आख्यानकार गीता केशरी चिन्तनशील एवं मौलिक लेखनमा नेपाली साहित्यिक आकाशमा चिर–परिचित नाम हो। यो नाम आफैमा कुनै विशेष परिचयको मोहताज राख्दैन। उनका डेढ दर्जनभन्दा बढी आख्यान कृतिहरू समाजमा विद्यमान वर्गीय विभेदको अन्त्यका लागि क्रान्तिकारी उपहार सावित भएका छन्। प्रशासनिक र साहित्यिक दुई व्यक्तित्वलाई एकै समयमा समानान्तर रूपले अघि बढाउन सक्षम केशरीले मानवता र नैतिकताको पक्षपोषणमा लेखनीमार्फत आफ्नो वर्चश्व स्थापित गरेकी छिन्। प्रस्तुत छ, उनका लेखनसम्बन्धी मान्यता र योगदानमा केन्द्रित रहेर नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले गरेको संवादः
अहिले नेपाली साहित्य र राजनीति मूल रूपमा दुई धारमा बाँडिएको देखिन्छ। यसैका आधारमा साहित्यकारहरूको मूल्याङ्कन गर्ने हलुका सोच पनि विद्यमान छ। यस विषयमा तपाईको धारणा के छ?
–राजनीतिक विचारका आधारमा कुनै पनि व्यक्तिलाई सम्पूर्ण रूपले मूल्याङ्कन गर्न मिल्दैन, हुँदैन पनि। नेपाली समाजको हालसम्मको परिस्थितिले नै समाजवाद र साम्यवाद दुवैको माग गरिरहेको म देख्छु। जुन ठाउँमा शिक्षाको यथेष्ट विकास हुनसकेको छैन, गरिबी छ, त्यस ठाउँमा साम्यवादको आवश्यकता पर्छ। साम्यवादलाई समाजवादको सहयोग आवश्यक पर्छ। म साहित्य देशका लागि लेखिनुपर्ने मान्यता राख्छु। शिक्षामार्फत गरिबी उन्मूलनका पक्षमा लेख्नु र लेखनमार्फत नैतिक स्थापना गर्न सघाउनु मेरो लेखनको ध्येय रहँदै आएको छ।
म चाहन्छु, मेरो जीवनकालमै देशमा लुछाचुँडीको साहित्य र राजनीतिभन्दा नयाँ सोच र खोजको नयाँवादको उदय होस्। हाम्रो परिवेशमा यो समाजवाद र साम्यवादको मिश्रणबाट जन्मने नयाँ मान्यता हुनसक्छ। साम्यवादलाई समाजवादको मेन्टल ट्रिटमेन्ट चाहिन्छ भने साम्यवादले प्रचूर योग्यता दिलाई गरिबी उन्मूलनका लागि उपयुक्त अवसरको व्यावहारिक मार्ग पहिल्याउन सक्छ। यी दई छुट्टिएर देशको विकास हुँदैन। त्यसैले साहित्य र राजनीतिको उद्देश्य समाज र देश हुनुपर्छ र त्यसका लागि यी दुवै क्षेत्र जिम्मेवार भएर अघि आउनुपर्छ।
पछिल्लो समय तपाईका दुईवटा फरक शैलीका कृतिहरू आए, अब निकट भविष्यको लेखन कस्तो हुने छ?
–आउने कृतिका लागि शैलीगत रूपले म आख्यान नै रुचाउँछु। मस्तिष्कले विषयको खोजी गर्दैछ। साहित्य समाजको ऐना हो भन्ने सैद्धान्तिक मान्यतालाई व्यवहारिक लेखनबाट पुष्टि गर्ने सोचाइ पनि आइरहेको छ। यसका लागि पहिलेदेखिकै समाजको अध्ययन र मनन गर्नु आवश्यक छ। वर्तमान समाजलाई मार्गनिर्देश गर्न पनि परम्परागत समाजको दृष्टान्तसँगै तुलनात्मक अध्ययन हुनु आवश्यक छ। यस्ता विषयमा विगतमा लेखिए पनि पूर्ण लेखन हुनसकेको छैन। कतै न कतै एकपक्षीय भएको पाइन्छ।
वैदिककालदेखिकै समाजलाई पृष्ठभूमिबाट नियालेर आजको समाज विकासको गतिलाई आख्यानीकरण गर्ने सोच आएको छ। यस्तो लेखनले मात्र समाजलाई गति दिन स्टेयरिङको काम गर्छ भन्ने लागेको छ। म मेरो मस्तिष्कले लङ सटमा खिचेको तस्बिरमा नेपाली समाजको प्रतिविम्ब खोज्दैछु, त्यहाँ धेरैजसो धमिलिएका आकृतिहरू खोज्नुछ, अनि मात्र मेरो आगामी लेखनको खाका तयार हुनेछ।
नारीले शिक्षाको अवसर नपाउँदा वा कम पाउँदा सन्तुलित स्थिति आउन नसकेको तथ्यलाई स्वीकार्दै म के कुरामा विश्वस्त छु भने आजको नारी पुरुषको सामाजिक स्थितिमा पूर्ण समानताको स्थिति आइनसकेको भए पनि यो अपग्रेड भइरहेको छ।
नारी र पुरुषका लेखनलाई अब एकै ठाउँबाट सम्बोधन गरिनुपर्ने स्थिति बन्नुपर्ने विषयमा तपाईको धारणा के छ?
–त्यस्तो परिस्थिति बनिसक्नुपर्ने हो, तर बन्न सकिरहेको छैन। यसमा आजको प्रतिक्रिया मात्र जिम्मेवार छैन। अतीतले दिएको चस्मा आज पनि त्यही रेन्जमा मात्र फिट भइरहेछ। वास्तवमा शरीर हेरेर गरिने मूल्याङ्कन अब उपयुक्त छैन। सोचमा परिवर्तन ल्याउन समाजमा सांस्कृतिक क्रान्ति आउनुपर्छ, अहिले केही हदसम्म त्यो आएको पनि छ। मैले भोगेको मेरो समय र अहिलेका नारीले भोगिरहेको वर्तमानलाई तुलना गर्ने हो भने यस अन्तरालमा धेरै परिवर्तन भएका छन्।
पहिलेदेखि प्राकृतिक जिम्मेवारीका कारणले केही समयको कमजोर शारीरिक स्थिति र तत्कालीन समाजको जीवनशैलीलाई लिएर गरिएका श्रम विभाजनका आवश्यकताका आधारमा आजको समाजलाई हेरियो भने त्यहाँ समान सम्बोधन हुन सक्दैन। खासगरी आजको समय शिक्षा, प्रविधि र ज्ञानको समय हो। नारीले शिक्षाको अवसर नपाउँदा वा कम पाउँदा सन्तुलित स्थिति आउन नसकेको तथ्यलाई स्वीकार्दै म के कुरामा विश्वस्त छु भने आजको नारी पुरुषको सामाजिक स्थितिमा पूर्ण समानताको स्थिति आइनसकेको भए पनि यो अपग्रेड भइरहेको छ। अहिलेको समय सही दिशामै छ। विवाहिता पत्नीलाई सेविका मान्ने परम्परा अहिले जीवनसाथीका रूपमा लिइने प्रवृत्तिमा आइपुग्नु सुखद परिवर्तन हो तर समग्रमा ढिला भने पक्कै भएको हो।
विशेषतः तपाईको आख्यान लेखनका मूल विषयहरू के–के हुन्?
–दबिएको वर्गलाई उठाउनु र शैक्षिक स्थितिमा सुधार र समानता ल्याउने कोशिशमा लेख्नु मेरो आख्यानको धर्म हो। यी दुवै कुरालाई यथोचित उठाउनका निम्ति मानवता र नैतिकताको पक्षधर भएर लेखिरहेकी छु।
पछिल्लो समय युवा लेखकहरु प्रशस्तै उदाएका छन्, नयाँ पुस्ताको लेखनलाई कसरी हेरिरहनु भएको छ?
–विषयहरू नयाँनयाँ आइरहेका छन्। समाज सुधारका निम्ति राम्रा कुरा पनि आइरहेका छन्। केही लेखनमा भने एट्टिच्युड परिवर्तन गर्न अझै बाँकी रहेको पनि देखेकी छु। विषयसँग राम्ररी डिल गर्न सक्नपर्छ भन्ने मलाई लाग्छ। विषयलाई छोएर मात्र हुँदैन। यो एउटै लेखन वा एकै समयमा हुने प्राप्ति होइन, परिवर्तनका निम्ति समय लाग्छ। निरन्तरता हुनु जरुरी छ। नारी–पुरुषका विषय प्राकृतिक हुन्। यसलाई नबुझ्दा समाजमा डामाडोल स्थिति आइरहेको छ। आध्यात्मिक युगदेखि नै नारीलाई पुरुषको दायित्व मानिएको पाइन्छ। त्यसपछिको विकासशील युगमा पनि श्रम नै आयको स्रोत हुनु र यसका लागि नारीका तुलनामा पुरुष सक्षम रहनुले समाजलाई त्यसै अनुकूल निर्देशित गरेको देखिन्छ।
अहिले शक्तिकेन्द्रहरूमा नारीको वर्चस्व कायम हुँदैछ। हिजोको मान्यतालाई विस्थापित गर्दै हाम्रा छोरीहरू आर्मी–प्रहरीको तालिम लिँदै उच्च ओहदामा समेत पुगिरहेका छन्।
त्यो बेला आयका निम्ति मानिसका श्रम मात्रले नपुगेर पशुलाई समेत कँजाउनुपर्ने समय थियो र मनोविज्ञान पनि त्यसरी नै स्थापित भयो तर आजको परिवेशलाई बुझ्ने हो भने नारी पुरुषको सम्बन्धमा सन्तुलन ल्याउन गाह्रो छैन। आजका भोक्ता लेखकले यस विषयमा धेरै सकारात्मक ध्वनि फैलाउन सक्छन्। म आजको नयाँ पुस्ताका लेखकसँग यस्तो अपेक्षा राख्छु। म स्वस्थानी कथाका सात बर्षकी गोमा र सत्तरी वर्षको शिव शर्माको कथासित मेरो किशोरावस्थादेखि नै असहमत थिएँ। विष्णुलक्ष्मीको प्रतिमामा स्वर्ण आभूषित शेषनागमाथि सुतिरहेका विष्णु र खुट्टा मिचिरहेकी लक्ष्मीको स्वरूपलाई घर भित्र्याउन त्यतिबेलैदेखि इन्कार गर्थें। त्यो समयको अन्तराललाई हेर्दा आज त यस्तो असमानता निर्मूल नै भइसक्नुपर्ने होइन र!
समानताका निम्ति नारीका वर्तमान व्यावहारिक अवसर र प्रयासहरूप्रति तपाईको विश्लेषण के छ?
–अहिले भगवानले दिएको भन्दै अनियन्त्रित बच्चा जन्माएर अस्वस्थ जीवन बाँचिरहने जीवनशैलीबाट नारीहरू मुक्त भइरहेका छन्। आमा हुनु र अन्य सामाजिक सहभागितामा नारीको शक्ति विस्तारित भइरहेको छ। अहिले शक्तिकेन्द्रहरूमा नारीको वर्चस्व कायम हुँदैछ। हिजोको मान्यतालाई विस्थापित गर्दै हाम्रा छोरीहरू आर्मी–प्रहरीको तालिम लिँदै उच्च ओहदामा समेत पुगिरहेका छन्। यस्तो पावरको विस्तार सदैव देश र जनताका हितका निम्ति त हुन् नै, समाजको सोचमा परिवर्तन ल्याउनमा पनि उच्च भूमिका खेल्ने विषय हुन्।
यसले नारी र पुरुषबीच प्रतिष्पर्धा, प्रतिद्वन्द्विता र वैमनश्यताको सिर्जना गर्न सक्छ कि भन्ने आशंकातिर तपाईको दृष्टिकोण कस्तो छ?
–यसले वैमनस्यताको सिर्जना गर्नुभन्दा समानताको व्यवहारलाई पुष्टि गर्छ र त्यस बाटोमा अरूलाई पनि प्रेरित गर्छ। हरेक हिसाबले सहकार्यमा जुट्न सक्ने भएपछि नारी पुरुष दुवैले एकअर्काका निम्ति हरेक अप्ठ्यारामा भरोसा राख्न सक्छन्। मानसिक रूपले नै समान हौँ भन्ने मनोविज्ञान तयार हुन्छ। यसैले आजका नारीको प्रयास नारीशक्तिको परीक्षा र चुनौती दुवै हो। नारीलाई एकपक्षीय रूपले कमजोर ठानी समाजको आश्रित वर्ग मान्ने प्रचलनको अन्त्यका लागि यो स्वतन्त्र समाजमा भइरहेको नारी स्वातन्त्र्यताको बढ्दो कदम स्वागतयोग्य छ। यो कदम अन्ततः नारीपुरुष दुवैको हितमा छ।
साहित्य र राजनीतिको सम्बन्धलाई तपाई कसरी हेर्नुहुन्छ?
–राजनीतिका लागि साहित्य आवश्यक छ। साहित्यले व्यक्ति र समाजको भावनालाई मानसिक रूपले जोड्छ। यसले प्रत्येक व्यक्तिभित्रको हार्दिकतालाई तिखार्छ र मानवताको कक्षामा उकाल्न सहयोग गर्छ। राजनीतिले त्यही समाजलाई दिशा निर्देश गर्ने हो। साहित्यले निर्माण गरेको समाजलाई असल राजनीतिले सही दिशामा परिचालन गर्नसक्छ। मानव भावना बेगर कुनै पनि व्यवस्था सफल हुन सक्दैन, किनभने प्रत्येक मानवले आफ्नो भावनाबाटै आफ्नो जरुरत प्राप्त गरेको हुन्छ। समाजमा त्यही भावना र जरुरतलाई सामाजिक रूपबाट एकअर्कामा फैलाउनु पर्छ। यसका लागि राजनीति जिम्मेवार हुन्छ।