काठमाडौं– भूकम्पपछि बन्द भएको तातोपानी नाका मंगलबारदेखि सञ्चालनमा आएको छ। ४ वर्षदेखी बन्द रहेको नाका ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि खुलेको हो।
भूकम्पका कारण नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो। पुलको निर्माणकार्य जारी छ। यस्तै भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ।
नेपाल सरकारको पटक–पटकको आग्रहपछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो। यसै सन्दर्भमा बाह्रबिसे नगरपालिकाका मेयर निम फुन्जो शेर्पासँग नेपाली पब्लिकका सुरज खनालले गरेको कुराकानी...
तातोपानी नाका नेपाल–चीन व्यापारको दृष्टिकोणमा कत्तिको महत्वपूर्ण छ?
– महत्वपूर्ण छ। चाइनाको नाकामा सबैभन्दा ठूलो नाका, पुरानो नाका त्यही नै हो। त्यसैले यहाँको मासिक ६०, ७० करोडको कारोवार हुने नाका हो। त्यसैले अब यो नाकामा त्यताबाट पनि राम्रै निकासा हुने, नेपालबाट पनि थुप्रै सामाग्रीहरु झर्ने ठाउँ पनि हो। यतिमात्र नभईकन सिन्धुपाल्चोकको हजारौँ, लाखौँ मान्छेहरुलाई रोजगारी सिर्जना हुने नाका हो।
करिब चार वर्ष यो नाका बन्द रह्यो, यसले नेपाली बजारमा के कस्तो असरहरु परेको थियो?
– समग्रमा भन्नु पर्दा धेरै असर परेको थियो। सर्वप्रथम त राजश्व मै असर प¥यो, त्यसपछि यहाँको अधिकांश मानिसहरु लगभग दुई हजार कन्टेनरहरूको मजदुरहरू त्यहाँबाट पलायन भयो। त्यो गाडीहरू कुहिएर बस्ने अवस्था भयो। टीप नभएर थन्किएर बसेको अवस्था छ। सानो तथा ठूलो व्यवसायीहरू सबै पलायन भयो।
सुरक्षाको दृष्टिकोणले पनि तातोपानी नाका महत्वपूर्ण मानिन्छ, चीनको सुरक्षा चासो यसमा अलि बढी जोडिएको छ। सुरक्षाको दृष्टिकोणबाट पनि प्रष्ट्याइदिनुस न।
– सुरक्षाको दृष्टिकोणमा भन्नुपर्दा, चाइनिजहरुले यहाँ टीबेटीयनहरूको गतिविधि देख्न चाहँदैन। त्यो अलिकति बढी भएको हुनाले हामीले नेपालबाट सामान्य कागजहरूमा एकदिने पासले एकदिन आवतजावत गर्न थाल्यो त्यसपछि वान डे पासलाई अनुमति दिँदा धेरै मानिसहरु आवतजावत भयो।
द्विदेशीय सुरक्षा चाँसो त छदैँछ, तस्करीको सम्भावना पनि त्यति नै देखिन्छ नि?
– तस्करीको सम्भावना पनि नभएको होइन। ह्वाइट–स्वाइटको कुरामा अनुसन्धानको ठूलो नै हल्लाखल्ला भयो। यो भन्दा थप अन्य किसिमका तस्करी पनि भइरहेका हुन्छन्। एकदमै अव्यवस्थित तरिकाले चलेको छ। सिस्टम नै छैन। अनि सिस्टम बनाएपनि कार्यन्वयन गर्न सक्दैन। त्यसपछि सुरक्षा निकायको प्रमुखहरूले पनि राम्रोसँग ध्यान दिदैनन्।
त्यसमाथि गुण्डाहरुले जथाभावी मनपरी कुटेको छ, सामानवालाहरुले गाडीको १ सय १० मिटरको दुरीमा चार लाख रुपैयाँ भाडा तिनुपर्ने स्थिति छ। त्यो चार लाख भाडा तिर्दा व्यवसायीले ल्याउन नसक्ला, कृषि सामाग्रीहरु ल्याउन सक्दैनन् जस्तै थर्मसहरु जम्मा ४–५ लाखको सामान हुन्छ।
त्यस्तो अव्यवस्थित सँग चल्यो। त्यतिखेर म आफैँ पनि सिन्धुपाल्चोकको स्थानिय भएर वरिष्ठ उपाध्यक्ष थिए। नेपाल कन्टेनर व्यवसायी संघको वरिष्ठ उपाध्यक्ष थिए। त्यसमा त्यो संस्थामा रहँदा पनि त्यो नियन्त्रण नभएको नै हो।
लामो समय बन्द भएको नाका खुल्यो, अब सामान्य अवस्थामा फर्कनको लागि के कस्ता वाधा व्यवधान देखिएला?
– मलाई लाग्छ समय त लाग्छ नै। अब नाका खोल्नेवित्तिकै सबै कुरा चल्दैन। हामी स्थानीय जनप्रतिनिधी, सुरक्षा निकायहरू, प्रदेश सरकार, संघीय सरकारलगायत सबैको ध्यान जानुपर्छ। यसलाई व्यवस्थित बनाउने, सिस्टम बनाएर सिस्टममा चलाउने, त्यो सिस्टमलाई कार्यान्वयन गर्ने, सँगै सुरक्षाको हिसाबले एउटा नीति बनाएर त्यो नीतिलाई पूर्ण कार्यन्वयन गरेर चलाउने हो भने राम्रो हुनेछ।
तातोपानी नाकाको पहिला पनि राम्रो सन्देश थिएन। अब सबै सञ्चार माध्यमहरूको त्यसमा सहयोग चाहिन्छ। सबै हिसाबकिताबले त्यो नाकालाई नेपालको पक्षबाट सुरक्षित ढङ्गले चलायो भने त्यो नाकाको महत्व हुनेछ। चाइनिजपट्टीको त्यो बाटो कस्तो राम्रो सुरुङ मार्ग बनाएको छ।
उनीहरुले त्यो यतिकै बनाएको होइन। धेरै खर्च गरेर पुलहरु बनाइरहेको छ, डाइभर्ट बनाइराखेको छ। त्यसैले हामीले यसलाई हेलचेक्र्याइँ गर्नुहुँदैन। अब हामी त्यसलाई सिस्टम बनाएर कुनै पनि हालतमा अव्यवस्थित ढङ्गले चलाउनु हुँदैन भन्ने पक्षमा छौँ।