काठमाण्डौ – सरकारले प्रतिबन्ध लगाएपछि विप्लव नेतृत्वको नेकपा अझबढी आक्रामक भएको छ। आफ्ना ध्वसंक गतिविधीहरुलाई तीव्रता दिएको छ।
श्रृखंलाबद्ध बिष्फोटका घटनाहरू गराउँदै आएको विप्लव समूहले सरकार विरुद्ध आफ्ना कठोर कदम चाल्ने संकेत दिइरहेको भएपनि जेठ १२ आइतबार बिप्लवको गतिवीधीका कारण राज्य संरचनालाई नराम्ररी झक्झकाएको छ। राजनितिक वृत्तमा तरङ्ग पैदा गरेको छ।
काठमाडौंको सुकेधाराको एक सैलुनमा साँझ पर्नै लाग्दा सिलिण्डर बिष्फोट भयो। दुई जनाले घटनास्थलमै ज्यान गुमाए। अर्का एकजनाको उपचारको क्रममा मृत्यु भयो। लगत्तै सिंहदरवारनजिकको बैद्यखानास्थित एक घरमा पनि बिष्फोट भयो। एक युवकले घटनास्थलमै ज्यान गुमाए। अर्का एकजना घाइते भए। दुबैजना बिप्लव नेतृत्वको नेकपाका बिद्यार्थी नेता भएको बताइएको छ।
शुरुमा यि दुवै घटना आकस्मिक रुपमा भएको दुर्घटनाजस्तो देखिएको थियो। पछि प्रहरीले प्रारम्भिक अनुसन्धानबाट फेला परेको तथ्यहरु प्रकाशमा आएपछि भने आम जनमानसमा एक किसिमको त्रास पैदा गरिदिएको छ। त्यसमाथि राजधानीका विभिन्न स्थानमा भेटिएका बमलगायतका शंकास्पद बस्तुका कारण सुरक्षा संयन्त्र पनि हाई अलर्टमा छ।
एकाएक उत्पन्न यो परिस्थितीले गृह र रक्षा मन्त्रालयलाई गम्भिर हुन बाध्य बनाएको देखिन्छ। विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बिप्लव समुहलाई कमजोर भन्दै अभिव्यक्ति दिने सबैलाई एकपटक घोत्लिन बिवश बनाएको छ, आइतबारको घटनाले।
बिष्फोटमा घाइते भएका एकजनाले बम बनाउने क्रममै बिष्फोट भएको भनेर दिएको बयान र नरेफाँटमा प्रहरीले पक्राउ परेका ७ जनाको साथबाट बरामद भएको ४ थान प्रेसर कुकर र पर्चाहरुले अवस्थाको गाम्भियर्ता झनै बढाएको छ।
सहयोद्धाको व्यवहारले चिढायो
तत्कालिन एकिकृत नेकपा माओवादीबाट मोहन बैद्य किरणको नेतृत्वमा छुट्टिएको नेकपा–माओवादीमा थिए नेत्र बिक्रम चन्द बिप्लव। पार्टीभित्र सधैँ हक्कि स्वभावमा मानिने बिप्लव युद्धमा नै बिश्वास गर्ने खालका नेता भएको उनलाई चिन्नेहरुको बुझाई छ।
शान्ति प्रकृयामा आएपछि माओवादीले बाटो बिराएको भन्ने बिप्लव पार्टीका शिर्ष नेताहरुसँग सन्तुष्ट थिएनन्। बैद्यसँग रहँदा पनि उनी सन्तुष्ट थिएनन्। त्यसैले बैद्यसँग छुट्टिए। लामो समय संगठन बिस्तार र सुदृढिकरणमा लागेका बिप्लवले बिस्तारै चन्दा उठाउने, जनप्रतिनिधी–कर्मचारी धम्क्याउनेलगायतका गतिविधी बढाउदैँ गए।
जानकारहरुका अनुसार उनी युद्धका लागि आवश्यक पर्ने हतियार र अर्थ संकलनमा जुटे। ‘चुपचाप हतियार र पैसा जम्मा गरिरहेका थिए बिप्लवहरुले,’ एकजना राजनितीका ज्ञाता भन्छन्, ‘राम्रै शक्ति संचय गरेर राज्यबिरुद्ध गतिविधी गर्ने योजनाअनुरुप नै भइरहेको थियो।’
बिप्लव समुहको योजनाको भेउ पाएको सरकारले बिप्लवका कार्यकर्तामाथि धरपकड शुरु गर्यो। यसक्रममा पार्टी प्रवक्ता प्रकाण्डलगायतका नेता–कार्यकर्ताहरु पक्राउ पर्ने र छुट्ने क्रम चलिरह्यो।
एकातिर राज्य (प्रहरी)ले बिप्लव समुहलाई नियन्त्रणमा राख्न प्रयास गरिरहेको थियो। अर्कातिर बिप्लव समुहले पनि आफ्ना विभिन्न गतिविधीहरुलाई निरन्तरता दिईरहेको थियो। एनसेलबिरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेको थियो यो समुह।
यहि दौरानमा बिप्लवकै पुर्व कमान्डर पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहमा बिप्लव नेतृत्वको नेकपालाई अपराधिक समुह भन्दै प्रतिवन्दको घोषणा गर्यो। बैद्य नेतृत्वको नेकपा–माओवादीसम्म सँगै रहेका जनयुद्धका सहयोद्धा रामबहादुर थापा बादलले गृहमन्त्रीको हैसियतबाट बिप्लव समुहप्रति शुन्य सहनशिल रहनेजस्ता अभिव्यक्ति दिए।
प्रहरीले पनि बिप्लव समुहका विभिन्न अड्डाहरुमा व्यापक ‘रेड’ हान्यो। घेराबन्दी गरेर विभिन्न नेता कार्यकर्ता पक्राउ गर्यो। उनीहरुको हतियार जफत गर्यो। सँगै बिप्लव समुहले पनि आफ्ना गतिविधीहरुलाई तिब्रता दियो।
कार्यकर्ता हत्याको बदला
भोजपुरमा प्रहरीसँगको भिडन्तमा घाइते भएका बिप्लव समुहका कार्यकर्ता तिर्थराज घिमिरेको उपचारको क्रममा निधन भयो। केहि हदसम्म शान्त नै रहेको बिप्लव समुह ‘घिमिरेको मृत्युको बदला लिने मुड’मा आएको देखिन्छ।
आफ्ना कार्यकर्ताको हत्याको बिरोधस्वरुप बिप्लव समुहले जेठ १३ सोमबार नेपाल बन्दको आह्वान गर्यो। पहिलेका बन्द खासै प्रभावकारी नभएपछि यसपटक केहि ठुलै गर्ने सोचमा बिप्लव समुह रहेको आइतबारको घटनाले प्रष्ट हुन्छ।
बन्द आह्वान गरिएको दिनको पुर्व सन्ध्यामा भएका ऋखंलाबद्ध बिष्फोट र विभिन्न स्थानमा भेटिएका बमलगायतका शंकास्पद बस्तुहरुले पनि ‘भोलीको बन्दको लागि आजै त्रास उत्पन्न गराउने’ बिप्लव समुहको योजना प्रष्ट हुन्छ।
‘विगतमा पनि यो समुहले बन्द आह्वान गरिरहेको थियो,’ एक सुरक्षा अधिकारी भन्छन्, ‘पहिलाजस्तै निष्प्रभावी बन्द नहोस भनेर यसपटक अलि बढी आक्रामकता अपनाएको देखिन्छ।’