वीरगंज – वीरगंज–पथलैया औद्योगिक कोरिडोरस्थित डेनियम लेब्रोटोरिज प्रालि टाट पल्टेको छ। बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित उद्योगको कमजोर व्यवस्थापन र उत्पादित समान बिक्री नभएका कारण टाट पल्टिएको बताइएको छ।
उद्योगको एक महिनामा १० जना प्रबन्धक फेरिएका थिए। कम्पनीले सेन्चुरी बैंकको वीरगंज शाखाबाट १८ करोड ऋण लिएको थियो। दुई वर्षदेखि साँवा–व्याज नबुझाएपछि बैंकले गत चैत १८ गते एक राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिन भित्र हाजिर हुन सञ्चालकहरुको नाममा सार्वजनिक सूचना प्रकाशित गरेको थियो।
उद्योग सञ्चालकले भने ऋणको साँवा–व्याज चुक्ता गरेर उद्योग सञ्चालन गर्ने तयारी भइरहेको बताएको छ। कम्पनीले बताएबमोजिम ऋण चुक्ता गर्न नसकेको खण्डमा भने टाट पल्टेर लिलामीको प्रकृयामा जाने निश्चित देखिन्छ।
‘बैंकको १८ करोड ऋण र ४ करोड व्याज छ, धितो राखेका उद्योग सञ्चालकको बैंकले खोजी गरिरहेको छ,’ उद्योगका एक मजदुरले भने, ‘पैसा बुझाउन सकेन भने उद्योग लिलामीमा जाने अर्को १५ दिने सूचना पनि जारी हुने सुनेका छौँ।’
मजदुरको दुई वर्षको पारिश्रमिक मात्रै करिब ४० लाखको हाराहारीमा बक्यौता रहेको उनले बताए। एकजना मजदुरको कम्तिमा १ लाख रुपैयाँ तलव बाँकी रहेको बुझिएको छ। ‘मजदुरहरुलाई उद्योगको जागिर ननिल्नु न ओकल्नु भएको बताएका छन्,’ एक मजदुरले भने, ‘वर्ष दिन काम गरेपनि पैसा पाइदैँन।’
बैंकले उद्योगका सञ्चालकहरु पर्सा सबैठवाका रामबाबू चौरसिया, दुर्गेश चौरसिया, धनमति देवी चौरसिया, लवकुमार चौरसिया, ईभा चौरसिया, वीरगंज–१६ नगवाका जनमोहनप्रसाद बरै, वृजकिशोर वरै र रामअसिस वरैको नाममा सूचना जारी गरेको थियो। उनीहरु एकै परिवारका सदस्य तथा आफन्तजन हुन्।
विगत दुई आर्थिक वर्षदेखि नियमसंगत तलब भत्ता नपाएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। आइतबारदेखि उनीहरुले धर्ना शुरु गरेको नेकपा निकट समग्र उद्योग ट्रेड युनियन एकाई कमिटि अध्यक्ष मुकेश यादवले बताए।
३९ जना मजदुर रहेको उद्योगले आर्थिक वर्ष २०७४÷०७५ मा १० जना मजदुरहरुको तलब भत्ता दिएको छैन भने बाँकी ३९ जनाको १÷१ महिनाको तलब र १२ महिनाको सञ्चय कोषवापतको रकम पनि नपठाएको मजदुरहरुको भनाई छ।
उद्योग व्यवस्थानले मजदुरहरुको बक्यौता रकम नदिएसम्म आन्दोलन जारी रहने मजदुर मुन्ना कुशवाहाले बताए। उद्योगका प्रबन्धक योगेश चौधरी भने समस्याको समाधानका लागि पहल भइरहेको बताउँछन्।
उनले उद्योगको कमजोर आर्थिक अवस्थाका कारण मजदुरको पारिश्रमिक दिन ढिलाई भएको बताउदैँ उनले भने, ‘उद्योग सञ्चालन भए विस्तारै तलब पनि दिदैँ जाने विषयमा सहमति गर्ने प्रयास भइरहेको छ।’
सेञ्चुरी बैंक मुख्यालयका प्रवक्ता मनोज न्यौपानेले भने आफ्ना ग्राहकले लिएको ऋण वा कारवाहीसम्बन्धमा बोल्न नमिल्ने बताए। उनले भने, ‘कम्पनीको कारोबार न त्यति राम्रो छ न त्यति खराब छ।’
उद्योगको इतिहास
२०५२ सालमा स्थापना भइ १८ कट्ठामा फैलिएको उद्योगले शुरुमा ५७ किसिमको ट्याब्लेट, सिरप, मलहमलगायत औषधी उत्पादन गर्दै आएको थियो। उद्योगको स्थापना विनोद खण्डेलवालले गरेका थिए।
२०७४ साल अघि औषधी व्यवस्था विभागले उद्योगको उत्पादन गुणस्तरहिन भएको भन्दै २ महिना उत्पादनमा रोक लगाएको थियो। उद्योगले उत्पादन गर्ने एक ब्रान्डमा केही तत्वको मात्रा नमिलेको उजुरी परेको थियो।
परिक्षणको क्रममा उक्त कुरा पुष्टि भएपछि उत्पादनको गुणस्तर सुधार नगरेसम्म उत्पादनमा रोक लगाइएको थियो। पछि उद्योगले सच्याएपछि पुनः सञ्चालनमा आएको थियो। सोही दौरान उद्योगको सम्पर्क बजारसंग टुटेपछि खण्डेलवालले चौरसिया परिवारलाई उद्योग बेचेका थिए।