बुटवल – रुपन्देहीको सैनामैना नगरपालिकाले आइतबारदेखि गाउँब्लकमा रहेका जग्गाको लालपूर्जा वितरण सुरु गरेको छ। ‘बल्ल स्वामित्व प्राप्त भयो, अब यसैका आधारमा बहुउपयोगका काम गर्न सकिने भयो,’ पुर्जा पाएपछि खुसी भएका स्थानियले प्रतिक्रिया दिए।
सैनामैना नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा लालपुर्जा वितरण सुरु गरेको हो। भूमि व्यवस्था, सहकारी गरिबी निवारणमन्त्री पद्मा अर्याल, नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्की, नापी विभागका महानिर्देशक प्रकाश जोशीले संयुक्त रुपमा लालपुर्जा वितरण गरे।
आइतबार मात्रै करिब चार सय ६५ लालपुर्जा वितरण गरिएको छ। गाउँ ब्लकमा रहेका विभिन्न वडाका १७ वटा ब्लकमा आइतबारदेखि सुरु भएको लालपुर्जा वितरणको कामलाई निरन्तरता दिइने र आगामी दिनमा पनि जारी रहेने नगरप्रमुख कार्कीले बताए।
चार सय ६४ जनाले पाए लालपुर्जा
सैनामैना नगरपालिकाले एकैदिन चार सय ६४ जनालाई लालपुर्जा वितरण गरेको छ। यहाँका साविकका पर्रोहा र सालझण्डी गाविस अन्तर्गत रहेका विभिन्न १७ वटा ब्लकका गाउँब्लकको समस्यामा रहेका समुदायलाई आइतबार एकैसाथ लालपुर्जा वितरण गरिएको हो।
२०२३ सालमा तत्कालिन सरकारले एकसरो नापी गर्ने क्रममा छुटेका यहाँका गाउँब्लकका सयौं कित्ताहरुको लालपुर्जा छैन।
सोही ब्लकका लागि सैनामैनाले लालपुर्जा वितरण गरेको हो। यहाँका सोरौली, पर्रोहा, चेथरी, सेरुवा, बक्सड, सदवोरा, कुस्मा, खलनपारा, बनकटवा, उत्तर दोगहरा, खखनपुर, रन्यौरा, विचौवापुर, उत्तर बरौली थता फच्कापुर र भच्कैया गाउँका चार सय ६४ लालपुर्जा वितरण गरिएको थियो।
पहिले नापी गर्दा गाउँ वस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ। घर वनाएर बसेका तर नापी भएरपनि पुर्जा नपाएकाहरुलाई सरकारले आईतवारदेखि पुर्जा वितरण गर्न सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए।