वीरगञ्ज - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण पर्सा, बारा, रौतहटलगायत तराईका विभिन्न जिल्लाको जनजीवन पनि आंशिक रूपमा प्रभावित भएको छ। दैनिक रूपमा हजारौँ गाडी गुड्ने त्रिभुवन राजमार्ग तथा पूर्वपश्चिम राजमार्गमा न्यून मात्रामा गाडीहरू चलेका छन्।
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर बिहानैदेखि सुनसान देखिएको छ। छोटो दूरीका सवारीसाधनबाहेक अरू कुनै गाडी चलेका छैनन्। ट्राफिक कार्यालय प्रदेश २ का प्रमुख एसपी योगबहादुर पालले बिहानैदेखि गाडीहरू कम चलेको बताए। उनले बारामा एउटा गाडीमा मात्र आगजनी भएको बताए। हालसम्म अवस्था नियन्त्रणमै रहेको उनले जानकारी गराए। बन्दले गर्दा वीरगञ्ज आसपासका निजी विद्यालयमा बिदा दिइएको प्याब्सन पर्साले जनाएको छ।
प्रदेश २ का विभिन्न जिल्लाबाट बाराको पथलैयाहुँदै बाहिरिने लामो दूरीका सार्वजनिक सवारीसाधनसमेत आज चल्न नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।
बारामा आगजनी
बारामा अज्ञात समूहले एक लरीमा आगजनी गरेको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा रोकिराखेको भारतीय ट्रक लरीमा आगजनी गरेको हो। नेपाल–भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरीमा आगजनी भएको हो। आगजनी कसले र किन ग¥यो भन्नेबारे अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए।
जिल्लाका अन्य स्थानमा भने अवस्था समामान्य रहेको राठौरले बताए। त्यसैगरी, नेकपाका कार्यकर्ताले सर्लाहीको हरिपुर नगरपालिकाको कार्यालयमा आल्मुनियम बम विस्फोट गराएका छन्। आइतबार राति ११ बजे कार्यालयको बाहिरी पर्खालमा बम विस्फोट गराइएको हो। विस्फोटनका कारण चार मिटर पर्खाल भत्किनुका साथै कार्यालयका तीनवटा झ्यालको सिसा फुटेको नगर प्रमुख जमरुद्दिन मन्सुरले बताए। विप्लब नेतृत्वको माओवादीले आजको बन्दलाई लक्षित गर्दै बम विस्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ।
बन्दको अवज्ञा गरेको भन्दै आज बिहान हेटौँडाको चौकीटोलमा एउटा गाडीमा आगजनी गरेका छन्। त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको चौकी टोलमा प्रहरी चौकीनजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले बताए। आगजनीका कारण गाडी पूर्ण रूपमा जलेको छ। हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको प्रहरी नायब उपरीक्षक भटराईले बताए।