राखे त हुने थियो। झन् ऊ अर्को वर्ष पेरिसमा काम गर्छु भन्दैछे। अर्को वर्षका लागि पनि उसले कन्ट्रयाक्ट बढाई भने त म एक वर्ष पेरिसमा मोज गरेर बस्न पाउने थिएँ।’
हुन त ऊ मसँग एकदम खुशी छे। अहिले मलाई यहाँ पठाउनै मानेकी थिइन। म भइनँ भने उसलाई साहै्र नियास्रो लाग्छ भन्दै थिई। म आउँछु भनेपछि उसले तिमीले आफ्ना मान्छेहरूलाई के के उपहार लग्छौ, त्यो सबै मै किनिदिन्छु भनेर यहाँ ल्याउने सामानहरू सबै उसैले किनिदिई। दाइलाई ल्याइदिएको यो प्यान्ट पनि उसैले किनिदिएकी हो। ल भन्नुस् त दाइ, बूढी भएर के भो त! तरुनी गर्लफ्रेण्डहरूले यत्ति माया गर्छन्? त्यही भएर दाइ, म उसको मिस्टर हुन पाएकोमा एकदम खुसी छु। उसँग बसेर एकदुई वर्ष टन्न पैसा कमाउँछु अनि त्यही पैसा नेपाल ल्याएर यहाँ बिजनेस गरेर बस्छु। अनि बल्ल आफूले भनेजस्तो यताकी एउटी राम्री केटीसँग बिहे गर्नुपर्ला।
उसको कुरो म हतप्रभ भएर सुनिरहेको थिएँ। मैले आइमाई मात्र कसैको रखौटी हुन्छन् भन्ने जानेको थिएँ तर आज आएर पुरुषले पनि त्यस्तो भूमिका खेल्दा रहेछन् भन्ने चाल पाउँदा म जिल्लै परेँ। त्यसमाथि उसको गर्वले भरिएको आत्मसन्तुष्टिको कुरा सुन्दा त म झन् आश्चर्यचकित भएँ। ‘ओहो! यस्तो पनि हुँदोरहेछ?’
आकर्षक जीउडालको सुदर्शन व्यक्तित्व भएको सुरेश मलाई हेरेर सन्तुष्टिपूर्वक हाँस्दै आफ्नो पुरुषार्थको डिङ हाँकिरहेको थियो। तर, उता म भने उसको त्यो आकर्षक व्यक्तित्वभित्र एउटा फोहोरी, घिनलाग्दो, विकलाङ्ग, अशक्त र नामर्द सुरेश देख्दै थिएँ। उसको भद्दा र कुरूप हाँसोले ममा वितृष्णा उमार्दै थियो।
अनि उसले ल्याइदिएको त्यो महँगो पाइन्ट पनि बाटोमा किचिएको चिप्लेकीराजस्तै घिनलाग्दो फोहोरमा परिणत भइदियो ।
आकाशको न्यानो घामलाई पनि बादलले कुन सड्को छेकिसकेको रहेछ।